नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा गए शक्तिशाली, दुई जनाको नाममा मात्र धरौटी

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा गए शक्तिशाली, दुई जनाको नाममा मात्र धरौटी

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीदेखि पूर्व गृहमन्त्री बालकृष्ण खाँणसम्मलाई मुद्दाको अन्तिम किराना नलागेसम्मका लागि कारागारमा पठाएको छ।

थुनछेकको बहस सकिएपछि शुक्रवार आएको आदेश अनुसार रायमाझी, खाँण अनि सचिव टेकनारायण पाण्डेसहित सबै शक्तिशालीहरू पुर्पक्षका लागि थुनामा गए।

१८ जना प्रतिवादीमध्ये १६ जना पुर्पक्षका लागि थुनामा जाँदा दुई जान भने धरौटीमा मुक्त हुने आदेश आयो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासको आदेश अनुसार लक्ष्मी महर्जन र टंक कुमार गुरुङ ५ लाख र १० लाख रुपैयाँ धरौटीमा छुट्ने आदेश आयो।

प्रहरीले दुई महिना लगाएर गरेको अनुसन्धानमा पक्राउ परेका अभियुक्तहरूमाथि ठगी, लिखित किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध गरी चार कानुनको मागदावी लिन मिल्ने प्रस्ताव गरेको थियो। प्रस्ताव अनुसार जेठ १० मा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर गर्दा ३० जना प्रतिवादी बनाइएको थियो। १२ जना भने अझैँ फरार छन्।

शुक्रवारको आदेशपछि राज्यको शक्तिशाली निकायमा बसेका बाहेक भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, बिचौलियाको भूमिकामा देखिएका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, पूर्व सभासद् आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शमशेर मिया र हरिभक्त महर्जन थुनामा गए।

जिल्लाको आदेश विरुद्ध प्रतिवादीहरू उच्च अदालतमा जान सक्छन्। उच्चबाट आदेश संशोधन नभएसम्म उनीहरू थुनामै रहनेछन्। दुई दिन अगाडि नै शक्तीशालीहरुलाई राख्न डिल्लीबजार र केन्द्रीय कारागारमा स्थान बनाइसकिएको थियो।

१ असार, २०८०, १८:५६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।