दुबई फेष्टको जिम्मा पाएको विवादित कम्पनी सूर्य कर्पोरेसन बोर्ड अध्यक्ष भुवनको 'व्यापारिक साझेदार' !

दुबई फेष्टको जिम्मा पाएको विवादित कम्पनी सूर्य कर्पोरेसन बोर्ड अध्यक्ष भुवनको 'व्यापारिक साझेदार' !
सूर्य कर्पोरेसनका वासुसँगै भुवन र अनमोल केसी।

काठमाडौँ : फिल्म एन्टी हिरो' को जापानमा प्रदर्शन विक्री बापतको नौ लाखको हिसाब मिलाउन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले मानव तस्करीमा जोडिएको कम्पनीलाई दुबई फेष्टको आयोजनाको जिम्मा दिएको देखिएको छ।

मनोरञ्जनको आवरणमा मानव तस्करी गर्ने, ट्राभल्स एजेन्सीको आवरणमा जापान पठाउँछु भन्दै पैसा लिएर ठगी गरेको घटनामा जोडिएको सूर्य कर्पोरेसनसँग केसीको जोड बलमा सम्झौता भएको थियो।

सूर्य कर्पोरेसनमा वैदेशिक रोजगार विभागले छापा मार्दा ८० बढी राहदानी फेला पारेको थियो भने विदेशमा कामदारको रूपमा पठाउने भन्दै रकम लिएको कागजपत्र समेत फेला पारेको थियो। सात जनाको १५ लाख बढी रकम ठगी गरेको खुल्दा समेत वैदेशिक रोजगार विभागको मिलेमतोमा कर्पोरेसनले कारबाहीबाट उन्मुक्ति पायो।

उता सोही कम्पनीलाई बोर्डले विदेशमा नेपाली फिल्मको प्रवर्धन गर्ने भन्दै दुबई फेस्ट गर्ने अनुमति दिँदै सम्झौता गर्यो। विवादित सूर्य कर्पोरेसन र बोर्ड अध्यक्ष केसीको सम्बन्धबारे उकेराले गरेको खोजमा यी दुबैबिच व्यापारिक सम्बन्ध रहेको खुल्यो।

चलचित्र निर्माता समेत रहेका केसीले निर्माण गर्ने फिल्म विवादित कम्पनी सूर्यका प्रमुख वासु लामिछानेले जापानमा प्रदर्शन गर्ने गरेको देखियो। भुवनले आफ्नै छोरा अनमोल केसीलाई लिएर फिल्म 'एन्टी हिरो' बनाउने घोषणा गरेका थिए। फिल्म बनाउने घोषणा गरे लगत्तै 'एन्टी हिरो'को ओभरसिज राइट्समध्ये जापानमा प्रदर्शन गर्ने राइट्स सूर्य कर्पोरेसनले किनेको थियो।

सो फिल्म नौ लाखमा जापानमा प्रदर्शन गर्ने अधिकारसहित सम्झौता गर्दै तस्बिर समेत सार्वजनिक भएको थियो। फिल्म घोषणा त भयो तर बनेन। उता ओभरसिज् राइट्सको पैसा पनि फिर्ता भएन।

अहिले त्यही लेनदेन मिलाउन केसीले मानव तस्करी र वैदेशिक रोजगारी ठगी जस्तो गम्भीर अपराधमा परेको कम्पनीसँग सम्झौता गरेको देखियो।

ढाँट्दै सूर्य कर्पोरेसन

यसबारे सूर्य कर्पोरेसनका एक व्यक्तिसँग जानकारी माग्दा एन्टी हिरोका लागि नभई 'पारस' फिल्मका लागि सम्झौता भएको दाबी गरे। तर त्यो सम्झौता हुँदा 'पारस' फिल्म घोषणा नै भएको थिएन।

भुवनका पिए नीराजन गिरीले केसीको काजल फिल्म र विवादित कम्पनी सूर्यबिच सम्झौता भएको पुष्टि गरे। उनको दाबी अनुसार सम्झौता भएको फिल्मको नाम समेत तय भएको छैन रे।

उनले अनटाइटल (नाम नभएको फिल्म) फिल्मको ओभरसिज् राइट्सका लागि सम्झौता भएको अपत्यारिलो दाबी गरे।

भुवनको विवादित बोर्ड यात्रा

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले सार्वजनिक रूपमै यौन दुर्व्यवहारको आरोप लगाएर विवादमा आएका केसी एमालेबाट कांग्रेसमा प्रवेश गरे। बोर्डको अध्यक्षकै लागी उनी कांग्रेसमा गएको चर्चालाई सत्य बनाउँदै उनी बोर्ड अध्यक्षमा नियुक्त भए।

उनी शैक्षिक योग्यताको विवादमा परे। उनको बोर्ड अध्यक्ष बन्ने योग्यता नभएकोबारे अदालतमा मुद्दा विचाराधीन छ। त्यसपछि पनि उनको विवादित यात्रा रोकिएन। नेपाली फिल्मलाई विदेशमा प्रवर्धन गर्ने भन्दै दुबई अनि अमेरिकामा कार्यक्रम गर्दैछन् उनी।

दुबईमा करिब ३२ लाखमा कार्यक्रम गर्न सूर्यसँग सम्झौतै भइसक्यो भने चलचित्र प्राविधिक सङ्घसँग सहकार्य गरेर अमेरिकामा अवार्ड कार्यक्रम गर्ने तयारीमा छन् केसी।

बेदेशिक रोजगार ठगीमा जोडिएको कम्पनीसँग दुबई फेस्टका लागि सम्झौता गर्ने कार्यक्रममा अध्यक्ष केसीले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपाली फिल्म बिस्तारका लागि अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्ने दाबी गरेका थिए।

सम्झौता कार्यक्रममा बोल्दै सूर्य कर्पोरेसनका सञ्चालक वासु लामिछानेले विकास बोर्ड आफै पत्र लिएर आफूकहाँ काम गर्न आएको दाबी गरेका थिए।

उनले भनेका थिए,' बोर्ड आफैले सहकार्यका लागि पत्राचार गर्यो, सरकारी निकायसँग सहकार्य गर्न पाउने भएकाले घाटामै भए पनि इभेन्ट म्यानेजमेन्ट गर्न तयार भयौँ।'

बोर्डका प्रवक्ता चिरञ्जीवी गुरागाईँले तीन ओटा कम्पनीको निवेदन परेको र त्यसमा सूर्य कर्पोरेसन छानिएको दाबी गरेका थिए।

सम्बन्धित समाचार

 

११ माघ, २०७९, १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।