स्वदेशी र विदेशी ब्रान्डको नक्कली मदिरा उत्पादन, अन्त:शुल्क स्टिकरसहित बिक्री

स्वदेशी र विदेशी ब्रान्डको नक्कली मदिरा उत्पादन, अन्त:शुल्क स्टिकरसहित बिक्री

काठमाडौं : स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न नौ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

काठमाडौंका विभिन्न ठाउँमा नक्कली मदिराको कारखाना र गोदाममा छापा मारेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नौ जनालाई पक्राउ बुधबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवीका २८ वर्षीय मनोज खत्री, कोटेश्वर बस्ने ३६ वर्षीय विनोद कुमार कार्की, सिन्धुपाल्चोकको चौताराका २७ वर्षीय मोहन खड्का, १८ वर्षीय रोशन कार्की रहेका छन्।

यस्तै सिन्धुलीको कमलामाईका २८ वर्षीय गौरव तामाङ, कोटेश्वर बस्ने ४० वर्षीय लेख ब्रिकम थापा, रामेछापको मजुवाका २३ वर्षीय महेश खत्री र खाँडादेवीका २० वर्षीय मनिश खत्री र काठमाडौं कागेश्वरी मनोहराका ३५ वर्षीय सुमन नगरकोटी रहेका छन्।

काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भइरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलबार कागेश्वरी मनोहरा नगरपालिका-०५ थलीस्थित भरत थापाको दुई तल्ले पक्की घरमा विनोद कुमार कार्कीले भाडामा लिई बसेको कोठामा खानतलासी गर्दा नक्कली रक्सीहरू बरामद गरेको हो।

उनीहरूको साथबाट मदिरा बनाउन प्रयोग गर्ने समानहरू, सगुन ब्राण्डको मदिरा पदार्थ, चिनी-पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व विभागको अन्त:शुल्कको स्टिकरहरू, लेबलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरू बरामद भएका छन्।


 
उनीहरूले आन्तरिक राजश्व कार्यालयको स्टिकर पार्टी प्यालेसमा नच्यातिने गरि अलक्क उप्काउने र त्यसैलाई टाँस्ने गरेको पाइएको प्रहरीले जनाएको छ। यद्यपि केही नक्कली स्टिकर भने भारतबाट ल्याउने गरेको भेटिएको छ।

प्रहरीका अनुसार सक्कली स्टिकरमा क्यूआर कोड हुने र उनीहरूले बनाएको नक्कली स्टीकरमा क्यूआर कोड थिएन।

बरामद सामग्रीसहित नौ जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

३ माघ, २०८०, १३:४६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।