वैदेशिक रोजगारीको आवरणमा ठगी गर्ने सूर्य कर्पोरेसनलाई विभागको उन्मुक्ति, चलचित्र विकास बोर्डमा ३० लाखको लबिङ

वैदेशिक रोजगारीको आवरणमा ठगी गर्ने सूर्य कर्पोरेसनलाई विभागको उन्मुक्ति, चलचित्र विकास बोर्डमा ३० लाखको लबिङ

काठमाडौँ : अमेरिका, जापान अनि अस्ट्रेलियामा रोजगारीमा पठाउने भन्दै ठगी गरेको पर्याप्त प्रमाण फेला परे पनि वैदेशिक रोजगार विभागले सूर्य कर्पोरेसन प्रालीविरुद्ध छानबिन प्रक्रिया अगाडि बढाएन। विभागले कर्पोरेसनको कार्यालयमा छापा मार्दा रोजगारीमा पठाउने भन्दै लिएको ८० वटा पासपोर्ट अनि विदेश पठाउन भनेर बनाएको टन्नै लेनदेनको कागज फेला पारेको थियो।

विभागले मङ्सिर २३ गते प्रालीको डिल्लीबजारमा रहेको कार्यालयमा छापा मारेको थियो। विभागले छापा मार्दा जापान, क्यानडा अमेरिका लगायतका मुलुकमा पठाइदिने भनी सङ्कलन गरेको करिब ८० थान पासपोर्ट बरामद भएको भन्दै सूचना नै निकालेको थियो।

सूचनामा तीन वर्ष अगाडिदेखि पासपोर्ट बुझिलिई हालसम्म नपठाएकाले कारबाही गरिपाऊँ भनी उजुरी परेको आधारमा पक्राउ गरिएको उल्लेख थियो। विभागमा उजुरी गर्नेहरूले पत्रकार समीर बलामी र वासुदेव लामिछानेको नाम लिएका थिए।

उनीहरूले नाम लिएका दुवै जना काठमाडौँमै थिए। तर विभागले उनीहरूलाई पक्राउ नगरी केही कर्मचारीलाई पक्राउ गरेर हिरासतमा राख्यो र पैसा दिएको भन्दै सूर्य कर्पोरेसनलाई गम्भीर अपराधमा उन्मुक्ति दियो।

विभागले मङ्सिर २५ गते जारी गरेको सूचनामा भने कर्पोरेसनको अवैध कामबारे केही बोलेको छैन। सूचनामा प्रालिका पदाधिकारीलाई विभागमा उपस्थित गराई निवेदकहरूले बुझाएको १५ लाख रुपैयाँ भराइदिएको छ।

'यस विभागबाट इजाजत पत्र नलिएको कुनै पनि संस्थाले वैदेशिक रोजगारी सम्बन्धी काम कारबाही नगर्नु नगराउनुहुन  र त्यस्ता संस्थाहरुसँग वैदिक रोजगार सम्बन्धी कुनै पनि क्रियाकलाप नगर्नुहुन सर्वसाधारणलाई सूचित गरिन्छ’ सूचनामा भनिएको छ।

विभागका महानिर्देशक उमाकान्त आचार्यलाई उकेराले कर्पोरेसनमाथि किन अनुसन्धान नभएको भन्ने जिज्ञासा राख्दा उनले भने, ‘यो ट्राभल एजेन्सी रहेछ। पर्यटन मन्त्रालय अन्तर्गत पर्ने भएकोले मैले थप अनुसन्धान गर्न निर्देशन दिन सकिन। पीडितहरूले यहाँ उजुरी दिएकाले उनीहरूको पैसा उठोस् पीडित नफसुन् भनेर पैसा उठायौँ। र अरू पासपोर्ट पनि फिर्ता दियौँ।’

ट्राभल्स सम्बन्धी काम गर्ने अनुमति लिएको संस्थाले रोजगारीसम्बन्धी काम गर्नु आफैँमा अपराध हो। विभागले विभागको कार्यक्षेत्रमा नपरेको दाबी गरे पनि सूर्य कर्पोरेसनको आधिकारिक साइटमा गएर हेर्ने हो भने अहिले पनि वर्किङ भिसा दिलाउने भन्दै राखेका विज्ञापन देख्न सकिन्छ। बेलायतमा सिजनल कामदारमा पठाउने समेत उल्लेख छ उसको साइटमा।

शुक्रवार उकेराकर्मीले सो प्रालीको साइटमा गएर हेर्दा जापानमा वर्किङ भिसामा पठाउने विज्ञापन फेला पार्यो। त्यसमा विद्यार्थी भिसामा जापान लगेर वर्किङ भिसामा बदलिदिने आश्वासन दिइएको छ। सो प्रालीबाट ठगिएका अधिकांशलाई बलामी र लामिछानेले यही भनेर पैसा उठाएर लामो समयसम्म नदिएको खुलेको थियो।

तर महानिर्देशक कसैको दबाब परेर नभई क्षेत्राधिकार भित्र नपर्ने भएकाले अनुसन्धान नगरेको दाबी गर्छन्। यसबारे पर्यटन मन्त्रालयमा जानकारी दिनुभयो त भन्ने प्रश्नमा उनले भने, ‘त्यो त पर्यटन आफैँले हेर्ने हो। यति बुझ्नुस् हामीले वैदिक रोजगारको आवरणमा ठगी गरेकाले छापा हानेर रकम फिर्ता गरेका हौँ। अरू हाम्रो क्षेत्राधिकार परेन। यो त पर्यटन मन्त्रालय अन्तर्गतका विभागले आफूले स्वीकृत दिएका एजेन्सी के गरिरहेका छन् हेर्नु पर्ने होइन र?’

विभागले सफाइ दियो भन्दै ३० बोर्डसँग ३० लाखको बार्गेनिङ

विभागले कारबाही नगर्नुको तार यही सकिँदैन। त्यो चलचित्र विकास बोर्डमा समेत जोडियो। सो संस्थाले नेपाली चलचित्र प्रवर्धन गर्ने भनेर बोर्डसँग ३० लाख रुपैयाँ मागिरहेको छ। सूर्य कर्पोरेसनको बदमासी सार्वजनिक भएपछि बोर्डले रोक्न खोजेको रकम उनीहरूले विभागले क्लिन चिट पाएकाले रोक्न नहुने भन्दै बार्गेनिङ गरिरहेका छन्।

यसमा लामिछानेलाई बलामीले सघाइरहेका छन्। बिहीबार बोर्डमा बलामी समेत पुगेर उकेरामा प्रकाशित समाचारले केही नहुने भन्दै सूर्य कर्पोरेसनलाई पैसा निकासा गराउन दबाब दिएको स्रोतले बतायो। बलामी चलचित्र पत्रकार तथा चलचित्र पत्रकार सङ्घका पूर्व महासचिव समेत हुन्। सङ्घको एक महिला पत्रकारमाथि उनले यौन दुर्व्यवहार गरेको सार्वजनिक भएपछि उनले महासचिव पदबाट राजीनामा दिएका थिए।

सूर्य कर्पोरेसनले आफ्नो मानव तस्करीको धन्दालाई सहज बनाउन मनोरञ्जनात्मक कार्यक्रम अनि फिल्मी अवार्ड भनेर प्रतिष्ठित कलाकारहरूलाई प्रयोग गर्ने गरेको यस अगाडि नै उकेराले सार्वजनिक गरिसकेको छ। नेपालबाट नेपाली कलाकारहरू विदेशमा लगेर अवार्ड कार्यक्रम गर्दै नेपाली फिल्म प्रमोसन गराउने बहानामा बदनाम संस्थालाई पैसा दिन बोर्ड अध्यक्ष भुवन केसी समेत सकारात्मक रहेको र बोर्डका कर्मचारी चिरञ्जीवी गुरागाईँले सहजीकरण गरिरहेको स्रोतले बतायो।

गुरागाईँ बोर्डको सूचना अधिकारी र अन्तर्राष्ट्रिय समन्वय हेर्ने जिम्मेवारी पाएका बोर्डका कर्मचारी हुन्। उकेराले यस अगाडि सूर्य कर्पोरेसनले कसरी निरु लामालाई ठगी गर्यो भन्ने समाचार प्रमाणसहित प्रकाशित गरेको थियो। सो समाचारबारे लामिछानेसँग प्रतिक्रिया लिने प्रयास गर्दा फेसबुक मेसेन्जरमा उनले आफू अमेरिकामा रहेको र कार्यालयमा जान भनिदिनु भनेका थिए। जबकि उनी बलामीसँगै अहिले काठमाडौँमा बसेर बोर्डबाट ३० लाख निकाल्न सक्रिय रहेको पुष्टि भएको छ।

सूर्य कर्पोरेसनसँगको सम्बन्धबारे बलामीसँग जिज्ञासा राख्दा उनले आफू एक पटक मात्र सो प्रालीसँग इभेन्ट म्यानेजरको रूपमा काम गरेको दाबी गरेका थिए। तर सो कम्पनीलाई बोर्डबाट ३० लाख दिलाउन उनी अहिले पनि सक्रिय देखिएका छन्।

 

८ पुस, २०७९, १७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।