चलचित्र विकास बाेर्डले गर्न लागेकाे ‘दुबई फेष्ट’ बहिष्कार गर्ने ‘महापुरुष’काे घाेषणा

चलचित्र विकास बाेर्डले गर्न लागेकाे ‘दुबई फेष्ट’ बहिष्कार गर्ने ‘महापुरुष’काे घाेषणा

काठमाडौं : चलचित्र ‘महापुरुष’को टिमले दुबईमा फेब्रुअरी १२ देखि १५ तारिखसम्म हुने ‘दुबई फेष्ट’ बहिष्कार गर्ने घाेषणा गरेकाे छ।

फिल्म निर्माता कम्पनी षट्कोण आर्टस्ले सामाजिक सञ्जालमार्फत बोर्डले चलचित्र निर्माण टिमसँग सल्लाह नै नगरी आफ्नो चलचित्र समावेश गरेको र विवादित कम्पनीसँग सहकार्य गरेकाे भन्दै बहिष्कार गरेकाे जनाएकाे हाे।

सरकारी निकाय चलचित्र विकास बाेर्डले विवादित कम्पनीसँग नै सहकार्य गर्नुको कारणसमेत उसले माग गरेको छ।

यस्तै चलचित्रका निर्माता रबिन्द्रसिंह बानियाँले दुबईको हलमा प्रदर्शनकाे अधिकार बेचे पनि महोत्सव र अन्य कार्यक्रममा लैजानेबारे आफूहरूसँग सल्लाह नभएको बताए।

‘हामीले एक बितरकलाई दुबईमा प्रदर्शन अधिकार मात्र बेचेका हौं,’ उनले भने, ‘महोत्सव र अन्य कार्यक्रममा लैजानेबारे छलफलसमेत भएकाे थिएन।’

महापुरुषले हल बितरणको अधिकार रमेश ढकाललाई दिएको थियो।

कलाकारलाई देखाएर ठगी गर्ने सूर्य कर्पोरेसनको जालोमा परेकी निरु, न जापान पुगिन् न पैसा फिर्ता भयो

कलाकार र पत्रकार विदेश लगेर कार्यक्रम गर्ने 'अवैध' सूर्य कर्पोरेसनमा छापा मार्दा चर्चित कलाकारका पासपोर्ट भेटियो

बोर्डले नाचगान र घुमघाममा सरकारी रकम दुरूपयाेग गर्नुभन्दा नेपाली फिल्मलाई विभिन्न भाषामा डबिङ गर्नुपर्नेमा बानियाँले जोड दिए। यसले नेपाली फिल्म धेरै दर्शकमाझ पुग्न मद्दत पुग्ने उनले बताए।

‘बोर्डले ३० लाख रूपैयाँमा धेरैओटा फिल्म धेरै भाषामा डबिङ गर्नसक्छ,’ उनले थपे, ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने हो भने यस्ता फोकटमा महोत्सवमा पैसा खर्च गर्न हुँदैन।’

बोर्डले गैरकानूनी तरिकाले सूर्य कर्पोरेशनलाई फिल्म दिएकोबारे कलाकार कृष्ण मल्लले पनि विरोध गरेका छन्।

विकास बोर्डले दुबईमा गर्ने भनिएको कार्यक्रमको सहकार्यका लागि कुनै आह्वान नभएको भन्दै सरकारी निकायले हचुवाको भरमा कसैसँग पनि सहकार्य गर्नु गैरकानूनी भएको दाबी गरे।

१६ माघ, २०७९, १८:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।