नियुक्त भएकै दिन स्वास्थ्यमन्त्री कान्ति अस्पतालकाे अनुगमनममा, शाैचालय सुधार्न निर्देशन

नियुक्त भएकै दिन स्वास्थ्यमन्त्री कान्ति अस्पतालकाे अनुगमनममा, शाैचालय सुधार्न निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाले लगत्तै नवनियुक्त स्वास्थ्य मन्त्री पदम गिरी कान्ति बाल अस्पतालको स्थलगत अनुगमनमा गएका छन्।

बालबालिकाको उपचार गर्ने सरकारी र एक मात्रै केन्द्रीय अस्पतालको उपचार सेवाबारे बुझ्न उनी मन्त्री बनेको पहिलो दिन नै कान्ति बाल अस्पताल पुगेका हुन्।

अनुगमनका क्रममा उनले अस्पतालको इमरजेन्सी, आईसीयू, पिआईसीयू, अंकोलोजी लगायतका वार्डहरूको अवलोकन गरेका थिए।

यस्तै बिरामी कुरुवा कक्ष, विरामी र कुरुवाहरूले प्रयोग गर्ने शौचालय लगायतको समेत निरीक्षण गरेका थिए। सोही क्रममा उनले बिरामीका आफन्तसँग अस्पतालको सेवाको बारेमा समेत बुझ्ने प्रयास गरेका थिए।

‘आम जनताका छोराछोरीले उपचार पाउने केन्द्रीय बाल अस्पतालको बारेमा पहिलेदेखि नै धेरै गुनासाहरू भएको सुनेको थिएँ। पहिलो सुरुवात कान्तिबाटै गरौँ भन्ने लाग्यो र आएँ,’ निरीक्षण पछि उनले भने।

सो क्रममा उनले अस्पतालमा बिरामी कुरुवाहरूले प्रयोग गर्ने शौचालय साह्रै नै फोहर भएको भन्दै त्यसलाई तत्काल सुधार गर्न निर्देशन दिए। यस्तै बिरामी कुरुवाहरूका लागि बस्ने व्यवस्था मिलाउन समेत निर्देशन दिए।

अस्पतालका निर्देशक डा युवानिधी बसौला र प्रा. लक्ष्मी तुईतुईले उनलाई अस्पताल निरीक्षण गराएका थिए।

सो क्रममा निर्देशक डा. बसौलाले कान्ति अस्पतालले दिएका सेवा तथा सुरू गर्न लागेका नयाँ सेवाका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए।

३ माघ, २०७९, २१:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।