एकैदिन आठ जनाद्वारा आत्महत्या प्रयास, दुई जना मात्र जीवित

एकैदिन आठ जनाद्वारा आत्महत्या प्रयास, दुई जना मात्र जीवित

काठमाडौं : बागमती प्रदेशमा आत्महत्या प्रयासको अवस्था भयावह देखिएको छ।

प्रदेश प्रहरी कार्यालय, हेटौंडाका अनुसार बुधबार मात्रै आठ जनाको आत्महत्याको प्रयास गरेका छन्। जसमध्ये दुई जना मात्रै जीवित रहेको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रबि कुमार पौडेलले जानकारी दिए।

प्रदेश मातहत काठमाडौं उपत्यकाका तीन जिल्ला बाहेकका दश जिल्लाहरू पर्दछन्।

उनका अनुसार बुधबार मात्रै चितवनमा एक जना, काभ्रेमा तीन जना, सिन्धुपाल्चोकमा एक जना र सिन्धुलीमा तीन जनाले आत्महत्या प्रयास गरेका हुन्। त्यसमध्ये ६ जनाको ज्यान गएको छ।

चितवनको भरतपुर महानगरपालिका-७ अमरमार्गमा एक २३ वर्षीय युवककले झुण्डिएर आत्महत्या गरेका हुन्।

काभ्रेको बेथानचोक गाउँपालिका-२ गेल्दुङमा १४ वर्षीया किशोरी र काभ्रेकै मण्डनदेउपुर नगरपालिका-१२ ज्याम्दि बिस्कोटेकी १६ वर्षीया किशोरीले झुण्डिएर आत्महत्या गरेका हुन्।

त्यसैगरी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ फगामका ४५ वर्षीय एक पुरुषले किरा मार्ने विषादी सेवन गरेर आत्महत्या गरेका छन्।

उता सिन्धुलीको कमलामाई नगरपालिका-६ शिवनगरका १८ वर्षीया किशोरीले सलको पासो लगाई आत्महत्या गर्दा सिन्धुलीकै तीनपाटन गाउँपालिका-७ तोश्रोमखोलाकी २६ वर्षीया युवतीले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

यस्तै सिन्धुलीकै तीनपाटन गाउँपालिका-१ चिसापानीकी १८ वर्षीया किशोरीले मुसा माने विषादी सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन्। उनको प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा उपचार गराइएकोमा अहिले अवस्था मध्यम रहेको छ।

त्यसैगरी काभ्रेको पनौती नगरपालिका-४ ठाडोबाटोकी २५ वर्षीया युवतीले आत्महत्या विषादी सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

पछिल्लो समय प्रदेशमा आत्महत्या प्रयासका घटना ह्वात्तै बढेका छन्। प्रदेश प्रहरी कार्यालयले पठाउने दैनिक बुलेटिनमा यसअघि पनि दैनिक पाँचवटासम्म आत्महत्याको प्रयासका घटनाहरू भइरहेका छन्।

नोट: यदि तपाईं मानसिक तनावबाट गुज्रिरहनुभएको छ वा त्यस्तो तनाव भोगिरहेका मानिसहरूलाई चिन्नुहुन्छ भने कृपया यी हेल्पलाइनहरूमा सम्पर्क गर्नुहोस्। चौबिसै घण्टा चल्ने र पैसा नलाग्ने सरकारी हेल्पलाइन नम्बर ११६६ र शिक्षण अस्पताल काठमाण्डूको हेल्पलाइन नम्बर १६६००१२१६०० मा सम्पर्क गर्नुहोस्।

४ माघ, २०८०, १०:२४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।