विश्वकप सकिएको एक महिनासम्म पनि फर्किएनन् रिपोर्टिङका लागि अस्ट्रेलिया गएका १५ पत्रकार

विश्वकप सकिएको एक महिनासम्म पनि फर्किएनन् रिपोर्टिङका लागि अस्ट्रेलिया गएका १५ पत्रकार

काठमाडौं : महिला विश्वकप फुटबल २०२३ जुलाइ २० देखि अगस्ट २० सम्म न्युजिल्याण्ड र अष्ट्रेलियामा भयो।

विश्वकपमा नेपाल सहभागी हुन त परको कुरा विश्वकप छनोटको छनोटमा पनि सहभागी हुन सकेन। खेलाडी विश्वकपमा सहभागी नभए पनि पत्रकारहरू भने सहभागी भए रिपोर्टिङका लागि भन्दै।

तर, महिला विश्वकप सकिएको एक महिना बितिसक्दा पनि उनीहरू नेपाल फर्किएका छैनन्। जानकार स्रोतकाअनुसार उनीहरू विद्यार्थी भिसा लगाएर अस्ट्रेलिया नै बसेका छन्।

रिपोर्टिङका लागि गएर बस्नेमा अनलाइनखबरका कुशल तिमल्सिना, हिमालप्रेसका प्रविणविक्रम कटवाल, ग्यालेक्सी फोरकेका जितु साउद, नागरिकका सञ्जय थापा, बाह्रखरीका सुजन श्रेष्ठ, राइजिङ नेपालका अन्जन खड्का छन्।

यस्तै, कान्तिपुर टेलिभिजनका रेवन दाहाल, शिलापत्रका सरोज तामाङ, ग्यालेक्सी फोर केका शिवराज योगी, न्युज एजेन्सी नेपालका सुमन चापागाईं, राजधानी दैनिकका दिल तामाङ लोप्चन पनि अहिलेसम्म नेपाल फर्किएका छैनन्।

नेपाल नफर्किनेको सूची यतिमा मात्र रोकिँदैन। खेलपाटीका निशान सुच्चा, कान्तिपुर टेलिभिजनका किशन भण्डारी, अन्नपूर्ण पोष्टका उमेश दाहाल र नेपाल प्रेसकी मनिला काफ्ले पनि भिसा परिवर्तन गरेर उतै बसे।

खेलकुद पत्रकारहरूको छाता संस्था खेलकुद पत्रकार मञ्च पनि यसबारे जानकार छ। तर, मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी यसलाई व्यक्तिगत स्वतन्त्रता भन्छन्। उनीहरू गैरकानूनी रूपमा अस्ट्रेलिया नबसेको उनको तर्क छ।

अध्यक्ष सुवेदीले उनीहरू नफर्किएको सकारे पनि उनीहरू कुन मिडिया हाउसबाट अथवा कुन कामको लागि गएका हुन् भन्नेबारे आफूलाई थाहा नभएको बताए।

‘खेलकुद पत्रकार मञ्चमा अर्को वर्ष साधरण सभा हुन्छ त्यो बेलामा मात्र को–को आउनुहुन्छ भन्ने थाहा हुन्छ,’ उनले भने, ‘केही खेल पत्रकार अष्ट्रेलियाबाट फर्केनन् भन्ने कुरा आएको छ त्यो त त्यस देशको नियमअनुसार अर्को भिसा लगाएर बस्नुभएको हो। व्यक्तिको स्वतन्त्रताको कुरा भयो मैले त के भनौँ र?’

४ असोज, २०८०, १७:३१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।