मल्ल प्रकरणको चिरफार : तीन प्रत्यक्षदर्शी तर एक जनाको मात्र बयान, घटनास्थलबाट भाग्ने अभिनेत्री पारमितालाई छुट

मल्ल प्रकरणको चिरफार : तीन प्रत्यक्षदर्शी तर एक जनाको मात्र बयान, घटनास्थलबाट भाग्ने अभिनेत्री पारमितालाई छुट

काठमाडौँ : अधिक रक्सी खाएर गाडी चलाउँदै पैदल यात्रीलाई ठक्कर दिने पृथ्वी मल्लसँग घटनाको दिन रातिदेखि बिहानसम्म तीन जना रहेको उनीहरूको बयान लगायतका कागजपत्रले देखाउँछ। तर जिल्ला अदालत काठमाडौँमा पुगेको मिसिलमा भने एक जनाको मात्रै बयान छ।

अभियुक्त मल्ल अनि करिश मास्केको बयानमा दुर्घटनाको समयमा कारमा पारमिता आरएल राणा र मनीषा नाम गरेका युवती समेतसँगै थिए। उनीहरूबिच एलओडीमा भेट भएपछि बुढानीलकण्ठमा रहेको रिसोर्टमा गएर फर्कनेक्रममा दुर्घटना भएको प्रहरी प्रतिवेदनमा देखिन्छ।

तर मुद्दा सम्बन्धी मिसिलमा मल्ल र मास्केको मात्रै बयान छ। मदिरा सेवन गरेको, भेटेको समय लगायतका विवरणमा मल्ल र मास्केको बयान एक अर्कासँग बाँझिने देखिन्छ। मास्केले कोसिस भन्ने रेस्टुरेन्टमा गएर बियर खाएको बाहेक उल्लेख छैन।

जबकि मल्लले जिल्ला न्यायाधीवक्ताको रोहरबरमा दिएको बयान एलओडी लगायतका रेस्टुरेन्टमा बियरसहित ज्याकडेनियल समेत खाएको उल्लेख छ। अदालतमा पुगेर मल्लले बयान बदलेका छन्। यसबारे उकेरामा छुट्टै स्टोरी प्रकाशित हुनेछ।

घटनाको समयमा कारमा चार जना रहेको प्रहरीले सङ्कलन गरेको क्लोज सर्किट टेलिभिजनको फुटेजमा समेत देखिन्छ। फुटेजमा कारबाट २ जना महिला निस्किएर भाग्दै गरेको दृश्य छ। मल्ल र मास्केको बयान एक अर्कामा बाझिएको अवस्थामा घटनाका अन्य २ साक्षीले अघिल्लो दिनदेखि दुर्घटना हुँदाको समयसम्मको विवरण दिँदा थप प्रमाण र थप जानकारी दिन सक्थे। तर उनीहरू कारमा रहेको प्रमाण हुँदा पनि मिसिलमा राणा र अर्की युवतीको बयान लिएको देखिएन।

मदिरामा मस्त भएर पैदल यात्री किचेर मार्नेलाई जम्मा ६ महिना कैद, १ हजार जरिवाना

सवारी ज्यानबारे सर्वोच्चको सजाय मार्गदर्शन अनुसार पृथ्वीलाई हुन सक्थ्यो ४ वर्ष कैद

प्रहरी र जिल्ला न्यायाधिवक्ताको कार्यालय काठमाडौँले बयान नलिए पनि अदालतले मिसिलमा खुलेका साक्षीको बयान गराउन सक्छ नै। तर काठमाडौँ जिल्ला अदालतले समेत बयान बाझिदा पनि घटनाका साक्षीसँग बयान लिने प्रयास गरेको मिसिलले देखाउँदैन। 

मास्केको बयान : कार अचानक सडकको दायाँतिर जाँदा झस्किए

पृथ्वी विगत ३/४ वर्षदेखि साथीहरू मार्फत भेटघाट चिनजान भए पनि एक वर्ष अगाडिदेखि हामीबिच राम्रो बोलचाल भेटघाट हुँदा हामी दुवै जना साथी हौँ। उनी एक वर्ष अगाडि अध्ययनका लागि अमेरिका गएका थिए। २०७६ मङ्सिर २३ गते  नेपाल आएपछि हामीसँग भेटघाट भई राख्ने गरेको थियो। २७ गते बेलुका झ मल्लसँग बालुवाटारमा भेट भएपछि मल्लले चलाएर ल्याएको गाडीमा बसेर ठमेलमा रहेको कोसिस भन्ने रेस्टुरेन्टमा गएको। त्यहाँ तीन/चार जना साथीहरूसँग भेट भएको। रमाइलो गर्नेक्रमा हामी सबैले मादक पदार्थ बियर सेवन गर्यौ र मल्लले पनि २/३ तीन वटा बियर खाएको थियो।

एलओडीमा घटनाका दोषी र साक्षीहरु

२/३ बजेको समयमा निस्किएर एलओडी क्लबमा गएको। क्लबमा अन्य साथीहरू भेट भएको। क्लब बन्द हुन लागेको बेलामा साथी परमिता राढा र मनीषा भन्ने साथीसँग भेट भएको। तीनै जना पृथ्वीले चलाएको गाडीमा बसेर खान खान बुढानीलकण्ठमा रहेको ग्रिन्डभ्याली रिसोर्टमा जानेक्रममा गोल्फुटारमा बिगमार्ट खुलेको देखेर त्यहाँ चिप्स र सामान किनेको।

रिसोर्टमा गएर खाना अर्डर गरेर प्याक गर्न लगाएको। ८ बजेतिर त्यही बाटो हुँदै घर फर्कनेक्रममा बुढानीलकण्ठ स्कुल नजिक आइपुग्दा अचानक कार सडकको दायाँ भागतिर जाँदा म झस्किए। सडकको दायाँ भागतिर ठोक्किएर कार पुन आफ्नो साइडमा आएर रोकियो। कारबाट ओर्लिएर हेर्दा एउटा मोटरसाइकल सडकमा ढलेको र बिजुली पोल नजिक लीला देवकोटा घाइते अवस्थामा देखेको। भिडभाड भएपछि दुवै केटी साथीहरूलाई ओरालेर पठाएर म र पृथ्वी कारमै बसेको बेलामा प्रहरीले पक्राउ गरेको।

८ चैत, २०७८, १७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।