समता निकेतनलाई महालक्ष्मी नगरपालिकाको तीनदिने स्पष्टीकरण, तर कोही सम्पर्कमा आएनन्

समता निकेतनलाई महालक्ष्मी नगरपालिकाको तीनदिने स्पष्टीकरण, तर कोही सम्पर्कमा आएनन्

काठमाडौँ : अनुमति नै नलिई विद्यालय सञ्चालन गरेको खुलेपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले समता शिक्षा निकेतनलाई स्पष्टीकरण सोध्यो। समताले ललितपुर महानगरपालिकामा रहेको विद्यालय अनुमति नै नलिई महालक्ष्मी नगरपालिकामा सारेको बारेमा उकेराले प्रमाणसहित सार्वजनिक गरेको थियो।

उकेराको खोजमा समताले ललितपुर महानगरपालिकालाई समेत जानकारी नदिई समताले महालक्ष्मीस्थानमा विद्यालय सारेको थियो। उनीहरूले ललितपुरमा स्थानीय कर र जग्गा भाडा समेत तिरेका छैनन्।

अवैध रूपमा विद्यालय चलिरहेको पुष्टि भएपछि महालक्ष्मी नगरपालिकाले समतालाई स्पष्टीकरण सोधे पनि कोही सम्पर्कमा भने आएका छैनन्। पुस २७ गते बसेको नगरपालिकाको शिक्षा समितिले 'अनुमति विना स्थानान्तरण भई सञ्चालन भइरहेको भनी विभिन्न मध्यमबाट जानकारी आएको र शाखाबाट अनुगमन गर्दा समेत उक्त स्थानमा विना अनुमति विद्यालय सञ्चालनमा रहेको पाइएको' भन्दै माघ १४ मा स्पष्टीकरण सोधेको थियो।

शिक्षा शाखाले माघ १४ गते तीन दिन भित्र स्पष्टीकरण पेस गर्न भने पनि अहिलेसम्म समताको कोही सम्पर्कमा नआएको नगरपालिकाले जानकारी दियो।

महालक्ष्मी नगरका मेयर हरिगोविन्द श्रेष्ठले विद्यालय गैर कानुनी छ भने प्रहरी प्रशासन लगाएर भए पनि हटाउने बताए। यसअघि नै यहाँका वडा नम्बर ४ का अध्यक्षले समता अवैध रूपमा चलेकाले नगरपालिकाबाट हटाउने बताएका थिए।

नगरपालिकाले आदेश दिने बित्तिकै वडाले पनि कारबाही गर्ने वडा अध्यक्ष अमृत खत्रीले बताए। उकेराको खोजमा अहिलेसम्म समताले वडामा कुनै कर नतिरेको खुलेको थियो।

यसअघि सो विद्यालय ललितपुर महानगरपालिकामा सञ्चालनमा थियो। त्यहाँको स्थानीय सरकारलाई कुनै कर नबुझाइ र जग्गा धनीलाई समेत भाडा नतिरेर समता कानुनी प्रक्रियाबिना नै महालक्ष्मीमा आएर बसेको थियो। महालक्ष्मीमा आएको पनि दुई वर्ष भइसक्यो। तर समताको व्यवस्थापनले विद्यालयको सामान्य प्रक्रिया समेत पुरा गरेको छैन। यसका प्रमुख उत्तम सन्जेल हुन्।

महालक्ष्मी स्थानमा सिमेन्टको ब्लकबाट कोठाहरू बनाइएका छन्। विद्यालयको निर्माण अझै सकिएको छैन। झ्याल, ढोका समेत नहालिएको बेरङ्गी कक्षा कोठाहरू छन्। २०७८ मा समताको संस्थापक सन्जेलले अन्य ठाउँमा जस्तै केही चर्चित कलाकारहरूको उपस्थितिमा ललितपुरमा धुमधामका साथ नयाँ संरचनाको उद्घाटन गराएका थिए।

महालक्ष्मीस्थानमा विद्यालय भवन बनाउन समता ग्लोबल सिनेट नामको संस्थाले सात लाख ५० हजार रूपैयाँ उपलब्ध गराएको थियो। सो रकम लिन सन्जेल कलाकार मदनकृष्ण श्रेष्ठलाई साथै लिएर गएका थिए। उकेरामा समताबारे निरन्तर समाचार प्रकाशित भएपछि सो संस्थाले 'समता' सँग आफ्नो संस्थाको केही सम्बन्ध नभएको प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो।

जताततै भद्रगोल, हिजो साथ दिएका सेलिब्रिटी मौन

सय रूपैयाँ मासिक शुल्कमा गुणस्तरीय शिक्षा दिनेभन्दै सन्जेलले विभिन्न जिल्लामा विद्यालय खोलेर अहिले सम्पर्कहीन भएर बसेका छन्। उकेराको खोजमा अधिकांश जिल्लाका समता बन्द भइसकेको, जग्गा भाडा नतिरेको, शिक्षक र कर्मचारीको पारिश्रमिक नदिएको खुलेको थियो।

ललितपुरसँगै गोर्खा, कालिकोट, खाँदबारी, सिन्धुपाल्चोकको मेलम्चीमा विद्यालय बन्द भइसकेको छ। गोर्खामा त समताको नाममा दाताबाट साढे पाँच रोपनी जग्गा दान लिएर रोटरीको ३० लाखमा बनेको भवन अलपत्र छाडेर हिँडेका छन्।

ती सबै जिल्लामा समताको भवन अलपत्र छाडेर शिक्षक, कर्मचारीको पारिश्रमिक नदिई सन्जेल सम्पर्कहीन बसेका छन्। भवनहरू अलपत्र छन्। अधिकांश जिल्लामा जग्गा भाडामा लिएर विद्यालय खोल्ने अनि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उद्योगी उपेन्द्र महतो, आनीछोइङ डोल्मा लगायतका समाजमा प्रभाव पार्ने व्यक्ति लगेर उद्घाटन गरेपछि भाडा नतिरी भाग्ने गरेको देखियो।

चितवन, पोखरा र काठमाडौँमा भने सञ्चालनमा रहेको देखियो। समता निकेतन फाउन्डेसन र प्राली दर्ता गरेका सन्जेलले विभिन्न दाताहरूसँग विद्यालयका लागि भनेर उठाएको पैसा कहाँ-कहाँ खर्च गरेका छन् खुलाएका छैनन्। विद्यालयहरू पनि सामाजिक संस्थाको नाममा सञ्चालन भएको हो कि प्रालीबाट त्यो समेत प्रस्ट छैन।

हिजो सन्जेललाई साथ दिएका प्रतिष्ठित कलाकारहरू अहिले सन्जेलको बदमासी सार्वजनिक भएपछि मौन छन्।  सन्जेलसमेत मौन छन्। उनी सम्पर्कमा आएका छैनन्।

समताको नाममा उत्तम सञ्जेलको बदमासी

१८ माघ, २०८०, २१:२९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।