भरिया छाडेर कार्गोबाट भित्रिन थाल्यो तस्करीको सुन, हाई प्रोफाइल व्यापारी जोडिन्छन्, जोगिन्छन्

भरिया छाडेर कार्गोबाट भित्रिन थाल्यो तस्करीको सुन, हाई प्रोफाइल व्यापारी जोडिन्छन्, जोगिन्छन्
२०७३ मा प्रहरीले बरामद गरेको साढे ३३ किलो सुन।

काठमाडौँ : स्कुटी अनि मोटरसाइकलमा प्रयोग हुने ब्रेकको सामानभित्र लुकाएर भन्सार कटाएको ८० किलो बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गर्यो।

सहजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कटाएको सामान ट्याक्सीमा लोड गर्दागर्दै प्रहरीसहित गएको विभागको टोलीले नियन्त्रणमा लियो।

सुनको परिणाम मध्यरातसम्म यकिन भएको छैन। विभाग प्रमुख नवराज ढुङ्गानाका अनुसार सुन ८० किलो भन्दा बढी हुनसक्ने अनुमान छ। विभागले सुन तस्करीमा संलग्न रहेको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएको छ। एक जना ट्याक्सी चालक, अर्का एक भन्सार एजेन्ट हुन्छ। तेस्रो व्यक्तिको परिचय खुलाइएको छैन।

भन्सार जाँचपास भएर सामानको रूपमा सुन बाहिरिएको विशेष सूचनाको आधारमा विभागले अप्रेशन गरेको बताइएको छ।

सुन तस्करीमा विभागले गरेको यो अहिलेसम्मकै ठुलो अप्रेशन हो। यस अगाडि भन्सारको मिलेमतोमा भित्रिने सुन प्रहरीले नियन्त्रणमा लिँदै आएको थियो। यो अप्रेसनमा भने प्रहरी समेत पछि परेको देखियो।

बरामद भएको सुनको परिणाम अनि शैलीले सङ्गठित तस्करी समूह नै यसमा संलग्न देखिन्छन्। करिब एक अर्ब बराबरको सुन हो बरामद भएको। सहजै भन्सार पास भएकाले तस्करीमा सङ्गठित समूहको संलग्नता देखिन्छ।

यसमा प्रधानमन्त्री मातहत रहेको राजश्व अनुसन्धान विभाग खटिएकाले समेत गृह मन्त्रालय मातहतको सुरक्षा निकाय समेत शंकामा परेको छ।

विमानस्थलमा प्रहरीको विभिन्न युनिट खटिन्छन्। मानव बेचबिखन ब्युरो, लागू औषध ब्युरो, विशेष ब्युरो अनि उपत्यका प्रहरी कार्यालयका सादा पोसाकका प्रहरी समेत खटिन्छन् विमानस्थलमा। त्यसमा डिआइजीको नेतृत्वमै प्रहरीहरू समेत खटिएका छन्। तर कसैले सङ्केत नपाउनु सामान्य घटना देखिन्न।

यस्तो अप्रेसनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको परिचालन हुने गरे पनि बुधवारको घटनामा ब्युरो देखिएन।

असार १२ मा विभागको प्रमुख भएर आएका ढुङ्गाना यस अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा थिए। उनकै नेतृत्वमा यति ठुलो परिमाणको तस्करीको सुन समातिएकाले यो अप्रेसनमा प्रधानमन्त्री कार्यालय समेत संलग्न देखिन्छ। अहिले राष्ट्रिय अनुसन्धान विभाग समेत प्रधानमन्त्री कार्यालय मातहतमै छ।

निरन्तर बदनाम भन्सार
हालसालै इलेक्ट्रिक चुरोट भेपमा लुकाएर ल्याएको नौ किलो सुन तस्करीमा विमानस्थल भन्सारका कर्मचारी समातिएर कारागार समेत पुगे।

चिनिया व्यापारीले भेपमा लुकाएर ल्याएको नौ किलो सुन भन्सारका कर्मचारी मिलेर साटेर बेचेका थिए।

यही घटनामा नासु रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सेक्युरिटी गार्ड निर्मल कुमार बिक र व्यापारीहरू वेदप्रकाश अग्रवाल, साहेब राव पाण्डुरङ मरगले पुर्पक्षका लागि थुनामा गए।

भेपमा सुन राखेर ल्याउने चिनिया व्यापारी फरार भए। फरार भएका चिनिया व्यापारीसँग माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनको छोराको निकट सम्बन्ध रहेको खुल्यो। तर प्रतिवादी भने बनाइएन।

सुनदेखि जग्गा कारोबारीसम्म तस्करीमा

यस अगाडिका सुन तस्करीमा सुन व्यापारको आवरणमा रहेकादेखि जग्गा कारोबारीसम्म तानिएका थिए। प्रहरीसम्म सुन तस्करी गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेर जागिर समेत गएको थियो।

सुन तस्करीमा प्रतिष्ठित व्यापारीहरू समेत जोडिँदै आएका छन्।

यस अगाडिको ३३ किलो सुन तस्करीको अनुसन्धानले त हाउजिङ व्यवसायीदेखि नेतासम्मको धन्दा खुलायो। धेरैको पोल खुल्ने भएपछि प्रतिवेदनै गोप्य राखियो।

३३ किलो सुन तस्करीमै विमल पोद्दार, महावीर गोल्यान, राजकुमार दारुका, सञ्जय खेतान,प्रभात अग्रवाल लगायतमा पक्राउ परेका थिए। ३८ क्विन्टलसम्म सुन तस्करी भएको खुलेको यो समूहमा भुजुङ गुरुङ समेत देखिए। तस्करी भरियाका नाइके चूडामणि उप्रेती देखिएका थिए।

पोद्दार सुन तस्करीमा पटक पटक जोडिने गरेका छन्। उनी २०६९ असोज १९ गते सवा १ करोड विदेशी मुद्रासहित समातिएका भारतीय नागरिक विनोदकुमार सोनीको केसमा समेत जोडिएका थिए। सोनी पक्राउ परेपछि उनले बोकेको रकम सुन तस्करीको भएको खुलेको थियो।

यो घटनाको अनुसन्धानमा सिल्भर सिटीका पोद्दार, दरबारमार्गमा रहेको तत्कालीन इविसु ज्वेलर्सको मुरारीलाल जमालिया समेत जोडिएका थिए।

राजकुमार दारुका, आरके ज्वेलर्सका राजेन्द्र शाक्य समेत तस्करीमा जोडिए।

३३ किलो सुन तस्करीको अनुसन्धान अगाडि बढ्दै जाँदा जब पोद्दार पक्राउ परे हतार हतार समितिको अनुसन्धान टुङ्गाइयो र प्रतिवेदन बुझाउन लगाइएको थियो।

साउन ४, २०८० बिहीबार ००:४२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।