राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ।

अघिल्लो साता पालो नपाएकाले जिल्ला अदालत काठमाडौंले मुद्दाको पेसी आज (आइतबार)का लागि तोकेको हो।

आज लामिछानेविरुद्धको यस मुद्दालाई तेस्रो प्राथमिकतामा राखिएको छ। त्यसैले आज भने सुनुवाइ हुने सम्भावना उच्च छ।

गत सोमबार थुनछेकको बहसमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिने न्यायाधीशको इजलासमा सुनुवाइ परेपछि सन्दीप लामिछानेका पक्षधर कानुन व्यवसायीले पेसी स्थगित गराएका थिए।

सर्वोच्च अदालतले नाबालिग बलात्कारको अभियोगको सुनुवाइ फास्ट ट्रयाकमा गर्न दिएको आदेश अनुसार न्यायाधीश माधव घिमिरेको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी चढेपछि सन्दीपको पक्षका कानुन व्यवसायीले पेसी स्थगित गर्न निवेदन दिएका थिए।

घिमिरेकै एकल इजलासले कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। उच्चले घिमिरेको आदेश बदर गर्दै २० लाख धरौटीमा छाड्ने विवादास्पद फैसला गरेको थियो।

उच्चले धरौटी निकाल्न आदेश दिँदा विदेश जान नपाउने लगायतका सर्त राखेकोमा सर्वोच्चले सर्त हटाएर फास्टट्रयाकमा सुनुवाइ गर्न आदेश दिएको थियो।

सन्दीपमाथि आफ्नो प्रशंसक नाबालिगलाई होटेलमा लगेर बलात्कार गरेको अभियोग लागेको हो। अभियोग लाग्दा विदेशमा रहेका उनी एक महिना अमेरिकामा लुकेर इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएपछि नेपाल आएका थिए। 

२६ चैत, २०७९, १०:२७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।