टप फाइभ : हरिकृष्णले सर्वोच्च सम्हाल्दा बालकृष्णसहितका भीआईपी कारागार चलान

टप फाइभ : हरिकृष्णले सर्वोच्च सम्हाल्दा बालकृष्णसहितका भीआईपी कारागार चलान

काठमाडौं : शुक्रबार नेपालको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भए।

विहान संसदीय सुनवाइमा सांसदहरुले उठाएको प्रश्न र उजुरीको जवाफ दिएसँगै संसदीय सुनुवाइले उनलाई प्रधानन्यायाधीश नियुक्तिका लागि अनुमोदन गर्यो। लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई नियुक्त गरी शपथग्रहण गराए। त्यसपछि उनी सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाले।

देशका सात प्रदेशमध्ये छ प्रदेशले शुक्रबार आगामी आर्थिक वर्षको बजेट ल्याए। उनीहरू आ–आफ्नो प्राथमिकताको क्षेत्र छुट्याएर बजेट ल्याएका हुन्। कोशी प्रदेशले भने बिहीबार नै अध्यादेशमार्फत बजेट ल्याएको थियो।

नक्कली भुृटानी शरणार्थी प्रकरणमा शुक्रबार थुनछेक बहस सकिएसँगै जिल्ला अदालत काठमाडौंले १८ मध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो। दुई जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको अदालतले मुख्यगरी यस प्रकरण्मा मुछिएका भीभीआईपीहरूलाई थुनामै पठाउने भयो।

यस्तै दक्षिण भारतीय फिल्म आदिपुरुषको चर्चा आज दिनभरजसो भयो। काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले प्रदर्शन रोक्ने धम्की दिएपछि शुक्रबार विहानको आदिपुरुषको शो रोकिएको थियो। त्यसपछि चलचित्र संघको बैठक बसेर दिउँसोदेखि फिल्म चलाउने निर्णय गरे।

त्यसैगरी, काठमाडौं महानगर प्रमुख शाहलाई शुक्रबार नेपाल नागरिक उड्ययन प्राधिकरणले स्पष्टिकरण सोध्यो। प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा रहेको तारबार हटाएको भन्दै उनलाई सातदिने स्पष्टिकरण सोध्दै जवाफ नदिए ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गर्यो।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले शुक्रबार प्रारम्भिक अनुसन्धानमा महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको देखिएपछि नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल निलम्बित भएको समाचार लेख्यो। प्रहरी प्रधान कार्यालयको अनुसन्धानमा उनीमाथि लागेको आरोपको प्रमाण फेला परेपछि उनी शुक्रवार निलम्बित भएका हुन्।
पूरा समाचारः पटके यौन दुर्व्यवहारका आरोपी एसएसपी पाल तेस्रो उजुरीमा बल्ल निलम्बित, परिवारले घरमा आउन दिएनन्

यस्तै, विदेशी फिल्म नेपाल ल्याएर चलाउनेमा उद्धव पौडेल र नदीम उद्दीन समूहको हालीमुहाली रहेको विषयमा उकेराले समाचार लेख्यो। उनीहरूले विदेशबाट करोडौं मूल्यमा फिल्म किनेर यहाँ जम्मा ३० लाखको भनेर देखाउने गरेको पाइएको छ।
पूरा समाचारः विदेशी फिल्मको व्यापारमा पौडेल र नकिम समूहको एकाधिकार, करोडमा फिल्म किन्छन्, लाख मात्र देखाउँछन्

त्यसैगरी, वीर अस्पतालको निर्देशक भएका बेलामा नौ करोड अनियमितता गर्दै ४० करोड ९८ लाखमा मेसिन खरिद गरेको डा. भूपेन्द्र कार्कीले त्यहि बेलामा अर्को सम्झौतासमेत गरेको खुलेको समाचार उकेराले शुक्रबार नै छाप्यो।
पूरा समाचारः न्याम्सका निमित्त भीसी डा भुपेन्द्रको करामतः ३१ करोडमा आउने मेसिन ४० करोडमा खरिद, मेसिन चलाउन मात्रै वर्षमा तीन करोड खर्च

उकेराले शुक्रबारको नियमित स्तम्भ मध्यमधारमा समलिङ्गी पुरुष आर्यन चौधरीको बारेमा समाचार लेख्यो। समाचारमा उनले आफ्ना संघर्ष र भोगाइहरु समेटिएका छन्।
पूरा समाचारः  मध्यमधारः समलिङ्गी पुरुष भन्दैमा ‘केटी जस्तै’ भएर कहाँ हिड्छन् त!

त्यसैगरी, नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीदेखि पूर्व गृहमन्त्री बालकृष्ण खाँणसम्मलाई मुद्दाको अन्तिम किराना नलागेसम्मका लागि कारागारमा पठाएको समाचार उकेराले लेख्यो।
पूरा समाचारः नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा गए शक्तिशाली, दुई जनाको नाममा मात्र धरौटी

१ असार, २०८०, २२:१२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।