नेपाल टी-ट्वान्टी क्रिकेट लिगको खेलमा सट्टाबाजी, लाइभ भिडियो राखेर खेलाइन्छ जुवा

नेपाल टी-ट्वान्टी क्रिकेट लिगको खेलमा सट्टाबाजी, लाइभ भिडियो राखेर खेलाइन्छ जुवा

काठमाडौं। नेपाल टी-ट्वान्टी क्रिकेट लिगका खेलहरूबारे सट्टाबाजी भइरहेको खुलेको छ। कीर्तिपुर क्रिकेट मैदानमा भइरहेको प्रतियोगितालाई आधार बनाएर खुल्ला रुपमा अनलाइन मार्फत सट्टाबाजी भएको देखिन्छ।

फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत खेलको पूर्वानुमान गराएर बाजि राख्न लगाउने समूह सक्रिय छन्। उनीहरूले प्रतियोगिता भइरहेको बेलामा लाइभमार्फत बाजि खेलाउने गरेका छन्।

यसमा फेसबुकको खालीबल नामक फेसबुक पेज प्रयोग भइरहेको छ। सो पेजमा नेपाल टी-ट्वान्टी लिगका खेल लाइभ गर्दै अनलाइन जुवाको लागि कोड नै राखिन्छ, स्क्रिनमै।

पोखरा एभेन्जर्स र विराटनगर सुपर किंग्सबीचको खेलको प्रत्यक्ष प्रशारणमा जुवाको कोड सहित भिडियो प्रत्यक्ष प्रशारण भइरहेको थियो। उक्त पेज त्यति सक्रिय देखिंदैन। बुधवार मात्र बनाइएको पेजमा २८६ जनाले लाइक गरेका थिए।

यो पेज अनलाइन जुवा खेलाउनै खोलेको देखियो। यसलाई क्रिकेटबारे सक्रिय रहेकाे अर्को फेसबुक ग्रुप पेज वर्ल्डकप क्रिकेट नेपालले अर्को पेजबाट सेयर गरिएको थियो। 

धरानका मेयर हर्क साम्पाङको तस्बिर राखेर बनाएको यो पेज २०२२ मार्च २१ मा वर्ल्डकप क्रिकेट समूह पेजको सदस्य बनेको देखिन्छ। जुम्ला जिल्ला लेखिएको यो पेजको उद्देश्य अनलाइन जुवा खेलाउने नै देखिन्छ।

सन् २०१३ मा खुलेको वर्ल्डकप क्रिकेट नेपाल फेसबुक ग्रुप पेजमा १३ जना एडमिन र मोडरेटर देखिन्छन्। त्यसमा आशा निरौला, शुशान्त आचार्य, श्रीराम कँडेलसँगै बालेन शाह सपोर्टर जस्ता पेजलाई समेत एडमिन र मोडरेटर बनाएकाले यो समूह पेजमा संलग्न रहेकाहरू समेत क्रिकेट सट्टामा संलग्न रहेको देखाउँछ। 

बुधवार प्रहरीले नेपाल टी-ट्वान्टी लिगको खेलमा अनलाईन वेटिङमार्फत् सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ४२ वर्षीय रविन तुलाधर समेत ४ जनालाई पक्राउ समेत गरेको थियो।

विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्सबीच भएको खेलमा मोवाईल फोनको प्रयोग गरी हार/जितको लागि अनलाइन बेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

‘अनलाइन जुवा खेलाउन सक्ने आसंकामा सर्भिलेन्स गरिराखेका छौं। केही व्यक्तिहरूकाे संकास्पद गतिविधि भएकाले नियन्त्रणमा लिएर अनुसन्धान भैरहेकाे छ ’, केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता कमल थापाले उकेरासँग भने, ‘अहिलेसम्म तथ्य प्रमाण भटिएकाे छैन। प्रमाण भेटिएमा कडा कारबाही गर्छाैं।’

उता प्रतियाेगताकाे डाइरेक्टर तथा नेपाल क्रिकेट संघ, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल क्यान कै सहयाेगमा प्रहरीले टीयू मैदानमा बसेर संकास्पद गतिविधि गर्नेलाई पक्राउ गरिएकाे बताउँछन्।

उकेरासँग उनले भने, ‘अनलाइन बेटिङ नेपालमा लिगल छैन। त्यसैले हामीले मैदानमा खेल हेर्न आएकाहरूले शंकास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गर्छाैं। यसका लागि हामीले अनुगमन टाेली नै बनाएका छाैं।’

‘विदेशमा त बेटिङ लिगल छ। त्यसैले हाम्राे खेलमा कसैले विदेशमा बसेर बेटिङ गर्छ भने त्याे त हामी कसरी राेक्न सक्छाैं र? याे अवस्थामा त झन् नेपाली लिगकाे प्रचार विश्वभर भैरहेकाे जस्ताे लाग्छ मलाई’ उनले थपे।

नेपाल टी-ट्वान्टी लिगको खेलहरू भइरहेको टीयू मैदान कीर्तिपुरमा जताततै वनएक्सब्याटको बोर्ड देखिन्छ। लोगो हेर्दा खेलको अनुमान लगायतको जुवा खेलाउने वनएक्सबेटको जस्तै रहेको सो कम्पनीको साइटमा गएर हेर्ने हो भने मिडिया देखिन्छ। मिडियाको आवरणमा बेटिङ गराउने कम्पनीको रुपमा यो सक्रिय रहेको जानकार स्रोत बताउँछ।

तर डाइरेक्टर मल्ल भने वनएक्सबेटले विदेशमा बेटिङ गराए पनि नेपालका लागि याे एक मिडिया कम्पनी मात्र रहेकाे दाबी गर्छन्।

धेरै बेटिङ भयाे भने त म्याच फिक्सिङलाई प्राेत्साहन गर्ला नि त भन्ने हाम्राे प्रश्नमा उनले भने, ‘बेटिङ र फिक्सिङ अलग पाटाे हाे। याे लिगका लागि स्वयम् आइसीसीबाट अनुशासन अनुगमनका लागि प्रतिनिधि आएका छन्। त्यस्ताे भएमा त आइसीसीले कारबाही गरिहाल्छ नि।’

 

१४ पुस, २०७९, १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।