विदेशी फिल्मको व्यापारमा पौडेल र नकिम समूहको एकाधिकार, करोडमा फिल्म किन्छन्, लाख मात्र देखाउँछन्

विदेशी फिल्मको व्यापारमा पौडेल र नकिम समूहको एकाधिकार, करोडमा फिल्म किन्छन्, लाख मात्र देखाउँछन्

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष विदेशी चलचित्रलाई नेपालमा प्रदर्शन गर्नुभन्दा एक महिना अगाडि नै सेन्सर गर्नुपर्ने नियम नमान्दा समस्या आएको दाबी गरेका छन्।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ विवादमा आएपछि उनले सामाजिक सञ्जालमा लेख्दै बोर्डको प्रस्ताव नमान्दा यस्तो अवस्था आएको दाबी गरेका हुन्।

एक महिना अगाडि सेन्सर गर्नुपर्ने प्रधानको विरोध भएपछि सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम लगाइए पनि तीन दिनमा झारिएको र अहिले तीन दिनको कुरामा पनि विरोध हुन नछोडेको उनले उल्लेख गरेका छन्।

नेपालमा विदेशी फिल्मको प्रदर्शनीपूर्व त्यस फिल्ममा रहेका विषयमा कुनै विवाद नहोस्, नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता लगायतका संवेदनशील कुराहरूमा समय लिएर सुल्झाउन सकियोस् भनेर सेन्सरको अवधि तोक्ने प्रयास गरिएको उनको दाबी छ।

पछिल्लो समय भारतीय फिल्म ‘आदिपुरुष’को संवादलाई लिएर भइरहेको विवादबारे लेख्दै उनले यसले विदेशी फिल्मको वकालत गर्ने कसैलाई पनि फाइदा नगरेको र यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताहरूकै प्रमुख हात रहेको आरोप समेत लगाएका छन्।

‘यस प्रकारको घटनाले भोलि हल सञ्चालकहरूमा कुनै समस्या आइपर्दा त्यसको जिम्मेवार को रहला? रिलिजको मुखमा आएर रोकिनुपर्यो भने आखिरमा कसलाई घाटा भयो?,’ उनले लेखेका छन्, ‘तसर्थ, बोर्डले गरेको निर्णय आत्मसाथ गरेको भए आज यो दिन आउने नै थिएन।’

विदेशी फिल्मको सेन्सर अवधि नमान्ने को हुन्?
सेन्सरको समय घटाउनेहरूबारे उनले केही उल्लेख नगरी ‘केही चल्तापुर्जाहरू’ मात्र लेखेका छन्।

तर नेपाली फिल्म क्षेत्रका जानकारहरूका अनुसार नेपालमा विदेशी फिल्म ल्याउन उद्दव पौडेलको परिवार सक्रिय छन्। देखिने बेलामा मनोज राठी देखिने गरेका छन्। 'आदिपुरुष' राठी र उज्जवल पौडेलले ल्याएका हुन्।

तर, उनी कर्मचारी मात्र हुन्। यो समूहले प्राय भारतीय र दक्षिण भारतीय फिल्मको नेपाल अधिकारी किनेर नेपालमा प्रदर्शन गर्ने गरेका छन्।

अर्को समूह हो एप्पल इन्टरटेनमेन्ट। क्युएफएक्स रहेको नकिम उद्दीन यसका प्रमुख हुन्। उनी प्राय अंग्रेजी फिल्म नेपालमा ल्याएर प्रदर्शन गर्छन्।

उस्तै छ ट्याक्स छली
विदेशी फिल्म खरिद गरेबापत भुक्तानी हुने विदेशी मुद्राको स्विकृति चलचित्र विकास बोर्डले दिने गरेको छ। त्यसको सीमा अधिकतम ३० लाखसम्म छ। त्यो भन्दा बढि रकम सटही सम्भव छैन। तर, नेपालमा प्रदर्शनमा आएका न्यून विदेशी फिल्म मात्रै यो बजेट भित्र पर्छन्।

स्रोतको दाबी पत्याउने हो भने ‘आदिपुरुष’ नै एक करोड बढिमा खरिद गरिएको हो। तर बोर्डबाट ३० लाख मात्रै अनुमति लिइएको छ। बाँकी पैसा भुक्तानीको माध्यम हुण्डी या नेपाली पुजीँ पलायनै हो।

नेपालमा पछिल्लो समय दक्षिण भारतीय फिल्मको क्रेज बढेसँगै नेपालमा प्रदर्शन गर्ने अधिकार वापतको रकम समेत बढेको छ। ‘पुष्पा’ रिलिज हुनुअघिसम्म १० देखि १५ लाख भारतीय रूपैयाँमा पाइने फिल्म अहिले न्यूनतम् पनि एक करोडमाथि छ।

नेपालमा चर्चित दक्षिण भारतीय कलाकारको अभिनय रहेको फिल्मको मूल्य तीन करोड माथि पर्छ। भुक्तानी पनि हुन्छ। तर, नेपालमा भने उही ३० लाख मात्रै देखिन्छ।

१ असार, २०८०, १५:४४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।