मदिरामा मस्त भएर पैदल यात्री किचेर मार्नेलाई जम्मा ६ महिना कैद, १ हजार जरिवाना

मदिरामा मस्त भएर पैदल यात्री किचेर मार्नेलाई जम्मा ६ महिना कैद, १ हजार जरिवाना

काठमाडौँ : मदिराको नशामा अर्ध बेहोस भएर गाडी चलाएर पैदल यात्रीलाई ठक्कर दिएर ज्यान लिएका पृथ्वी मल्ललाई जम्मा ६ महिना कैद सजाय भएको छ। काठमाडौँ जिल्ला अदालतले २ वर्ष अगाडिको सो घटनाबारे फैसला सुनाउँदै चालकलाई जम्मा ६ महिना कैद सजाय सुनाएको हो। कैद सजाय सुनाए पनि कारागारको रेकर्डमा मल्ल सात महिना कारागार बसिसकेकाले उनी पुन कारागार बस्नुपर्ने छैन। उनले अब तोकिएको *१ हजार जरिवाना तिरे पुग्नेछ।

कारागारको रेकर्डमा सात महिना कारागार बसेको भनिए पनि उनी उपचारको बहानामा अस्पतालमा बसेका थिए। उनी अहिले कारागारमा पनि छैनन्। सर्वोच्चको आदेशमा उनी धरौटीमा रिहा भइसकेका छन्।

उनलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले १० वर्ष सजायको माग गर्दै अभियोग पत्र दर्ता गरेको थियो। तर अदालतबाट सोमबार फैसला आउँदा ६ महिना मात्रै कैद तोकिएको हो।

न्यायाधीश सूर्यप्रसाद अधिकारीको एकल इजलासले मल्ललाई सजाय र जरिवानाको फैसला सुनाएको हो। फैसलामा चालकले लापरबाहीपूर्वक सवारीसाधन चलाएको मात्र पुष्टि भएको उल्लेख छ।

अमेरिकामा बस्दै आएका मल्ल नेपालमा आएर साथीहरूसँग रमाइलो गर्दै बुढानीलकण्ठमा रहेको एक रिसोर्टमा पुगेर फर्कनेबेलामा २०७६ मङ्सिर २७ मा लीला देवकोटालाई ठक्कर दिएका थिए।

बा १४ च ६१२३ नम्बरको कार चलाएका उनी रातभर केसिज रेस्टुरेन्ट, एलओडी, सेनेट क्लबमा रक्सी खाएर बिहान बुढानीलकण्ठमा रहेको ग्रिनभ्याली पार्क रिसोर्टमा पुगेका थिए।

रिसोर्टमा रक्सी थपेर घर फर्कनेक्रममा फुटपाथमा हिँडिरहेकी देवकोटालाई ठक्कर दिएका थिए। गम्भीर घाइते देवकोटाको उपचारकै क्रममा मृत्यु भएको थियो। कारमा सवार अभिनेत्री पारमिता आरएल राणा लगायतकाहरु घटनास्थलबाट भागेका थिए। तत्कालीन समयमा मल्लसँग अमेरिकी सवारी चालक अनुमति पत्र फेला परे पनि नेपाली सवारी चालक अनुमति पत्र नभएको देखिएको थियो।

काठमाडौँका जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले २०७६ पुस २३ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए।

उच्च अदालत पाटनमा पुनरावेदन परे पनि जिल्लाकै आदेश सदर भएको थियो। सर्वोच्च अदालतमा पुनरावेदन पुगेपछि न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोजकुमार शर्माको संयुक्त इजलासले उनी दम र डिप्रेसनको रोगी देखिएको भन्दै धरौटीमा मुक्त गर्न आदेश दिएका थिए।

* मदिरामा मस्त भएर पैदल यात्री किचेर मार्नेलाई जम्मा ६ महिना कैद, १ हजार जरिवाना हुनुपर्नेमा १० हजार भएकाले सच्याइएको छ

७ चैत, २०७८, १८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।