मापसेपछि अब लापसे चेकिङमा प्रहरीको तीब्रता, ६ चालक नियन्त्रणमा

मापसेपछि अब लापसे चेकिङमा प्रहरीको तीब्रता, ६ चालक नियन्त्रणमा

काठमाडौं : प्रहरीले नागढुंगा क्षेत्रबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई नियन्त्रणमा लिएको छ। 

शुक्रबार ट्राफिक प्रहरीको विशेष चेकिङमा लागुपदार्थ सेवन गर्ने ६ चालकसहित ८ जना प्रहरीको फन्दामा परेका हुन्।

प्रहरीले लापसे सेवन गरेका बा १८ च ७६ ३९ नम्बरको पिकअप चालक धादिङका २४ वर्षीय राजेश नेपाली, लु १ ज ४३ ४० नम्बरको माइक्रो बसका चालक पूर्वी नवलपरासीका २९ वर्षीय रोशन थापा र बा ९८ प ५१ ६० नम्बरको मोटरसाइकल चालक धादिङका २५ वर्षीय पुजन सुवेदीलाई नियन्त्रणमा लिएको हो।

त्यसैगरी बा ८७ प ९५७ नम्बरको मोटरसाइकलका चालक ललितपुरका २२ वर्षीय रिकेस सिलवाल, बागमती प्रदेश ०२-०३५ प १५ ०१ नम्बरको स्कुटर चालक ललितपुरका २० वर्षीय सचिन महर्जन र पोखरादेखि काठमाडौंसम्म बा ८८ प ४५६५ नम्बरको स्कुटर आलोपालो चलाउँदै आएका सिन्धुपाल्चोकका २१ वर्षीय आशिष रावत र काभ्रेपलाञ्चोकका २० वर्षीय जिसन राजवंशीलाई पनि लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, भक्तपुरको सूर्यविनायकका २६ वर्षीय विपिन सिल्पकारलाई पनि प्रहरीले चेक गर्दा लागुपदार्थ सेवन गरेको पाइएपछि नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका आठै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट लगिएको छ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलिले हिजो दिउँसो साढे ३ बजेदेखि साँझ साढे ६ बजेसम्म २५ ओटा सवारी साधन चेकजाँच गर्दा लागुपदार्थ सेवन गर्ने ८ जना फेला पारेको थिए।

२५ चैत, २०७९, ०७:४०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।