‘लालीबजार’को प्रदर्शन रोक्न माग गरिएको रिट सुनिल र शान्तिसिंहको इजलासमा, पालो भने अन्तिममा
काठमाडौं : चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै दायर गरिएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। डा. रोशनी नेपालीले दायर गरेको उक्त रिट न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र शान्तिसिंह थापाको संयुक्त इजलासमा परेको छ।
सर्वोच्च अदालतको आजको दैनिक पेसी सूचीमा यो मुद्दा संयुक्त इजलासको अन्तिम नम्बरमा छ। उच्च अदालत पाटनले फिल्म प्रदर्शनमा रोक लगाउन अस्वीकार गरेपछि डा. नेपाली न्याय खोज्दै सर्वोच्च पुगेकी हुन्।
यसअघि उच्च अदालत पाटनमा डा. नेपालीले ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन्।
उच्च अदालतका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले फिल्म प्रदर्शनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। अदालतले वैशाख १५ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेपछि फिल्म प्रदर्शनको बाटो खुलेको थियो।
उच्च अदालतले आफ्नो आदेशमा भनेको थियो, ‘रिट निवेदनमा माग गरिएको विषयवस्तुमा अन्तिम सुनुवाइ हुँदा विचार हुन सक्ने भएकाले हाल अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था देखिएन।’
सोही आदेशपछि फिल्म गत वैशाख २५ गतेदेखि देशभरका हलहरूमा प्रदर्शन भइरहेको छ। तर, प्रदर्शन भइरहेको फिल्मले आफ्नो माग सम्बोधन नगरेको भन्दै निवेदक सर्वोच्च पुगेका हुन्।
रिटमा उच्च अदालत पाटन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड), लालीबजार चलचित्रको निर्माता कम्पनी षड्कोण आर्ट्स र चलचित्र विकास बोर्डलाई विपक्षी बनाइएको छ।
यसअघि वैशाख १८ गते प्रदर्शन हुने तयारीमा रहेको यो फिल्म अदालतको अल्पकालीन आदेशका कारण केही समय रोकिएको थियो। तर, सेन्सर बोर्डको सक्कल फाइल मगाएर अध्ययन गरेपछि उच्च अदालतले प्रदर्शनमा अवरोध नगर्ने निर्णय लिएको थियो।
आज सर्वोच्चले दिने आदेशले फिल्मको प्रदर्शन निरन्तर रहने वा रोकिने भन्ने निर्क्यौल गर्नेछ। यद्यपि, मुद्दा पेसीको अन्तिम सूचीमा रहेकाले आजै सुनुवाइ हुने वा नहुने भन्नेमा भने अन्योल छ।
वैशाख २८, २०८३ सोमबार १२:१२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।