कर्णालीमा माओवादी र एमालेबीच मन्त्रालयको भागबन्डा मिल्याे, बुधबार नियुक्ति र शपथ

कर्णालीमा माओवादी र एमालेबीच मन्त्रालयको भागबन्डा मिल्याे, बुधबार नियुक्ति र शपथ

सुर्खेत : कर्णालीमा एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागबन्डाकाे विषय टुङ्गिएको छ।

मंगलबार बसेको गठबन्धनको बैठकले माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास, आन्तरिक मामिला तथा कानून र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने सहमति भएको माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए।

यस्तै, एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने भएको छ। मल्लका अनुसार अब बुधबार बेलुकासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने छ।

यसअघि सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णय गरेको थियो। यसअघि आठ मन्त्रालय रहेकोमा अब कर्णालीमा सात मन्त्रालयमा मात्र रहनेछन्।

यसअघि एमाले र माओवादी केन्द्रबाट एक–एक जना मन्त्रीले शपथग्रहण गरिसकेका छन्। अब एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई गरी जम्मा चार जना मन्त्री बन्नेछन्।

१० माघ, २०७९, १९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।