सुशीला कार्कीको प्रष्टीकरण- त्यो पत्रकारसँग चैँ रिस उठेर ‘बालेनकी श्रीमतीलाई आमा भन’ भनेकी हुँ
काठमाडौं : ‘बालेनको श्रीमतीलाई आमा भन’ भन्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनले यस विषयमा आफ्नो स्पष्टीकरण दिएकी छन्।
आफूलाई निरन्तर ‘विदेशी जासुस’ र ‘राष्ट्र सिध्याउने व्यक्ति’ भनेर आरोप लगाउने पत्रकारले आमा भनेर सम्बोधन गरेपछि रिसको झोकमा आफूले त्यस्तो प्रतिक्रिया दिएको कार्कीले प्रस्ट पारेकी छन्।
आइतबार फिल्म ‘एक मुठी बादल’को प्रिमियरमा पुगेकी कार्कीले आफ्नो भाइरल भिडियोबारे प्रस्ट्याउँदै आफू छोरा-बुहारी, भतिजा-भतिजी र सम्मान स्वरूप राष्ट्रकै माता भए पनि जथाभावी आरोप लगाउने ती पत्रकारको आमा हुन नसक्ने बताएकी छन्।
‘म मेरो बुहारीको आमा हो, छोरोको आमा हो, मेरा भतिजा-भतिजी सबैको आमा र सम्मानको कुरा गर्दा राष्ट्रको माता हुँ,’ स्पष्टीकरण दिँदै कार्कीले भनेकी छन्, ‘तर त्यो पत्रकारले मलाई विदेशी जासुस, राष्ट्र खत्तम पार्ने र रातभरि राजदूतहरू आएर बस्छन् भन्ने आरोप लगाउँथ्यो। जहिले पनि विदेशीबाट परिचालित भएर देश बेच्दै छ भन्थ्यो। त्यस्तो भन्ने मान्छेको चाहिँ म आमा होइन भनेर पत्रकारसँग रिस उठेको हो।’
के थियो शनिबारको घटना ?
शनिवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कानुन दिवसको कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मी दिवाकर साहले उनलाई ‘आमा’ भनेर सम्बोधन गरेका थिए।
जेनजी आन्दोलनपछि सरकारको नेतृत्व परिवर्तन भएसँगै सुधन गुरुङ लगायतको एक समूहले कार्कीलाई सार्वजनिक रूपमै आमा भन्न थालेको थियो भने कार्कीले पनि उनीहरूलाई जेठो छोरा भन्दै आएकी थिइन्।
सोही सन्दर्भ जोडेर सञ्चारकर्मी साहले कार्यक्रम स्थलबाट बाहिरिँदै गर्दा ‘आमा’ भनेर बोलाएपछि कार्की झोक्किएकी थिइन्। ‘कसले आमा भनेको?’ भन्दै फर्किएकी कार्कीको नजिक साह माइक बोकेर पुगेपछि उनले भनेकी थिइन्, ‘तिमीहरूको आमा नै फेरिइसक्यो, अब बालेनको श्रीमतीलाई आमा भन।’
बालेनसँगको राजनीतिक असन्तुष्टिको प्रभाव
कार्कीको यो आक्रोश पछाडि पत्रकारप्रतिको व्यक्तिगत रिस मात्र नभएर वर्तमान बालेन नेतृत्वको सरकारसँगको चरम असन्तुष्टि पनि जोडिएको पाइएको छ।
वरीयतामा पहिलो नम्बरमा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई सिफारिस नगरी चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएपछि कार्की सरकारसँग रुष्ट छिन्। उनले मिडियामार्फत सरकारको यस निर्णयको तीव्र आलोचना गर्दै यसको परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिइसकेकी छन्।
शनिबारको सोही कानुन दिवसको कार्यक्रममा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले समेत सरकारप्रति कडा आक्रोश पोख्दै राजीनीतिक नेतृ झैँ प्रस्तुत भएकी थिइन्। उनले सरकार अधिनायकवाद र निरंकुश बन्दै गएको आरोप लगाउँदै न्यायाधीशहरूलाई सरकारको दुई तिहाइ देखेर महाअभियोग लाग्छ भनेर नडराउन आग्रह गरेकी थिइन्।
यही तनावपूर्ण न्यायिक र राजनीतिक पृष्ठभूमिका बीच पत्रकारले सोधेको प्रश्नमा पूर्वप्रधानन्यायाधीश कार्कीले आफ्नो आक्रोश पोखेकी हुन्।
वैशाख २८, २०८३ सोमबार ०७:५४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।