सवारी ज्यानबारे सर्वोच्चको सजाय मार्गदर्शन अनुसार पृथ्वीलाई हुन सक्थ्यो ४ वर्ष कैद

सवारी ज्यानबारे सर्वोच्चको सजाय मार्गदर्शन अनुसार पृथ्वीलाई हुन सक्थ्यो ४ वर्ष कैद

काठमाडौँ : सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कुनै मानिसलाई किची तत्काल या उपचारकोक्रममा २१ दिनभित्र मृत्यु भएमा त्यस्तो काम मार्ने मनसाय लिएर गरेको भए सवारी चलाउनेलाई जन्मकैदको प्रावधान छ।कसैले ज्यान मार्न सक्छ भन्ने अवस्था देखिदा देखिँदै अपनाउनुपर्ने सतर्कता नअपनाई लापरबाही गरी कुनै सवारी चलाएबाट दुर्घटना भई ज्यान गएमा कसुरको मात्रा हेरेर तीन वर्षदेखि १० वर्षसम्म कैद र तीस हजारदेखि एक लाखसम्म जरिवाना हुने कानुनमा व्यवस्था छ।

सवारी चालक अनुमति पत्र नभएका व्यक्तिले सवारी चलाएमा थप २ हजार जरिवाना हुन्छ। सवारी धनी वा सवारीको जिम्मा लिएका व्यक्तिले सवारी चालक अनुमति पत्र नभएकालाई सवारी चलाउन दिएमा उसलाई समेत २ वर्ष कैद हुने व्यवस्था छ।

यी दुवै कानुनी प्रावधान अनुसार पृथ्वी मल्ललाई न्यूनतम तीन वर्ष कैद हुनुपर्ने देखिन्छ भने नेपालको सवारी चालक अनुमति पत्रै नभई सवारी चलाउन दिने उनको परिवारका सदस्य समेत सजायको भागिदार देखिन्छ।

तर जिल्ला अदालत काठमाडौँबाट न्यायाधीश सूर्यप्रसाद अधिकारीको एकल इजलासबाट फैसला आउँदा जम्मा ६ महिना कैद अनि जरिवाना पनि न्यूनतममा समेत नटेकी १ हजार जरिवाना भयो।

नेपालका कानुनहरूमा ठ्याक्क कैद र सजाय नतोकी अधिकतम र न्यूनतम तोक्ने गरिएको छ। कानुनबारे जानकारका अनुसार न्यायमूर्ति मानिने न्यायाधीशहरू विवेकी हुन्छन् र उनीहरूले विवेक प्रयोग गरेर अभियुक्तको कसुर र कसुर गर्दाको अवस्था हेरेर अन्याय हुने अवस्थामा न्यूनतम र नियतवश अपराध गर्ने वा पटक-पटक अपराध गर्नेलाई अधिकतम सजाय तोक्न सहज होस् भनेर न्यूनतम र अधिकतम सजायको प्रावधान राखिएको हो।

तर अदालतबाट आएका फैसलाहरू हेर्दा विवेकको कमै प्रयोग भएको देखिन्छ। त्यसैको एक उदाहरण पृथ्वी मल्लको घटना हुनसक्छ। पूर्ण फैसला नआएकाले एकल इजलासले के-के आधारमा टेकेर फैसला गरेको हो सो खुलेको छैन। फैसलाको कैफियत खण्डमा आंशिक अभियोग दाबी पुग्ने उल्लेख गरिएको छ।

मदिरामा मस्त भएर पैदल यात्री किचेर मार्नेलाई जम्मा ६ महिना कैद, १ हजार जरिवाना

यस अगाडि नै सार्वजनिक भएका तथ्य र प्रहरी प्रतिवेदनमा मल्लले अधिक रक्सी सेवन गरेर सवारी चलाउँदा सडक पेटीमा हिँडिरहेकी लीला देवकोटालाई ठक्कर दिएको खुलेको थियो।

घटनाको दिन बा १४ च ६१२३ नम्बरको कार चलाएका मल्ल रातभर केसिज रेस्टुरेन्ट, एलओडी, सेनेट क्लबमा रक्सी खाएर बिहान बुढानीलकण्ठमा रहेको ग्रिनभ्याली पार्क रिसोर्टमा पुगेर फर्कने बेलामा यो घटना भएको थियो।

रिसोर्टमा रक्सी थपेर घर फर्कनेक्रममा फुटपाथमा हिँडिरहेकी देवकोटालाई ठक्कर दिएपछि गम्भीर घाइते देवकोटाको उपचारकै क्रममा मृत्यु भएको थियो। त्यो बेलामा प्रहरीले उनको स्वास्थ्य परीक्षण गराउँदा रक्सी पिएर सवारी चलाएको देखिएको थियो। यो भनेको दुर्घटना हुनसक्ने जान्दाजान्दै सवारी चलाएर कसैको ज्यान लिएको अभियोग पुष्टि हुने तथ्य हो। यसमा ऐनमा रहेको सजायको प्रावधान अनुसार न्यूनतम पनि ३ वर्ष कैद हुनसक्ने देखिन्छ। तर फैसला आयो ६ महिनाको।

अङ्गभङ्ग भएमा पनि ३ वर्षदेखि १० वर्षसम्म सजायको प्रावधान छ ऐनमा। तर यो घटनामा पैदल यात्रीको ज्यानै गए पनि ६ महिना मात्रै कैद सजायको फैसला आएको छ।

सर्वोच्चकै मार्गदर्शनको उलङ्घन

सवारी सम्बन्धी कसुरको सजाय निर्धारणमा अन्योल देखिएपछि अदालतले 'सवारी सम्बन्धी कसुरको सजाय निर्धारण सम्बन्धी सामान्य मार्गदर्शन' बनाएको थियो २०७५ मा। सो मार्गदर्शनमा कसुरदारलाई सम्बद्ध कानुनका व्यवस्थाहरूलाई समग्रतामा विचार गरी न्यायिक स्वविवेकमा उपयुक्त सजाय निर्धारण गर्न मार्गदर्शनको लागी मार्गदर्शन बनाएको उल्लेख छ।

त्यसमा निश्चित सजायको व्यवस्था भएका तथा तीन वर्षसम्म कैद तथा ३० हजारसम्म जरिबाना हुने सजायको व्यवस्था भएका बाहेकका अन्य सवारी सम्बन्धी कसुरमा सजाय निर्धारण गर्दा मार्गदर्शनको रूपमा रहेको उल्लेख छ।

तर सोही मार्गदर्शनमा'यो अधिकतम र न्यूनतम सजायको व्यवस्था भएको सवारी सम्बन्धी जघन्य तथा गम्भीर कसुर गर्ने कसुरदारलाई उपयुक्त सजाय निर्धारण गर्ने प्रयोजनका लागि जारी गरिएको भएता पनि मार्गदर्शनका विभिन्न चरणहरू जन्मकैदको निश्चित सजाय हुने तथा ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिबाना हुने सवारी सम्बन्धी कसुरमा कसुरदारलाई सजाय निर्धारण गर्नका लागि समेत मार्गदर्शन रहने' उल्लेख छ।

सो मार्गदर्शनमा एकै वारदातमा एकभन्दा बढी कसुर गरेको, कसुरको गम्भीरता, कसुरदारको दोषीपना, कसुरबाट पुगेको क्षति र कसुरदारले लिएको जोखिमको आधारमा ६ वर्षदेखि १० वर्षसम्म कैद गर्नुपर्ने उल्लेख छ।

कसुरदारमा पूर्वानुमानित लापरबाही नरहेको, कसुरदारले निजी हलुका सवारी साधन चलाएको र सोही सवारी साधनमा सवार व्यक्तिको मृत्यु भएमा, कसुरदार आफैँ गम्भीर घाइते भएमा पनि तीनदेखि ६ वर्ष कैद हुने मार्गदर्शनमा उल्लेख छ।

अधिकतम १० र न्यूनतम १० वर्ष कैद सजाय भएकाले सजायको आधार विन्दु यकिन गर्दा एकै समय एकभन्दा बढी कसुर गरेको हकमा ६ देखि १० वर्ष कैद हुनसक्ने भए कैदको आधार विन्दु ८ वर्ष हुने उल्लेख छ। कसुरदार पूर्वानुमानित लापरबाही नरहेको हकमा पनि ३ वर्षदेखि ६ वर्षसम्म कैद हुनसक्ने सजायको दायरामा कैद सजायको आधार विन्दु ४ वर्ष ६ महिना तोकिएको छ।

७ चैत, २०७८, २०:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।