फुटबल म्याचको अनलाइन जुवा खेलाउन अनुमति दिने शेर्पा एन्फा अध्यक्षमा पराजित, नेम्वाङले जिते

फुटबल म्याचको अनलाइन जुवा खेलाउन अनुमति दिने शेर्पा एन्फा अध्यक्षमा पराजित, नेम्वाङले जिते

काठमाडौँ : फुटबल प्रतियोगिता प्रसारण गर्ने अनुमतिको बहानामा अनलाइन जुवा खेलाउने अनुमति दिएका कर्मा छिरिङ शेर्पा  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अध्यक्षमा पराजित भएका छन्।

गम्भीर आरोप लागेका उनी पुन दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका थिए। उकेराले उनले गैर कानुनी रूपमा स्विट्जरल्यान्डको एक कम्पनीलाई अनलाइन बेट खेलाउने वेबसाइट र एप्सहरुबाट बेट खेलाउन पाउने गरी गरेको सम्झौता सार्वजनिक गरेको थियो।

उनलाई निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङले पराजित गरेका हुन्।  सोमबार भएको निर्वाचनमा शेर्पाले ३९ मत पाउँदा नेम्वाङले ४५ मत पाएका थिए। अध्यक्षका अर्का उम्मेदवार राजीव पौडेलले आफैँलाई समेत मत हानेनन्। उनले एक मत पनि पाएनन्।

सोमबार उकेरासँग कुरा गर्दै नेम्वाङले सो सम्झौताबारे अर्को कार्यसमितिको बैठकले निर्णय गर्ने बताएका थिए। उकेराले सो सम्झौतासहित समाचार सार्वजनिक गरेपछि उनले प्रतिक्रिया दिँदै सो सम्झौता गैर कानुनी भएको भन्दै सम्झौतामा संलग्नमाथि कारबाही हुनुपर्ने माग गरेका थिए।

६ असार, २०७९, २०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।