क्विन्टल सुन तस्करी गराउने चिनियाँ कि भारतीय टिम ?

क्विन्टल सुन तस्करी गराउने चिनियाँ कि भारतीय टिम ?

काठमाडौं : स्कुटरको ब्रेकशुभित्र लुकाएर भन्सार छलेको ८० किलो बढी सुन तस्करीमा संलग्न रहेको आरोपमा तिब्बती मुलका भारतीय नागरिक थुप्तेन छिरिङ पक्राउ परेका छन्। राजश्व अनुसन्धान विभागले छिरिङ पक्राउ गर्नु अगाडि नै सामान मगाउने कम्पनी रेडी ट्रेडर्सका सञ्चालक, भन्सार एजेन्टसहित पाँच जनालाई नियन्त्रणमा लिइसकेको थियो। 

नेपालमा हुने सुन तस्करीमा नेपालीसँगै भारतीय र चिनिया समूह अलग अलग सक्रिय देखिँदै आएका छन्। मंगलबार नियन्त्रणमा लिएर बुधबार सार्वजनिक गरिएको सुन कुन समूहको हो खुलाइएको छैन। 

विगतको तस्करी नेटवर्कको आधारमा भारतीय समूहको भए नेपालमा व्यापारी अनि चिनियाँ समूहको भए नेता तानिनसक्ने सम्भावना देखिन्छ। नेपालमा दुवै समूह सुन तस्करीमा उत्तिकै सक्रिय छन्। 

दुवैले नेपालमा हवाई मार्ग हुँदै हङकङ या दुबईबाट नेपालमा सुन भित्र्याएर स्थलमार्ग हुँदै भारत र तिब्बत पुर्याउने गरेको देखिन्छ। 

भारतीय समूहमा नेपालमा सुन अनि घरजग्गा कारोबारमा संलग्नसँगै प्रहरीसमेत जोडिने गरेका छन्। राजनीतिक रूपमा भारतीय सुन तस्कर समूहसँग एमाले र कांग्रेसका नेता जोडिने गरेका छन्। विशेषत जब भारतमा नोटबन्दी शुरु हुन्छ अनि भारतीय समूह बढी सक्रिय हुन्छन्। 

उनीहरू पटक पटक तस्करी गर्छन् तर सानो परिणाममा। संगठित रूपमा भन्सारदेखि प्रहरीसम्म सेटिङ मिलाउँछन्।
तस्करीको सुन भित्र्याएर काठमाडौंमा स्टोर गर्दै स्थलमार्गबाट भारत पुर्याउँछन्। 

चिनियाँ समूहको कनेक्सन  माओवादी नेताहरूसँग देखिन्छ। उनीहरू विशेष ठमेल क्षेत्रलाई आधार बनाएर तस्करीको काम गर्छन्। नेपाली नागरिक भरियाका रूपमा संलग्न हुन्छन्।

उनीहरूको सीधा सम्बन्ध प्रहरीमा अहिलेसम्मको अनुसन्धानमा खुल्न सकेको छैन। उनीहरू सुन भित्र्याएर स्टोर नगरी स्थलमार्गबाट रसुवा नाकाहुँदै सुन तिब्बत पुर्याउँछन्।

चिनिया समूहको अधिकांश सुन तस्करी प्रहरीले एक्सपोज गराएको छ। केही महिना अगाडि इलेक्ट्रिक चुरोट भेपको आवरणमा भित्रिएको नौ किलो सुन भन्सार हुँदै प्रहरीमा आएको आधारमा सो तस्करी चिनिया नागरिकले गराएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खुलाएको थियो। तस्करीमा माओवादी नेता कृष्णबहादुर महरा जोडिएका थिए। 

नेपाली कम्पनी दर्ता गरेर हवाई मार्गबाट अन्य वस्तुको आयातको आवरणमा मंगलबार सुन भित्रिएको देखिन्छ। भन्सारमा मिलेमतो देखिनु, प्रहरी युनिटहरू बरामद र अनुसन्धानमा संलग्नै नहुनु, राजश्व अनुसन्धान विभागले प्रारम्भदेखि नै अनुसन्धान गर्नुले चीनिया समूहको संलग्नताको सम्भावना बढी देखाउँछ।

अपराध शैली, भारतमा दुई हजार दरको नोटबन्दीको घोषणाले पनि मंगलबार फेला परेर बुधवार सार्वजनिक गरिएको सुन तस्करीको लक्ष्य भारत देखाउँछ। 

छ जना पक्राउ गरेर अनुसन्धानमा संलग्न विभागले औपचारिक रूपमा कोको संलग्न छन् खुलाएको छैन। अनुसन्धान जारी रहेकाले कुन समूह संलग्न हो सो खुल्न समय लाग्ने देखिन्छ।

सम्बन्धित समाचार

साउन ४, २०८० बिहीबार ११:१०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।