दाहाल र ओलीको फोन आएपछि स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने

दाहाल र ओलीको फोन आएपछि स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ।

बिहीबार बसेको केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकले दुई दिन सरकार नछाड्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ता साझेदार दलहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको फोन आएर दुई दिनको समय मागेपछि सरकारबारे दुई दिनपछि निर्णय गर्ने बताए।

`प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीले हाम्रा अध्यक्षलाई बैठक चलिरहेका बेला फोन गरेर समय माग्नु भएको छ,´ ढकालले भने, `त्यसैले हामीले अहिले उहाँहरुले गर्नुहुन्छ हेर्छौं। २ दिनमा पनि केही गर्नु भएन भने हामी फेरि पार्टीको बैठक बसेर निर्णयमा पुग्छौं।´

रास्वपाले भन्याे- गृह मन्त्रालय छाड्दैनौं

यस्तै, पूर्वसहमतिअनुसार गृह मन्त्रालयमा आफूहरूको स्वभाविक भएको उनले बताए।

उनले भने, ‘गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो। यो अडानबाट हामी पछाडि हट्दैनौं र पार्टीबाट को व्यक्ति पठाउने भन्ने कुरा पार्टीको निर्णयको अधिकार हो। अन्य व्यक्ति वा पार्टीले यो पठाउनुपर्छ भन्ने होइन।’

गृह मन्त्रालय पाउँदा सांसद कि गैरसांसद पठाउनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता ढकालले भने, ‘जब प्रधानमन्त्रीले हाम्रो सभापतिलाई मन्त्रीको लागि नाम पठाउनुस् भन्नुहुन्छ त्यसपछि पार्टी बैठक बस्छ र निर्णय गर्छ।’

१९ माघ, २०७९, २०:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।