अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले हरायो, तीन ब्याटरको अर्धशतक

अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले हरायो, तीन ब्याटरको अर्धशतक

काठमाडौं : एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपालले अभ्यास खेलमा ओमानलाई ५ विकेटले पराजित गरेको छ।

आज (शनिबार) टीयू मैदानमा भएको खेलमा नेपालले २४७ रनको विजय लक्ष्य सजिलै ४४.४ ओभरमा ५ विकेटको नोक्सानीमा पुरा गर्यो।

सानदार ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलसँगै दीपेन्द्रसिंह ऐरी र अर्जुन साउदले अर्धशतकीय इनिङ खेलेका थिए।

अर्जुनले ८७ बलमा सर्वाधिक ६७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ५१ बलमा ५९ रनको योगदान दिए। उता रोहित भने ६५ बलमा ५८ रन जोड्दै रिटायर्ट हर्ट भएका थिए।

यसअघि खेलमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन बनाएको थियो। ओमानका लागि सोयब खानले शतक प्रहार गरेका थिए। उनले १२३ बलमा अविजित ११० रनको योगदान दिएका थिए।

बलिङतर्फ नेपालका लागि किशोर महतोले ३ तथा प्रतिश जीसी र सूर्य तामाङले २/२ विकेट लिएका थिए।

आगामी मंगलबारदेखी नेपालमा नै हुने एसीसी प्रिमियर कपमा १० टिमले प्रतिस्पर्धा गर्दैछन्। यस प्रतियोगिताको उपाधि जित्ने टिम एसिया कपका लागि छनोट हुनेछ। जसले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

एसीसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन्। नेपालले पहिलो खेलमा मंगलबार मलेसियासँग भिडन्त गर्नेछ।

२ बैशाख, २०८०, १८:१९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।