क्रिकेटदेखि फुटबलसम्मको प्रसारणको आवरणमा जुवा खेलाउने कम्पनी नेपालमा सक्रिय, म्याचफिक्सिङको गम्भीर विवादमा नेपाल टी-२०

क्रिकेटदेखि फुटबलसम्मको प्रसारणको आवरणमा जुवा खेलाउने कम्पनी नेपालमा सक्रिय, म्याचफिक्सिङको गम्भीर विवादमा नेपाल टी-२०

काठमाडौँ : विवादकैविच पेलेर क्रिकेट एसोसिएसन अफ नेपालले भारतीय कम्पनीसँगको साझेदारीमा भइरहेको नेपाल टी-२० क्रिकेट लिग म्याच फिक्सिङको गम्भीर आरोपमा घेरिएको छ। क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै लिग आयोजना गरिरहेको छ।

लिगको ६० प्रतिशत खेल सकिइसकेपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नै साझेदार भारतीय कम्पनीका मुख्य व्यक्ति सम्पर्कमा नरहेको स्वीकार गरेपछि मङ्गलवारको पहिलो खेल झन्डै स्थगित भयो। पारिश्रमिकै नपाएको भन्दै काठमाडौँ नाइट्स र विराटनगर सुपर किङ्सका खेलाडीले खेल्न अस्वीकार गरेपछि वार्तापछि २ घण्टापछि खेल सुरु भएको थियो।

खेल सम्बन्धी जुवा खेलाउने कम्पनी वनएक्सबेटको साटो वनएक्सब्याटलाई प्रसारणको अधिकार दिँदा नै लिगको निष्पक्षता शङ्काको घेरामा परेको थियो। यहीबिच कीर्तिपुर प्रहरीले लिगमा आधारित भएर अनलाइनमार्फत जुवा खेलाएको आरोपमा चार जनालाई पक्राउ गर्यो। उता प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली समेत खेलको निगरानीमा खटिएका थिए।

‘अनलाइन जुवा खेलाउन सक्ने आशङ्कामा सर्भिलेन्स गरिराखेका छौँ। केही व्यक्तिहरूको शङ्कास्पद गतिविधि भएकाले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ’, केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता कमल थापाले उकेरासँग भनेका थिए, ‘प्रमाण भेटिएमा कडा कारबाही गर्छौ।’

प्रतियोगिताका डाइरेक्टर तथा नेपाल क्रिकेट सङ्घ, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले उकेरासँग अनलाइन बेटिङ नेपालमा लिगल नभएकाले मैदानमा खेल हेर्न आएकाहरूले शङ्कास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गर्ने गरेको दाबी गर्दै क्यानले नै अनुसन्धान टोली बनाएको दाबी गरेका थिए।

मङ्गलवार लिग म्याचफिक्सिङमा समेत जोडियो। लिगसँगै जोडिएका २ व्यक्तिले लिगमा म्याच फिक्सिङ भइरहेको सार्वजनिक अभिव्यक्ति नै दिए।

फेसबुकमा लाइभ गर्दै लिगमा कमेन्टेटरका रूपमा आबद्ध सचिन तिमिल्सिनाले नेपाल टी-२० मा स्पट फिक्सिङ भएको दाबी गर्दै अब आफू लिगसँग आबद्ध नभएको सार्वजनिक गरेका थिए।

लगत्तै नेपाली क्रिकेट टिमका पूर्व कप्तान एवं काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पत्रकारहरूसँगको कुराकानीमा फिक्सरले आफ्नो टिमका एक खेलाडीलाई म्याच फिक्सिङका लागि प्रस्ताव गरेको दाबी गरे।

उनले काठमाडौँ नाइट्सका एक खेलाडीलाई अप्रोच गरेको र यसबारे अनुशासन समितिलाई जानकारी दिइसकेको बताएका थिए।

लिग प्रारम्भदेखि नै विवादमा आइरहेको थियो। पटक-पटक सर्दै गएको लिग सुरु भए पनि भारतीय साझेदार र क्यानका नेतृत्वको गतिविधिले लिगको निष्पक्षता शंकामा परेको थियो। लिगको प्रसारण सम्बन्धी साझेदार नै अनलाइन जुवामा सक्रिय रहनु, खेलको नतिजाबारे सामाजिक सञ्जालमार्फत जुवा सञ्चालन हुनु अनि लिगसँग जोडिएका २ व्यक्तिले म्याच फिक्सिङको गम्भीर आरोप लगाउनुले लिग गम्भीर विवादमा तानिएको छ।

फुटबलदेखि क्रिकेटसम्म प्रसारणको आवरणमा खेलाइन्छ जुवा

नेपालमा हुने फुटबल र क्रिकेट प्रतियोगिताको प्रसारण अधिकार लिएर सहजै डेटामा पहुँच बनाई त्यसलाई जुवा खेलाउन प्रयोग हुने गरेको यस अगाडि नै खुलेको थियो।

उकेराले अखिल नेपाल फुटबल सङ्घले अनलाइन जुवा खेलाउन मिल्ने गरी एक अन्तर्राष्ट्रिय कम्पनीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रसारण अधिकार दिएकोबारे उकेराले समाचार प्रकाशित गरेको थियो।

मुलुकी अपराध संहिता २०७४ ले पनि त्यही भन्छ। संहिताको दफा १२५ ले जुवा खेल्न वा सट्टावाजी गर्न प्रतिबन्ध लगाउँदै यस्तो काम गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैदको व्यवस्था गरेको छ।

उकेराले एन्फाले आफूले आयोजना गर्ने फुटबल प्रतियोगिता, राष्ट्रिय टोली सहभागी हुने प्रतियोगिता मात्रै हैन नेपालमा आयोजना हुने फिफा, एएफसि अनि साफ प्रतियोगितादेखि फ्रेण्डली म्याचको समेत प्रत्यक्ष प्रसारण गर्ने अनुमति दिने बहानामा स्विजरल्यान्डको इम्पावर स्पोर्टस् एजीसँग गरेको सम्झौता पत्र नै सार्वजनिक गरेको थियो।

सम्झौतामा एन्फाले आयोजना गर्ने र नेपालमा आयोजना हुने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको टेलिभिजनदेखि अनलाइन प्लेटफर्महरूमा सो कम्पनीले प्रत्यक्ष प्रसारण गर्न पाउने मात्रै उल्लेख गरिएन। ती प्रतियोगिताका दृश्य अनि आवाज उसले अनलाइन जुवा खेलाउने कुनै पनि तेस्रो कम्पनीलाई विक्री गर्न सक्ने, डेडा प्रयोगको अधिकार दिन सक्ने समेत उल्लेख गरिएको थियो।

सो समाचार प्रकाशित हुँदा एन्फा निर्वाचनको सङ्घारमा थियो। अध्यक्षका प्रत्याशी पङ्कजविक्रम नेम्वाङले सो सम्झौता नेपालको कानुन विपरीत रहेको भन्दै त्यसबारे छानबिन गर्दै दोषीमाथि कारबाही हुनुपर्ने दाबी गरेका थिए। उनी निर्वाचित भएपछि उकेरासँगको कुराकानीमा यसबारे छानबिन गर्ने दाबी त गरे तर केही गरेनन्। गम्भीर अपराधको छानबिनमा ब्युरोका अधिकारीहरू समेत निष्क्रिय बसे।

अहिले पुन क्रिकेटको लिगमा उही समस्या दोहोरिएको छ।

एन्फाको विवादित सम्झौता

सम्बन्धित समाचार

१९ पुस, २०७९, १४:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।