दुबई फेस्ट विवादमा परेपछि  कला सम्बन्धी कार्यक्रमको आवरणमा ठगीमा मुछिएको सूर्य कर्पोरेशनले झुट बोल्यो

दुबई फेस्ट विवादमा परेपछि  कला सम्बन्धी कार्यक्रमको आवरणमा ठगीमा मुछिएको सूर्य कर्पोरेशनले झुट बोल्यो

काठमाडौँ : टुर एन्ड ट्राभल्सको रूपमा दर्ता गरेर विदेश विद्यार्थी लगायतका विभिन्न भिसामा जापान पठाइदिन्छु भन्दै ठगीमा संलग्न देखिएको सूर्य कर्पोरेसन प्रालिले आफू एजुकेसन कन्सल्टेन्सी नभएको स्वीकार गरेको छ। सात जना नेपालीसँग जापान पठाउँछु भन्दै लिएको पैसा फिर्ता नदिएपछि वैदेशिक रोजगार विभागले छापा मारेपछि प्रालिको ठगी धन्दा सार्वजनिक भएको थियो।

वैदेशिक रोजगारीमा पठाउने अनुमति समेत नलिएको कर्पोरेशनले जापान पठाउने भन्दै १५ लाख बढी ठगी गरेको उजुरीको आधारमा विभागले मङ्सिर ३० गते प्रालिको डिल्लीबजारमा रहेको कार्यालयमा छापा मार्दा जापान, क्यानडा अमेरिका लगायतका मुलुकमा पठाइदिने भनी सङ्कलन गरेको करिब ८० थान पासपोर्ट बरामद गरेको थियो।

सूचनामा तीन वर्ष अगाडिदेखि पासपोर्ट बुझिलिई हालसम्म नपठाएकाले कारबाही गरिपाऊँ भनी उजुरी परेपछि चार जना कर्मचारीलाई पक्राउ गरे पनि ट्राभल्स रहेको भन्दै विभागले उनीहरूले ठगी गरेको रकम पीडितलाई फिर्ता गराएर कारबाहीबाट जोगाएको थियो।

कर्पोरेशनले झुट बोल्दै ती पासपोर्टहरू टुर प्याकेज र इभेन्टका लागि जम्मा गरेको दाबी गरेको छ। सो कर्पोरेशनले जापान पठाउने प्रलोभन दिएर पैसा फिर्ता नगरी पछि निरु लामालाई एक लाख २० हजारको चेक दिए पनि लामो समय भुक्तानी गरेको थिएन। त्यसबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेपछि कतै उजुरी नगर्दा आग्रह गर्दै लामाको पैसा फिर्ता गरेको थियो।

निरुले जापानमा विद्यार्थी भिसामा पठाइदिने अनि वर्किङ भिसामा बदलिदिने भन्दै १२ लाख रकम मागेको उकेरालाई जानकारी गराएकी थिइन्।

उसले विज्ञप्तिमा आफूहरू विदेशमा अध्ययनका लागि पठाउने कन्सल्टेन्सी समेत नभएको स्वीकार गरेको छ। तर अहिले पनि उसको आधारित साइट सुर्यकर्पडटकमा क्यानमा विद्यार्थी भिसामा पठाउने विज्ञापन देखिन्छ। यसले उसले कला सम्बन्धी विभिन्न कार्यक्रमको आवरणमा ठगी गर्दै आएको पुष्टि गरेको छ।

विज्ञप्तिमा विभागले राहदानीहरू फिर्ता गराएको उल्लेख गरेको प्रालिले पीडितहरूबाट २०७२ साल अगाडि नै लिएको रकम फिर्ता गरेको तथ्य भने लुकाएको छ। उसले निरु लामालाई रकम फिर्ता गरेकोबारे समेत केही उल्लेख गरेको छैन।

पछिल्लो समय सो कर्पोरेसनलाई चलचित्र विकास बोर्डले दुबईमा दुबई फेस्ट गर्ने जिम्मेवारी दिएपछि प्रालिसँगै बोर्डका अध्यक्ष भुवन केसी समेत विवादमा तानिएका छन्। उकेराको खोजमा सो प्रालिका कार्यकारी अध्यक्ष वासुदेव लामिछाने र बोर्ड अध्यक्ष केसीबिच व्यापारिक साझेदारी रहेको समेत देखिएको थियो। विज्ञप्तीमा केसीसँग कुनै साझेदारी नभएको दाबी गरिएको छ।

सूर्य कर्पोरेसन यस अगाडि पनि जापान लैजानेभन्दै रकम बार्गेनिङ गरेको घटनामा मुछिएको विवादित र शङ्कास्पद कम्पनी हो। सो कम्पनीका अधिकारीले जापान लैजान गरेको मोलमोलाइको अडियो नै सार्वजनिक भएको थियो।

यस्तो विवादित कम्पनीसँग बोर्डले ३० लाख रकम दिएर साझेदारी गर्दैछ। प्रालीको विज्ञप्तीमा उल्लेख भए अनुसार विवादित कम्पनीको सहकार्यमा हुन लागेको कार्यक्रममा फरकधारको रुपमा चर्चा पाएको ऐना झ्यालको  पुतली र व्यापारिक रुपमा सफल भएको कबड्डी कबड्डी ४ प्रदर्शन हुँदैछ।

सम्बन्धित समाचार

१७ माघ, २०७९, १६:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।