लागुपदार्थ सेवन गरेर सवारी चलाउने सात चालक नागढुङ्गाबाट नियन्त्रणमा

लागुपदार्थ सेवन गरेर सवारी चलाउने सात चालक नागढुङ्गाबाट नियन्त्रणमा

काठमाडौं : लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका सात जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौंको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

बा २ ख ४०१७ नम्बरका माइक्रो चालक कास्कीको पोखरा महानगरपालिका-१७ का २४ वर्षीय मिलन गिरी, ग १ ख २९७३ नम्बरका माइक्रो चालक पोखरा महानगरपालिका-१ का ३५ वर्षीय मिनबहादुर तामाङ, बा ३ ख २१९५ नम्बरका माइक्रो चालक गोरखाका ३० वर्षीय हिमाल कोईरालालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यस्तै बा ५ ख  २३७ नम्बरका बस चालक गोरखाको भिमसेनथापा गाउँपालिका ४ का २२ वर्षीय भुवन सुर्खेती, ना ७ ख १३८६ नम्बरका ट्रक चालक खोटाङ घर भएका ३२ वर्षीय कटक बहादुर मगर, लु २ ख ३३५२ नम्बरका ट्रक चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ का ३३ वर्षीय पवन थापा र ना ५ ख ७७७५ नम्बरका ट्रक चालक धादिङको धुनिबेसी नगरपालिका ८ का ३० वर्षीय प्रजय कार्कीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ।

यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफू सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्नसमेत उनले यात्रुलाई आग्रह गरे।

सवारी साधनका चालकहरूले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच गर्दै आएको छ।

६ माघ, २०८०, ०९:१९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।