स्थगित गरियो रक्सीको मादमा पैदलयात्री किचेर मार्ने पृथ्वी मल्लको मुद्दा

स्थगित गरियो रक्सीको मादमा पैदलयात्री किचेर मार्ने पृथ्वी मल्लको मुद्दा

काठमाडौं : मदिराको नशामा सवारी चलाएर पैदलयात्रुलाई किचेर मारेका पृथ्वी मल्ल प्रतिवादी भएको मुद्दा स्थगित गरिएको छ।

२४ गते पेशी भए पनि केही दिनअघि मात्रै पृथ्वी मल्लले पूर्ण सफाइ पाउनुपर्ने अर्को निवेदन दिएपछि दुवै मुद्दा स्थगित गरिएको हो।

यो मुद्दा उच्च अदालत पाटनमा न्यायाधीश धिरबहादुर चन्द र अर्का न्यायाधीश सुर्दशन राज पाण्डेको इजालसमा परेको थियो।

यसअघि मल्ललाई काठमाडौं जिल्ला अदालतले २०७८ चैत ७ गते जम्मा ६ महिना कैद र एक हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भने उनीविरुद्ध १० वर्ष सजायको माग गर्दै अभियोग पत्र दर्ता गरे पनि फैसला आउँदा ६ महिना मात्रै कैद तोकियो।

न्यायाधीश सूर्यप्रसाद अधिकारीको एकल इजलासले उक्त फैसला सुनाएको थियो। फैसलामा चालकले लापरवाहीपूर्वक सवारी चलाएको मात्र पुष्टि भएको उल्लेख थियो।

त्यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले २०७६ पुस २३ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

अभियोग बमोजिम फैसला नआएपछि सरकारी वकिल कार्यलयले २०७९ साउन १७ गते पुनरावेदनका लागि उच्च अदालत पाटनमा प्रस्ताव पठाएको थियो।

पत्रमा अभियोग बमोजिम प्रतिवादी पृथ्वी मल्ललाई सजाय पाऊँ भनी उल्लेख छ। सोही पत्र बमोजिम उच्च अदालत पाटनले असोज ७ गते पुनरावेदन पत्र दर्ता गरेको थियो।

यसपछि पहिलो पेशी माघ १७ लाई तोकिए पनि हेर्न नमिल्नेमा राखिएको थियो भने २४ गतेका लागि तोकिएको अर्को पेशी स्थगित गरियो।

उता पृथ्वी मल्लले पनि आफू निर्दोष रहेको भन्दै काठमाडौं जिल्ला अदालतले गत चैत ७ गते सुनाएको फैसला खारेज गरी पूर्ण सफाई पाउनुपर्ने माग गरी अर्को पुनरावेदन पत्र उच्च अदालत पाटनमा पेश गरेका छन्।

यी पनि,

 

२७ माघ, २०७९, १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।