'एउटा व्यक्तिले चाहेर मात्रै खेल क्षेत्रको विकास सम्भव छैन'

'एउटा व्यक्तिले चाहेर मात्रै खेल क्षेत्रको विकास सम्भव छैन'

काठमाडौं : युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मुलुकको खेलकुद क्षेत्र व्यक्ति नभइ नीतिले निर्देशित हुनुपर्ने बताएका छन्।  

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले नीति नबनाइ एउटा व्यक्तिले चाहेर मात्रै खेल क्षेत्रको विकास सम्भव नहुने बताए।  

‘व्यक्तिले खेल कहिले पनि विकास हुँदैन, विधि, नीति र ऐनले मात्र यो विकास हुन सक्छ,’ उनले भने,  ‘आज भएको व्यक्ति भोलि नरहला, त्यसकारण व्यक्तिमा भर पर्न थाल्यो भने जग दरो हुँदैन, नीति दरो हुनुपर्छ। खेलको ऐनको हामी पूर्वसन्ध्यामा छौं र सुझाव संकलनको काम भइरहेको छ।’ 

खेललाई प्राज्ञिक र व्यवसायिकतातिर लैजानुपर्ने उनले बताए।

 ‘राज्य र पूर्वाधारले मात्र त्यो सम्भव छैन। त्यसको लागि अब हामीले काठमाडौं विश्वविद्यालयसँग एउटा सम्झौता गरेका छौं। जहाँ तपाईहरुले खेल विज्ञान सम्बन्धी ६ महिनाको कोर्ष लिन सकिन्छ। सबै जना विज्ञानमा जानुपर्छ, नत्र खेल माथि आउन गाह्रो हुन्छ,’ उनले भने। 

खेललाई पाठ्यक्रममा पनि लैजाने प्रयास गरिएको उनले बताए। 

‘यसको साथै प्रशिक्षकको कुरा गर्दा ३० वर्षपछि प्रशिक्षकहरुलाई हरेक विद्यालयमा प्रशिक्षककै रुपमा काम गर्न पाउने नीतिबाट नै गर्ने प्रयासमा छौं,’ उनले भने । 

जेठ ५, २०८१ शनिबार १९:१०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।