एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले पदक पाउने निश्चित

एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले पदक पाउने निश्चित

काठमाडौं : १९औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ।

चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत केहीबेरअघि सम्पन्न खेलमा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो।

सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तीमा कास्य पदक प्राप्त गर्ने टुङ्गो लागेको हो। कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ।

महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो।

नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए। इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो।

नेपाल र इरानसित पराजित भएको बङ्गलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ। इरानले १८औँ एसियाली खेलकुदमा पनि महिला कबड्डीमा स्वर्णपदक जितेको थियो।

यस्तै महिला कबड्डीतर्फ समूह ‘ए’मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन्। नेपालले अब समूह ‘ए’को विजेता टोलीसित सेमिफाइनल खेल्नेछ।

१७ असोज, २०८०, १०:१८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।