भुवन केसीको बदमासी : बलात्कार पीडितलाई पीडा दिने अभिनेत्रीलाई लैङ्गिक हिंसा विरोधी समितिमा, विवादित कम्पनीलाई ३० लाख

भुवन केसीको बदमासी : बलात्कार पीडितलाई पीडा दिने अभिनेत्रीलाई लैङ्गिक हिंसा विरोधी समितिमा, विवादित कम्पनीलाई ३० लाख

काठमाडौँ : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले महिला चलचित्रकर्मीहरूमाथि हुनसक्ने लैङ्गिक हिंसा र शोषण र विभेद विरुद्ध काम गर्ने समितिमा अभिनेत्री पूजा शर्मालाई नियुक्त गरेका छन्।

बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा शर्मालाई पुस ८ मा उनले नियुक्त गरेका हुन्। शर्मा बलात्कार पीडित गायिकाविरुद्ध मिडिया र सामाजिक सञ्जालमा सक्रिय हुँदै बलात्कारका अभियुक्त पल शाहको पक्षमा उभिएर बदनाम भएकी अभिनेत्री हुन्।

नाबालिग गायिकामाथि शाहले बलात्कार गरेको जाहेरी परेपछि शर्माले सार्वजनिक रूपमै' पल मेरो मुटुमा छ' भन्दै उनको पक्षमा वकालत गरेकी थिइन् भने उनले निरन्तर बलात्कार पीडित किशोरीलाई ह्यारेसमेन्ट गरेकी थिइन्।

आफ्नो लगानीको चलचित्र चलाउन उनले पीडित बालिकालाई प्रहरीमा जाहेरी दिन रोक्दारोक्दै प्रहरीमा जाहेरी परेपछि शाह पक्राउ परेका थिए। उनी पुर्पक्षका लागि थुनामा परेपछि उनको रिहाइका लागि र अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न उनी आफू निकट युट्युवरहरुमार्फत सक्रिय भएकी थिइन्।

शाहविरुद्ध २ वटा अदालतमा बलात्कारको अभियोगमा मुद्दा चलेकोमा जिल्ला अदालत नवलपुरबाट बलात्कार नभई बाल यौन दुरुपयोग गरेको भन्दै २ वर्ष कैद सजाय तोकिएको थियो। तनहुँ अदालतमा रहेको मुद्दा विचाराधीनै रहेको छ।

बदनाम कम्पनीलाई ३० लाख

सरकार बदलिएर सञ्चार मन्त्रालयमा नयाँ मन्त्री आउने भएपछि उनले चलचित्र प्रवर्धनको बहानामा मानव तस्करी र ठगीमा जोडिएको सूर्य इन्टरप्राइजेज प्रालीलाई ३० लाख रकम दिने निर्णय समेत गराएका छन्।

बोर्डको बैठक राखेर उनले दुबईमा कार्यक्रम गरेर नेपाली चलचित्रको प्रचार र प्रवर्धन गर्ने बहानामा अवैध रूपमा कम्पनी चलाइरहेको समूहलाई सो रकम दिन लागेका हुन्।

ट्राभल्स एजेन्सीको आवरणमा काठमाडौँमा कार्यालय खोलेको सो संस्थाले अवैध रूपमा विदेश पठाउँछु भन्दै विभिन्न व्यक्तिलाई ठगेको उजुरीको आधारमा वैदेशिक रोजगार विभागले छापा मारेर प्रमाण सङ्कलन गरे पनि पछि पीडितलाई पैसा फिर्ता दिएको बहानामा कारबाहीबाट उन्मुक्ति दिएको थियो।

विभागले कर्पोरेसनको कार्यालयमा छापा मार्दा रोजगारीमा पठाउने भन्दै लिएको ८० वटा पासपोर्ट अनि विदेश पठाउन भनेर बनाएको टन्नै लेनदेनको कागज फेला पारेको थियो। अनुमति नलिई वर्किङ भिसामा विदेश पठाउँछु भन्दै रकम लिनु वैदेशिक रोजगार ठगी हुने भए पनि विभागले ' ट्राभल्स एजेन्सी आफ्नो क्षेत्रमा नपर्ने' भन्दै विभागका महानिर्देशक उमाकान्त आचार्यले छानबिन समिति समेत गठन गरेनन्।

सो प्रालीको अफिसियल साइटमा जापानमा वर्किङ भिसामा पठाउने विज्ञापन फेला पार्यो। त्यसमा विद्यार्थी भिसामा जापान लगेर वर्किङ भिसामा बदलिदिने आश्वासन दिइएको छ।

सो प्रालीबाट ठगिएकाहरूले चलचित्र पत्रकार समीर बलामी र सूर्य कर्पोरेसनका वासुदेव लामिछाने जापान पठाउँछु भन्दै रकम लिएको विभागलाई जानकारी दिएका थिए।

जापान पठाउने प्रलोभनमा पारेर एक लाख २० हजार लिएर पछि चेक दिए पनि सो रकम भुक्तानी नदिएको भन्दै चेक सहित एक पीडित निरु लामा उकेराको सम्पर्कमा आएकी थिइन्।

उनीसँग कर्पोरेसनका शम्भु लामिछानेले दिएको नेपाल इन्भेस्टमेन्ट बैङ्कको एक लाख २० हजारको चेक साथमै थियो जुन अहिलेसम्म साटिएको छैन।

सूर्य कर्पोरेसनले मानव तस्करीको धन्दालाई सहज बनाउन मनोरञ्जनात्मक कार्यक्रम अनि फिल्मी अवार्ड भनेर प्रतिष्ठित कलाकारहरूलाई प्रयोग गर्ने गरेको यस अगाडि नै उकेराले सार्वजनिक गरिसकेको छ।

नेपालबाट नेपाली कलाकारहरू विदेशमा लगेर अवार्ड कार्यक्रम गर्दै नेपाली फिल्म प्रमोसन गराउने बहानामा केसीले बदनाम संस्थालाई पैसा दिने निर्णय गरिसकेका छन्।

बोर्डका सूचना अधिकारी चिरञ्जीवी गुरागाईँले यसबारे बिहीबार पत्रकार सम्मेलनको तयारी गरिएको तर के  प्रयोजनका लागि कति रकम दिएको भन्नेबारे जानकारी नभएको उकेरालाई जानकारी दिए।

केसी आफैँ एक अभिनेत्रीमाथि यौन दुर्व्यवहार गरेको घटनाका आरोपी हुन्। उनी विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि उनको योग्यताबारे सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको छ। आगामी साता त्यसबारे अन्तिम फैसला आउँदै छ।

१३ पुस, २०७९, १८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।