पृथ्वी मल्ल विरुद्धका पाँच प्रमाण जसले देखाउँछ झुक्किएर मारिएकी होइनन् लिला

पृथ्वी मल्ल विरुद्धका पाँच प्रमाण जसले देखाउँछ झुक्किएर मारिएकी होइनन् लिला

काठमाडौं : दुई वर्षअघि बुढानीलकण्ठको फुटपाथमा यात्री किचेर मारेका पृथ्वी मल्ललाई काठमाडौं जिल्ला अदालतले जम्मा ६ महिना कैद र १ हजार जरिवाना गरेपछि फैसलाको आलोचना भइरहेको छ।

जिल्ला न्यायाधीवक्ताको कार्यालय काठमाडौंले मागदावी लिँदा सवारी तथा यातायात व्यवस्था ऐन-२०४९ को दफा १६१ को उददफा २ अनुसार सजायको माग गरेको थियो।

तर, जिल्ला अदालतबाट सोमबार फैसला आउँदा ऐन २०४९ दफा १६१ को उपदफा ३ बमोजिम कसुरमा सोही अनुसार कारबाही गर्नु भन्ने फैसला भयो।

उपदफा २ मा लापरबाहीपूर्ण रुपमा सवारी चलाएर ज्यान गएको हकमा १० वर्षसम्म कैद र ३० हजारसम्म जरिवानाको प्रावधान छ। उपदफा ३ मा कसैको ज्यान मर्नसक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा दुर्घटना भएर कसैको ज्यान गएको अवस्थामा एक वर्ष कैद र २ हजार जरिवानाको प्रावधान छ। न्यायाधीश सूर्यप्रसाद अधिकारीको एकल इजलासले आंशिक मात्रै मागदावी पुग्ने फैसला गरेको थियो।

फैसलाको पूर्णपाठ आइसकेको छैन। तर दर्ता भएको अभियोग पत्र र सँगै पेस भएका प्रमाणका आधारमा गरिएको दावी अनि अदालतबाट फैसला आउँदा टेकेको उपदफाले अदालतले दुर्घटना स्वीकार गरेको तर जानजान दुर्घटना नगराई अनजानमा भएको भन्ने ब्याख्या गरेको आकलन गर्न सकिन्छ।

के रहेछ त प्रमाण? उकेराकर्मीले मंगलबार यो मुद्दा प्रक्रियामा संलग्न साक्षी, वयान र प्रमाणहरु केलाउन मुद्दाको मिसिलको अध्ययन गरेको थियो। जहाँ समेटिएका प्रमाणहरुले घटना अनजानमा भएको देखाउँदैन, दुर्घटना हुनसक्छ है भन्ने जान्दाजान्दै सवारी चलाउँदा भएको दुर्घटना देखाउँछ।

काठमाडौँ जिल्ला सरकारी वकिल प्रमुख गंगाप्रसाद पौडेल पनि फैसला त्रुटिपूर्ण आएको बताउँछन्। उनले फैसलाको पूर्णपाठ आएपछि मुद्दा पुनरावेदनमा जाने उकेरासँग बताए। 

‘हिजो अदालतले पृथ्वी मल्ललाई सवारी तथा व्यवस्था ऐन २०४९ दफा १६१ को उपदफा ३ बमोजिम कसुरमा सोही अनुसार कारबाही गर्नु भन्ने फैसला भएछ,’ उनले भने, ‘यो फैसला त्रुटिपूर्ण छ त्यसकारण पुनरावेदन त हुनैपर्यो।’

के-के छ प्रमाण

रक्सी खाएर सवारी चलाए
अदालतमा पुगेको मिसिलको अध्ययनमा घटनाको दिन मल्लसहित चार दिन रातभर ठमेल क्षेत्रका लाउन्ज र रेष्टुरेन्टहरुमा बसेर रक्सी खाएर बिहान भोक लागेपछि खाना लिन बुढानीलकण्ठमा रहेको रिसोर्टमा गएको देखिन्छ। उनीहरु रिसोर्टबाट फर्कदा यो दुर्घटना भएको हो।

जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरी निरीक्षक अनिता महतले मल्लसँग लिएको बयानमा उनले 'ज्याक डेनिअल्स नामक रक्सी खाएको थिएँ, नसाको सुरमा के कति खाएँ थाहा भएन। मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना भएको हो’ भनेका छन्।

दुर्घटनाको बेलामा कारमै रहेका करिश मास्केको बयानमा उनले सबैभन्दा पहिला नै बियर खाएको देखिन्छ। एलओडी लगायतका रेष्टुरेन्टमा बसेर रातभर रक्सी खाएर बसेका उनीहरु क्लब बन्द भएपछि भोकले रन्थनिएर बुढानीलकण्ठमा रहेको रिसोर्टतिर लागेको देखिन्छ।

उनले रक्सी खाएको तथ्य चिरायु अस्पतालमा गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदनले समेत पुष्टि गर्छ। अस्पतालको इमर्जेन्सीमा लगेर गरिएको मल्लको स्वास्थ्य परीक्षणमा अल्कोहल ब्रेथ प्लस लेखिएको छ।

बुढानीलकण्ठ रिसोर्टमा उनीहरु पुग्दा देखाएको ब्यवहार र अवस्थाका आधारमा रिसोर्टका गार्डको बयान अनि घटनास्थलमा उनीहरुको अवस्था देखेका प्रत्यक्षदर्शीसँगै घटनास्थलको क्लोज सर्किट टेलिभिजनमा देखिएको उनको अवस्थाले भने रक्सी खाएर गाडि चलाएको देखाउँछ।

प्रहरी अनुसन्धानको क्रममा उनले नेपाली सवारीचालक अनुमतिपत्र पेस गर्न सकेनन्। उनले चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी चलाउने अनुमतिपत्र पाएको तर रक्सी खाएर गाडी चलाउँदा ट्राफिकले भेटेर चिट काटेर लाइसेन्स लिएकाले अहिले आफूसँग लाइसेन्स नभएको बयानमा सकारेका छन्।

जिल्ला न्यायाधिवक्ताको रोहबरमा दिएको बयानमा उनले यो सबै स्वीकार गरे तर अदालतमा गएर बयान बदले। अदालतमा दिएको बयानमा उनले रक्सी नखाएको दावी मात्र गरेका छैनन्, कहिल्यै रक्सी नखाने समेत बताएका छन्। २०७६ मंसिर २८ मा प्रहरीले पक्राउ गरेपछि मेन्टल्ली ह्यारेसमेन्ट गरेरकाले प्रहरी समक्ष दिएको बयान आफ्नो नभएको तर हस्ताक्षर भने आफ्नो रहेको उनले दावी गरे।

अदालतको बयानमा स्वास्थ्य परीक्षण समेत झुटो भएको दावी गरे। उनले भनेका छन्, ‘रक्सी सेवन नगरेको हुँदा सो स्वास्थ्य परीक्षण झुटो हो। चिरायु अस्पतालामा प्रहरीले लगेको हो। ब्लड टेष्ट गर्ने अल्कोहल टेष्ट गर्ने कुनै काम भएन।’ चिरायु अस्पतालको मंसिर २८ को अल्कोहल ब्रेथ टेष्टमा उनले रक्सी खाएको देखिएको प्रस्टै उल्लेख छ।

मोटरसाइकलको अनुमति तर भने 'कारको नि छ'
उनी विरुद्ध देखिएको अर्को प्रमाण हो चार पाङ्ग्रे सवारी साधन चलाउने अनुमतिपत्र नै नलिई सवारी साधन चलाउने। उनले प्रहरी बयानमा आफूले सवारीचालक अनुमतिपत्र पाएको र त्यसमा ए क्याटोगरी अर्थात २ पाङ्ग्रे र बि क्याटोगरी अर्थात हलुका चार पाङ्ग्रे सवारीसाधन चलाउने अनुमती रहेको बयान दिएका छन्। २०७२ साल जेठ २१ मा उनले लाइसेन्स निकालेको देखियो।

उनले मापसेमा परेर ट्राफिकले नै लाइसेन्स लगेको र आफुले ननिकालेको भनेपछि प्रहरीले यातायात व्यवस्था विभागमा उनको विवरण मगायो। विवरण आउँदा उनले दुई पाङग्रेको मात्र अनुमती लिएको र परिक्षामा त्यही पास गरेकाले २ पाङग्रे सवारीसाधन चलाउने अनुमती मात्र पाएको पत्र पठायो।

विभागको पत्रले उनले सवारी चलाउन पाउने अनुमती नै नलिई सवारी चलाएको पुष्टी भयो। 

जब उनको झुट बोलेको देखियो अनि अदालतमा पून बयान बदल्दै नेपालमा चार पाङग्रे सवारी चलाउने अनुमतिपत्र नलिएको तर सन् २०१९ मा अमेरिकाको फलोरीडाबाट इन्टरनेसनल ड्राइभिङ लाइसेन्स लिएको दावी गरे। उनले फ्लोरिडाको लाइसेन्स पेस गरे।

उनले बयानमा भनेका छन्, ‘नेपालमा कार नचलाउने भएकाले लाइसेन्स लिएको थिइनँ। कारको अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स छ।’  अन्तराष्ट्रिय लाइसेन्स भएको हकमा नेपालमा पनि सवारी त चलाउन पाइन्छ। तर उनको सो लाइसेन्स सक्कली हो या नक्कली भन्नेतिर विस्तृत अनुसन्धान भएको देखिएन।

मृतक देवकोटाको पोस्टमार्टम र घटनाका साक्षी
मल्लले चलाएको गाडीले हिर्काउँदा लिला देवकोटा घाइते भएको देख्नेहरु प्रशस्तै थिए। नजिकैको वर्कसप सञ्चालकदेखि कारभित्रै रहेकाहरुले समेत कार अनियन्त्रित भएर आफ्नो साइड छाडेर विपरीत दिशाको फुटपाथमा हिँडिरहेकी देवकोटालाई ठक्कर दिएको पुष्टि हुन्छ।

घटनास्थलको मुचुल्कामा 'उत्तरतर्फको सडकमा अगाडिको भाग सबै फुटेको अवस्थामा बा१४च ६१२३ नम्बरको स्विफ्ट कार रहेको। सोही स्थानमा विष्णुमती खोलातर्फबाट पृथ्वी मल्लले चलाई ल्याएको कारले सडकको दक्षिण दाहिने पेटीबाट हिँड्दै गरेकी पैदल यात्री लिला देवकोटालाई गलत साइडमा गएर ठक्कर दिई गम्भीर घाइते बनाउनुका साथै बिजुलीको पोल र मोटरसाइकलमा समेत क्षति पुर्याएको' उल्लेख छ।

देवकोटाको पोस्टमार्टम रिपोर्टमा छातिमा ठूलो धक्काका साथ ठक्कर दिएकाले मृत्यु भएको उल्लेख छ। उनी घाइते अवस्थामा घटनास्थलमा भेटिएकी थिइन् र उपचारका लागि नजिकैको न्युरो अस्पताल पुर्याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।

प्राविधिक खराबी थिएन कारमा
मल्ले अदालतमा दिएको बयानमा गेयर जाम हुँदा कार अनियन्त्रित भएको दाबी गरेका छन्। जबकी प्रहरी बयानमा रातभर रक्सी खाएर नसुत्दा कार चलाउँदा चलाउँदै झ्याप्पै निद्रा लाग्दा घटना भएको बयान दिएका छन्।

वारिको गाडी पारि गएर व्यक्ति र पोललाई ठक्कर दिएर वारि आएको छ घटनामा। गाडीबाट धुवाँ निस्किएको छ। अगाडिको भाग पूरै फुटेको छ। अनि प्रहरीले गराएको गाडीको प्राविधिक परीक्षणमा गाडीको गेयर अनि ब्रेक सकुशल रहेको प्रतिवेदनै मिसिलमा संलग्न छ।

यसले मल्लले होसमै गाडि चलाएको र प्राविधिक कारणले गर्दा दुर्घटना भएको भन्दै मानवीयभन्दा पनि मेसिनरी कारण देखाएर नियोजित दुर्घटनालाई अकस्मात देखाउने प्रयास गरेको मिसिलमा भएका प्रमाणहरुले देखाएको छ।

सिसिटिभीको दृश्यलाई प्रमाण नमान्ने?
यति मात्रै हैन, घटनाको क्लोज सर्किट टेलिभिजनको दृष्य समेत प्रहरीले संकलन गरेर अदालतमा बुझाएको मिसिलमा रहेका डकुमेन्टले देखाउँछ। बिहान १०:२० को समयमा दुर्घटना गराएको दावी गरिए पनि सिसिटिभी हेरेर दुर्घटना बिहान १० बजेर १९ मिनेटमा भएको देखियो।

दुर्घटनाको दृश्य बुढानीलकण्ठ स्कुलको कम्पाउन्डमा जडान गरिएको क्लोज सर्किट टेलिभिजनले कैद गरेको थियो। प्रहरी सहायक निरीक्षक ओमप्रकाश बैठाले महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा सिसिटिभीबारे बुझाएको प्रतिवेदन मिसिलमा संलग्न छ।

मदिरामा मस्त भएर पैदल यात्री किचेर मार्नेलाई जम्मा ६ महिना कैद, १० हजार जरिवाना

सवारी ज्यानबारे सर्वोच्चको सजाय मार्गदर्शन अनुसार पृथ्वीलाई हुन सक्थ्यो ४ वर्ष कैद

मल्ल प्रकरणको चिरफार : तीन प्रत्यक्षदर्शी तर एक जनाको मात्र बयान, घटनास्थलबाट भाग्ने अभिनेत्री पारमितालाई छुट

८ चैत, २०७८, १८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।