दुर्व्यवहारको आरोप लागेका भुवन बोर्ड अध्यक्ष बने चलचित्र क्षेत्रले स्वीकार्ला !

दुर्व्यवहारको आरोप लागेका भुवन बोर्ड अध्यक्ष बने चलचित्र क्षेत्रले स्वीकार्ला !

काठमाडौं: फिल्मको शुटिङको क्रममा आफूमाथि भएको यौन दुर्व्यवहारको घटना सार्वजनिक गर्दा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले काठमाडौं जिल्ला अदालतमा मुद्दा खेपिरहेकी छिन्। मुद्दा हाल्ने व्यक्ति हुन्- अभिनेता तथा फिल्म निर्देशक भुवन केसी।

भुवनले आफ्नो करिअरमा धेरै सफल फिल्म दिएका छन्। 'सम्झना', 'कुसुमे रुमाल', 'चिनो', 'दुई थोपा आँसु', 'करोडपति' उनका सफल फिल्म हुन्। ’गुड लुकिङ’ भुवनले आफूलाई रोमान्टिक हिरोको रूपमा स्थापितै गरेका पनि हुन्।

उनी अभिनयमा जति सफल हुन् उति नै सफल निर्माताको रूपमा समेत हुन्। तर सिनेमामा देखिने उनको छवि र वास्तविक जीवनको छवि भने भिन्न देखिन्छ। वास्तविक जीवनमा उनको छवि विवादित छ। उनी पटक-पटक महिलासँग जोडिएर विवादमा आउने गरेका छन्। यही विवादमध्येको गम्भीर विवाद हो साम्राज्ञीसँगको।

कोरोनाकालमा साम्राज्ञीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा भिडियो पोस्ट गर्दै नेपाली चलचित्र उद्योगमा काम गर्ने क्रममा तीन वटा ब्यानरबाट निकै दुःख पाएको सार्वजनिक गरेकी थिइन्। उनले कस्तो दुःख पाएको उल्लेख गरिन् तर दुःख दिनेको नाम खुलाएकी थिइनन्।

एकाएक केसीले फेसबुकमा 'जुन थालमा खायो, त्यही थालमा दुलो पार्यो' लेख्दै प्रतिवाद गरेपछि साम्राज्ञीले सङ्केत गरेको व्यक्ति आफैंले खुलाए। त्यसपछि साम्राज्ञीले केसीमाथि थप आरोपहरू लगाइन्।

'एक अवार्ड कार्यक्रममा सहभागी हुन जापान जाँदा केसीले आफूसँग गाला जोडेर बोल्न खोजेको, अङ्कमाल गरेर ह्यारेस गरेको' आरोपहरू सार्वजनिक गरिन्। त्यसपछि केसी मानहानि भयो भनेर काठमाडौं जिल्ला अदालत गए। अदालतमा मेलमिलापको प्रयास भएको थियो। तर मेलमिलाप नभएपछि यो मुद्दा चलिरहेको छ। टुङ्गो लागिसकेको छैन।

जुन बेला साम्राज्ञीले आफूमाथि भएको दुर्व्यवहारको घटना सार्वजनिक गरिन् त्यही समयमा अर्की एक महिलाले केसीले आफूमाथि गरेको दुर्व्यवहार प्रमाणसहित सार्वजनिक गरेकी थिइन्। दुई वर्षअघि क्यानडामा रहेकी ती महिलाले सामाजिक सञ्जालको स्कृनशटसहित भुवनले आफूमाथि गरेका दुर्व्यवहारको घटना सार्वजनिक गरेकी थिइन्।

उनले आफूले साम्राज्ञीको फिल्महरू हेरे पनि व्यक्तिगत रूपमा नचिनेको भन्दै साम्राज्ञीको भिडियोमा आएको प्रतिक्रिया हेरेपछि उनलाई सहयोग पुगोस् भनेर केसीले आफूलाई गरेको दुर्व्यवहारबारे सार्वजनिक गरेको बताएकी थिइन्।

उनले सार्वजनिक गरेको फेसबुक च्याटमा फिल्ममा अभिनय गर्ने प्रस्ताव राख्दै आफूलाई ह्यारेस गरेको उल्लेख गरेकी थिइन्। उनले आफ्नो भिडियोमा कुरा गर्दै केसीले दुर्व्यवहार गरेको बताएकी थिइन्। उनी क्यानडामा बसेर लिडरसिप लगायतका विषयमा युट्युबमा भिडियोहरू बनाउँदै आएकी छिन्।

उनले सार्वजनिक गरेको भिडियोमा भनेअनुसार केसीले फ्रेण्ड रिक्वेस्ट पठाएपछि पत्यार नलागेको तर पछि एसेप्ट गरेर अकाउन्ट सही हो या गलत हो भनेर कन्फर्म गर्नका लागि भिडियो च्याट गरेको बताएकी थिइन्।

'फेक अकाउन्ट हो कि भन्ने लाग्यो। कतै आफ्नो भिडियोहरू हेरेर फिडब्याक दिन खोजेको हो कि भन्ने लागेर फ्रेण्ड रिक्वेस्ट स्वीकार गरे। मेसेजमा सक्कली अकाउन्ट हो भनेर सोध्दा भिडियो च्याटमा आऊ भनेपछि भिडियो च्याटमा कुरा गरेँ। उनी सोफामा सुत्दै कुरा गरिरहेका थिए। अड लागेपछि पछि कुरा गरौँला भनेर कुरा बन्द गरेँ। अकाउन्ट सक्कली रहेछ भन्ने भइहाल्यो।'

पछि केसीले च्याटमा कुरा गर्दै तिमि राम्री रहेको, फिल्म खेल्ने हो भन्दै मेसेज गरेको र आफूलाई उनको व्यवहार ठिक नलागेको बताएकी थिइन्।

उता केसीले आफ्नो मानहानि गरेको दावी गरेकाले मानहानि भएको हो या हैन भन्ने पुष्टिका लागि अदालतले शाहमाथि उनले यौन दुर्व्यवहार गरेको हो या हैन भन्ने पाटो हेर्नसक्छ। यो मुद्दा टुङ्गिँदा कि केसीले दुर्व्यवहार गरेको पुष्टि हुनेछ कि शाहले गलत आरोप लगाएको देखिने छ।

पटक-पटक विवादमा 

भुवन करिअरको उत्तरार्द्धमा रहँदा एक विवाहित युवतीको प्रेममा थिए। बुटिक सञ्चालन गर्ने ती युवती र भुवन सार्वजनिक कार्यक्रममा सँगै देखिन्थे। उनीहरूको प्रेम चर्चाले फिल्म क्षेत्रलाई तताएको थियो। तर उनीहरूले आफ्नो सम्बन्ध स्वीकारेका थिएनन्।

तिनै युवतीसँग गाडी चढेर नगरकोट डेटिङ हिँडेका भुवनलाई कोटेश्वरमा ती युवतीका श्रीमानले कुरेर हेलमेटले कुटेको खबर सार्वजनिक भएको थियो। भुवनले कोटेश्वरमा बाटो छेकेको स्वीकारेका थिए। तर कुटाइ खाएको स्वीकारेनन्।

भुवनकी पहिलो श्रीमती विजया केसी एक छोरा र एक छोरीका साथ अमेरिकामा बस्छिन्। सुस्मितासँग भुवनले प्रेम विवाह गरे। सुस्मिता भुवनकी दोस्रो श्रीमती हुन्। करिब १० वर्षपछि दुवै कानूनी रूपमा अलग भए।

पछि भुवन अभिनेत्री जियासँग जोडिए। उनीहरूले आफ्नो सम्बन्ध सार्वजनिक रूपमा खुलाएनन्। तर उनीहरू कहिले क्यासिनोमा सँगै देखिए त कहिले अन्त-अन्तै। पछि यी दुवै लिभ-इन रिलेशनसिपमा रहेको सार्वजनिक भयो।

नेता बन्ने मोह 

चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने उनको रहर नेता बन्ने पहिलो रहर होइन। पहिला पनि गरेकै थिए। तर उनी प्रतिस्पर्धामै सहभागी भएनन्। उनी स्थानीय तहको निर्वाचनअगाडि नीर शाहको साथमा प्रधानमन्त्रीको सरकारी निवासमा गएर कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाबाट कांग्रेसको सदस्यता लिए।

उनले सदस्यता लिँदा चलचित्र विकास बोर्डको नेतृत्त्व खाली भइसकेको थियो। उनले सरकारले जिम्मेवारी दिए आफू बोर्डको नेतृत्त्वका लागि तयार रहेको भन्दै रहर देखाए। आवेदन खुल्यो। उनले आवेदन पनि दिए।

कांग्रेसबाट बोर्डको अध्यक्षको लागि कसरत गर्नुअघि उनले एमाले प्रवेश गरेर काठमाडौं क्षेत्र नम्बर १ बाट सांसद हुने प्रयास गरेका थिए। उनी २०७४ को निर्वाचनअगाडि एमालेमा प्रवेश गरेका थिए। तर सांसदको टिकट पाएनन्।

हालसालैको स्थानीय तहको निर्वाचनअगाडि उनी काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने चर्चा भएको थियो। तर सङ्केत राम्रो नदेखेपछि आफू व्यस्त रहेकाले काम गर्न नभ्याउने भन्दै उम्मेदवार नबन्ने घोषणा गरे।

अहिले उनी अन्य आवेदकजस्तै बोर्डको नेतृत्त्व पाउन राजनीतिक लबिङमा सक्रिय छन्। आवेदन दिएपछि आफूले कसैलाई नभेटेको उनी दावी गर्छन्। तर जानकारस्रोतका अनुसार उनी प्रधानमन्त्री देउवादेखि प्रधानमन्त्री पत्नी आरजुसम्मलाई भेट्न पुगिसकेका छन्।अनि आरजु भुवनलाई बोर्ड अध्यक्ष बनाउन सकारात्मक पनि छिन्।

तर आरजुनिकटहरू भने उनीसँग सकारात्मक देखिएनन्। यौन दुर्व्यवहारदेखि व्यक्तिगत जीवन विवादित रहेका व्यक्तिलाई बोर्डको नेतृत्त्वमा लैजाँदा फिल्म क्षेत्रबाटै विरोध हुनसक्ने भन्दै आरजुनिकटहरूले अन्य विकल्पमा जान सुझाव दिएका छन्।

'बोर्डको अध्यक्षका आवेदनमध्ये उनी (भुवन) प्रति उहाँ (आरजु) सफ्ट देखिनुहुन्छ,' आरजुनिकट स्रोतले भन्यो, 'अहिले सार्वजनिक भइरहेका यौन दुर्व्यवहारको घटना र त्यसको प्रभाव सुनाएका छौँ। उनको मुद्दा विचाराधीन छ भनेका छौँ। फिल्म क्षेत्रको नेतृत्त्व गर्ने संस्थामा नायिकाले यौन दुर्व्यवहारको आरोप लगाएको व्यक्ति नियुक्त हुँदा सम्बन्धित नायिकासँगै फिल्म क्षेत्रका महिला कलाकारहरू विपक्षमा उभिए महिला नेतृ नै यौन दुर्व्यवहार गर्नेको पक्षमा रहेको सन्देश जाने र त्यसको प्रभाव चुनावमा समेत पर्ने सुझाव दिएका छौँ। तर उहाँको मुड के हो थाहा छैन।'

१० आवेदक, तीन प्रतिस्पर्धी
बोर्डको अध्यक्षका लागि केसीसँगै अरुणकुमार प्रधान, सुशील पोखरेल, सम्झना रौनियार उप्रेती, दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, नरेश पौडेल, सुष्मा कार्की, निर्मलराज ढकाल र मनिष पण्डितले आवेदन दिएका छन्।

आवेदकमध्ये अन्तर्वार्ता र पेस गरेको योजनाको आधारमा छनोट समितिले तीन जनाको नाम चयन गरेर नाम सिफारिस गर्नेछ। तीमध्ये एक जनालाई मन्त्रिपरिषद्ले नियुक्त गर्नेछ। जानकार स्रोतका अनुसार साउन पहिलो सातासम्ममा बोर्डको अध्यक्ष नियुक्त गर्नेगरी सञ्चार मन्त्रालयले तयारी गरिरहेको छ।

१० जनाले आवेदन दिए पनि प्रतिस्पर्धा भने तीन जनाबीच देखिन्छ। केसी, प्रधान र रौनियारमध्ये एक बोर्ड अध्यक्ष नियुक्त हुनसक्ने सम्भावना बढी देखिन्छ। केसीलाई नियुक्त गर्न प्रधानमन्त्री देउवादेखि आरजुसम्मलाई कन्भिन्स गर्न नीर शाह आफैँ सक्रिय देखिन्छन्। 

अर्का प्रतिस्पर्धी प्रधान सञ्चारमन्त्री ज्ञानेद्रबहादुर कार्कीको निर्वाचन क्षेत्रबासी हुन्। उनी कांग्रेस राजनीतिमा प्रत्यक्ष संलग्न छन्। उनको परिवारै कांग्रेसमा आबद्ध रहेको र निर्वाचनको समयमा प्रधान परिवारले समर्थन गर्दा र नगर्दाको प्रभाव निर्वाचनमा पर्न सक्ने भएकाले कार्की प्रधानलाई नियुक्त गर्नुपर्ने प्रेसरमा छन्। 

उनलाई बोर्डमा नियुक्त गर्न कार्कीलाई दबाब दिन हरेक दिनजसो कांग्रेसका स्थानीय नेताहरू कहिले घर त कहिले मन्त्रालय पुग्ने गरेका छन्।

अर्की प्रतिस्पर्धी रौनियार प्रकाशमान सिंह निकट हुन्। उनी पनि कांग्रेसको राजनीतिमा प्रत्यक्ष संलग्न छिन्। रौनियार यो बीचमा फिल्म 'मेघा'मा प्रयोग भएको गोपाल योञ्जनको गीतको दुरुपयोग गरेको विवादमा परेकी थिइन्।

'ममाथि कुनै आरोप लागेको छैन '

जब नेपालमा पाँच वर्षमा एउटा फिल्म बन्थ्यो त्यो बेलादेखि म फिल्म क्षेत्रमा सक्रिय छु। ४० वर्ष भयो म यो क्षेत्रमा लागेको। 

यो क्षेत्रबारे अझै बुझ्न बाँकी होला। तर अहिलेसम्म मैले जति बुझ्न सकेको छु त्यसको आधारमा नेतृत्त्वमा पुगेर केही योगदान दिन सक्छु कि भनेर बोर्डका लागि आवेदन दिएको हुँ। 

नेपाली चलचित्र क्षेत्रमा भएका समस्याबारे मलाई राम्रो जानकारी छ। यो क्षेत्रका फिल्म निर्माता, कलाकार अनि प्राविधिकहरूको समस्याबारे जानकार छु। 

नेपाली त्यही समस्या सम्बोधन गर्न सक्छु भनेर बोर्डको नेतृत्त्वका लागि आवेदन दिएको हुँ। म योग्य छु र मलाई सरकारले विश्वास गरेर नियुक्त गर्छ भन्ने आत्मविश्वासले नै मैले आवेदन दिएको हुँ। 

म नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाएर पार्टीमा प्रवेश गरेको हुँ। त्यसपछि मैले उहाँलाई भेटेको छैन। अन्यलाई पनि भेटेको छैन। 

ममाथि जे जस्तो आरोप लागेको भनेर सोधिरहनुभएको छ त्यो आरोप हैन। मलाई कसैले आरोप लगाएको छैन। म काठमाडौं जिल्ला अदालत गएको साम्राज्ञी राज्यलक्ष्मी शाहले बोल्नेक्रममा सिनियरको अलि सम्मान नगरेको लागेर हो। 

मविरुद्ध कोही अदालत गएका छैनन्। अब सामाजिक सञ्जालमा कसले के भन्छ त्यसको आधारमा मात्र आरोप लागेको भन्न नमिल्ला। त्यसैले अहिलेसम्म मविरुद्ध कोही अदालत नगएकाले ममाथि कुनै आरोप लागेको छैन। सरकारले मलाई बोर्डको नेतृत्त्व दिएमा फिल्म क्षेत्रका सबैले स्वागत नै गर्नेछन्।

(उकेराले केसीसँग गरेको कुराकानीको सम्पादित अंश)

३१ असार, २०७९, १८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।