उकेरा टप फाइभ : माधव नेपालले प्रधानमन्त्रीलाई पठाएकाे सन्देशदेखि रविकाे घुर्की तत्काल काम नलागेकाे प्रसङ्गसम्म

काठमाडौं : बिहीबार देशका प्रमुख पाँच राजनीतिक दलको बैठक बस्यो। कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीको बैठक बसेर विभिन्न अजेण्डामा छलफल भयो।
साँझ बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा अधिकांशको चासो देखियो। विहानैदेखि पार्टी सभापति रवि लामिछानेले सरकार छाड्ने संकेत गर्दै घुर्क्याएर स्टाटस लेखेपछि उनको पार्टी बैठकमा सबैको चासो बढ्यो।
अब लागौं आजको टप फाइभतर्फः
उकेराले बिहीबार अदालतले ६ महिना कैद फैसला गरेका प्रतिनिधिसभा सदस्य अरुण चौधरीलाई पक्राउ गरेको समाचार प्रकाशित गर्यो।
कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई कैलाली जिल्ला अदालतले आगजनी गरेको मुद्दाका दोषी ठहर गरेको थियो। १० वर्षअघि आगजनी गरेको कसूरमा उनीमाथि ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो।
माघ १६ गते उकेराले नागरिक उन्मुक्तिका सांसद अरुण आगजनीमा ६ महिना कैद सजाए पाएका दोषी भएको समाचार प्रकाशित गरेको थियो। उनी विगत १३ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए।
पूरा समाचारः अदालतले ६ महिना कैद सजाए तोकेका सांसद् अरुणकुमार चौधरी पक्राउ, के थियाे मुद्दा?
उकेराले बिहीबार प्रकाशित हुने नियमित स्तम्भ हिजोका कुरामा साहित्यकार प्रदीपकुमार मैनालीको साहित्य लेखनको विषयलाई समावेश गर्यो। स्तम्भमा उनले जीवनको बाल्यकालदेखि साहित्य लेखनका संघर्ष र 'के लत बस्यो मलाई' बाेलको गजलसम्मको प्रसंग र गायक तिलकसिंह पेलासँगको भेटको बारेमा उल्लेख गरिएको छ।
पूरा समाचारः ‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे
बिहीबार बसेको माओवादी केन्द्रको बैठकपछि एकीकृत समाजवादीका उमहासचिव डा. विजय पौडेल पार्टी अध्यक्ष माधवकुमार नेपालको सन्देश लिएर पुगेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल बाहिरिनुअघि उनी नेपालको सन्देश दिएर बाहिर निस्किएका थिए।
पूरा समाचारः माधव नेपालको सन्देश लिएर पेरिसडाँडा पुगे विजय पौडेल
बिहीबार नै नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बलात्कार आरोपी पूर्वकप्ता सन्दीप लामिछानेलाई समावेश गर्दै २० खेलाडीको सूची निकाल्यो। पहिलो चरणमा २८ खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरेको क्यानले ९ खेलाडीलाई हटाइ सन्दीपलाई थपेर २० सदस्यीय टीम घोषणा गर्याे।
पूरा समाचारः नाबालिग बलात्कारकाे आरोप लागेका सन्दीप राष्ट्रिय टिममा फर्कंदै, क्यानले बोलायाे बन्द प्रशिक्षणमा
त्यसैगरी, गृह मन्त्रालय नपाए सरकार छाड्ने भनेर घुर्क्याएकाे राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भयाे। करिब साढे चार घण्टा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनसम्म सरकार छाड्ने निर्णय 'हाेल्ड' गर्याे।
पार्टीको बैठक बस्नुअघि प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको फोन आएपछि त्यसबारेमा बैठकमा छलफल भएर दुई दिनसम्म कुर्ने अवस्था बन्यो।
पूरा समाचारः दाहाल र ओलीको फोन आएपछि स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने