कलाकार र पत्रकार विदेश लगेर कार्यक्रम गर्ने 'अवैध' सूर्य कर्पोरेसनमा छापा मार्दा चर्चित कलाकारका पासपोर्ट भेटियो

कलाकार र पत्रकार विदेश लगेर कार्यक्रम गर्ने 'अवैध' सूर्य कर्पोरेसनमा छापा मार्दा चर्चित कलाकारका पासपोर्ट भेटियो

काठमाडौं : विभिन्न देशमा कलाकार लगेर कार्यक्रम गर्दै आएको सूर्य कर्पोरेसनको नेपालमा रहेको कार्यालयमा छापा मार्दा कलाकारहरूको राहदानी फेला पर्यो।

कम्पनी विभिन्न बहानामा वैदेशिक रोजगारीको आवरणमा ठगीमा संलग्न रहेको सूचनाको आधारमा गत शुक्रबार वैदेशिक रोजगार विभागले पुतलीसडकमा रहेको कार्यालयमा छापा मारेको थियो।

छापा मार्दा कार्यालयमा २० भन्दा बढि कलाकारको राहदानी फेला परेको थियो। जसमा चर्चित कलाकारहरू पनि रहेका छन्।

विभागले कुन-कुन कलाकारको राहदानी फेला परेको हो त्यो खुलाएन। तर, सो कर्पोरेसनको प्रचार सामाग्री हेर्दा चर्चित गायक/गायिकादेखि कमेडियनसम्मको नाम देखिन्छ।

विभागको अनुसन्धानमा सो कर्पोरेसनै अवैध रहेको खुलेको छ। विभागका अनुसार २०७२/०७३ मा सो कर्पोरेसन दर्ता भएको देखिएको छ। तर, त्यसपछि नवीकरण भएको छैन।

उपत्यका पर्यटन कार्यालयका सूचना अधिकारी महेश आचार्यले भने ‘पर्यटन विभागअन्तर्गत दर्ता हुने टुर एन्ड ट्राभल एजेन्सीहरू २०७५ सालपछि प्रदेश अन्तर्गत दर्ता हुनुपर्छ। बागमती प्रदेशमा कर्पोरेसनले दर्ता गरेको देखिँदैन। हामीले अनलाइनमा हेर्दा कर्पोरेसनले नवीकरण गर्न निवेदन दिएको पनि देखिँदैन।'

उकेराकर्मी पुतलीसडकस्थित सूर्य कर्पोरेसन पुग्दा कर्पोरेसनका कर्मचारी हिरा थापा भेटिए। हिराले यसको लगानीकर्ता र दर्ता नम्बरबारे झुट बोले।

उनले भने, ‘कार्यालय यही हो दर्ता गरेको प्रमाण यहाँ छैन। म नयाँ कर्मचारी हुँ। कसको कार्यालय भन्ने पनि थाहा छैन।’

१२ देशमा कार्यक्रम भन्दै ठगी

कर्पोरेसनको कार्यालयमा रहेको बोर्डमा नेपालका चर्चित ९ जना कलाकार लिएर नेपालसहित १२ देशमा म्युजिकल टुर गर्ने उल्लेख गरिएको छ।

प्रचार सामाग्रीमा उल्लेख भएअनुसार जनवरीदेखि डिसेम्बरसम्म जापान, दुबई, मलेसिया, जापान, कोरिया, बेलायत, युरोप, क्यानडा, अमेरिका र भारतमा कार्यक्रम गर्ने उल्लेख छ।

साकुरा नाइट कार्यक्रममा गायिका समीक्षा अधिकारी, मिलन नेवार, शिव परियार, प्रशान्त तामाङ, कमेडियन सन्दीप क्षेत्री, कार्यक्रम सञ्चालक नरेश भट्टराई, कमल खत्री, मेलिना मैनाली र नायिका नम्रता सापकोटाको नाम छ। सो कम्पनीले अस्ट्रेलियामा डिसेम्बर २१ देखि ३१ सम्म कार्यक्रम गर्ने तयारी गरेको देखिन्छ।

सोही कम्पनीले सूर्य इन्टरनेशनल अवार्डको नाममा समेत विभिन्न देशमा कार्यक्रम गरेर कलाकार लैजाने गरेको थियो। तेस्रो सूर्य इन्टरनेशनल अवार्ड २०२३ अमेरिकामा हुन लागेको पोस्टरमा देखिन्छ। अनाउन्समेन्ट १४ फेब्रुअरी दुबईमा नोमिनेशन सेरोमनी अनि मे ७ तारिखका दिन जापानमा र अवार्ड वितरण कार्यक्रम भन्दै २३ नोभेम्बर अमेरिकामा कार्यक्रम हुने उल्लेख छ।

विदेशमा काम लगाइदिने भन्दै ठग्दै

सूर्य कर्पोरेसन यस अगाडि नै मानव तस्करीमा विवादमा आएको कम्पनी हो। यसले विदेशमा कार्यक्रम गर्ने भन्दै कलाकारहरूको समूहमा गैर कलाकारलाई राखेर प्रतिव्यक्ति १२ लाख देखि ३० लाखसम्म उठाएर पछि उतै छाड्ने गरेको खुलेको थियो।

सो कर्पोरेसनसँग आबद्ध व्यक्तिले कार्यक्रममा सहभागी गराउन जापान ल्याएर शरणार्थीको रूपमा कृषि फर्ममा काम लगाइदिने भन्दै प्रतिव्यक्ति १२ लाख मागेको अडियो नै सार्वजनिक भएको थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले वैदेशिक रोजगार विभागको कल सेन्टरमा सूर्य कर्पोरेसनले ठगी गरेको गुनासो आएको भन्दै कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए।

मन्त्रीबाट निर्देशन आएपछि गत शुक्रबार विभागका कर्मचारी पुतलीसडकमा रहेको कर्पोरेसनको कार्यालयमा छापा मारेको थियो। छापा मार्दा ३ वर्षदेखि होल्ड गराइएका २२ वटा जति पासपोर्ट फेला परेको थियो।

विभागका महानिर्देशक उमाकान्त आचार्यका अनुसार कर्पोरेसनले वैदेशिक रोजगार लैजान्छौं भन्दै पासपोर्ट होल्ड गरेकाले त्यहाँका कर्मचारीलाई दुई दिन हिरासतमा राखेर ६ जनाको २० लाख रकम उठाइएको छ।

‘कोरोना अघिदेखिका पासपोर्ट हामीले देख्यौँ। कति भिसा लागेका पनि थिए,’ उनले भने, ‘६ जनाले पैसा नदिएसम्म हामीले नछाड्ने भनेपछि उनीहरूले पैसा बुझाए।’

आचार्यका अनुसार यसको लगानीकर्ता सुरुवातमा विष्णु लामिछानेको थिए। त्यसपछि यो कम्पनी शम्भु लामिछानेले लिए।

कर्पोरेसनका ६ जना कर्मचारी पक्राउ परेपछि विष्णु लामिछानेले विभागमा सम्पर्क गरेका थिए। उनले विभागमा आफूले पहिले नै कम्पनी ह्याण्डओभर दाबी गर्दै शम्भु लामिछाने र कम्पनीका इभेन्ट म्यानेजरको रूपमा रहेका समीर बलामीले कम्पनी लिएको बताएका थिए।

'पैसा बुझाएपछि मात्रै कर्मचारी छुट्छन् भनेपछि समीर बलामी लगायतका व्यक्तिहरू आएका थिए। नगद र खातामा पैसा हालिदिएपछि हामीले छाडिदिएका हौं। पैसा विष्णुले पनि पठाएका भन्थे। कम्पनी कसको हो थाहा भएन’, महानिर्देशकले भने।

बलामीलाई उकेराले सम्पर्क गर्दा उनले कम्पनी आफ्नो नभएको सन् २०१८ मा जापानमा भएको कार्यक्रममा आफू इभेन्ट म्यानेजर मात्रै भएको दाबी गरे।

'मैले यो कम्पनी मार्फत सन् २०१८ मा जापानमा इभेन्ट गरेका थिएँ,’ उनले भने, ‘त्यसपछि म यस कम्पनीमा जोडिएको छैन।’

लगानीकर्ता को हुन्?

वासुदेव लामिछानेको फेसबुक पेजमा उनले आफू सूर्य कर्पोरेसनको फाउन्डर भनेर लेखेका छन्। यसबारे कर्पोरेशनका कर्मचारी हिरा थापासँग जानकारी माग्दा उनले कार्यक्रम हुन लागेको पुष्टि गरे। उनले लगानीकर्ता को हो भन्ने खुलाउन चाहेनन्।

१ पुस, २०७९, १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।