नेपाली राजनीतिमा अमेरिकी हस्तक्षेप बढ्यो, अब एसपीपी पास गराउँछन् : नेता पोखरेल

नेपाली राजनीतिमा अमेरिकी हस्तक्षेप बढ्यो, अब एसपीपी पास गराउँछन् : नेता पोखरेल

बुटवल : राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेलले नेपालको राजनीतिमा अमेरिका हस्तक्षेप बढेको बताएका छन्।

शनिबार बुटवलमा भएको संघीयताविरुद्वको सभामा सम्बोधन गर्दै पोखरेलले नेपालको संसदबाट एमसीसी पास भएसँगै नेपालको राजनीतिमा अमेरिकाको हस्तक्षेप बढेको बताए।

‘चीनविरुद्व लड्न नेपालको भूमि प्रयोगका लागि अमेरिकाले विकासको नाममा एमसीसी संसदबाट पास गरायो,’ उनले भने, ‘अब अमेरिकाले एसपीपी परियोजना पास गराउने दाउमा छ।’

भारतविरुद्व लड्न अमेरिकाले नेपालमा आफूअनुकुलको सत्ता चलाउन खोजेको नेता पोखरेलको दाबी छ। भारत र अमेरिकाको हस्तक्षेपबाट नेपाललाई जोगाउन आमराष्ट्रवादी नेपाली सचेत हुनुपर्नेमा उनले जोड दिए।

संघीयता नेपालको लागि ठिक नभएको भन्दै उनले भारतको इसारामा ल्याइएको संघीयता असफल भैसकेको जिकिर गरे। नेपाल जस्तो सानो र अल्पविकसित देशको आर्थिक अवस्थाले संघीयता धान्न नसक्ने उनले भने।

उनले नेपालको नागरिकता नीति कठोर हुनुपर्ने बताउँदै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण भएकाले नेपाली अल्पमतमा पर्ने बताए।

लुम्बिनी प्रदेश सांसद् तारा थापाले मुलुकको राष्ट्रियताप्रति सत्तासिन दलहरू गम्भीर नदेखिएको बताइन्। उनले आफूलाई ठूला भन्ने एमाले, माओवादी, कांग्रेस, राजावादी र जातीवादीहरूबाट गणतन्त्र खतरामा रहेको दावी गरिन्।

१४ माघ, २०७९, १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।