एन्फाको दाबी 'जुवा खेल्न/ खेलाउन पाउने देशका लागि अनुमति, जुवा खेलाएको पैसा लिएका छैनौँ'

एन्फाको दाबी 'जुवा खेल्न/ खेलाउन पाउने देशका लागि अनुमति, जुवा खेलाएको पैसा लिएका छैनौँ'

काठमाडौँ : स्विट्जरल्यान्डको एक कम्पनीलाई नेपालमा आयोजना हुने राष्ट्रिय अनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताबारे अनलाइन जुवा खेलाउने पाउने गरी एन्फाका महासचिवले सम्झौता गरेको खुलासा भएसँगै एन्फाले अनलाइन जुवा खेलाउन कुनै पदाधिकारी संलग्न नभएको दाबी गरेका छन्।

उकेराले शुक्रवार एन्फाका महासचिव इन्द्रमान तुलाधरको हस्ताक्षर रहेको स्विट्जरल्यान्डको कम्पनी इम्पावर स्पोर्टस् एजीसँग अनलाइन बेटिङ समेत गर्न पाउने गरी भएको प्रसारण सम्झौता पत्र सहित उनीहरूको आपराधिक काम सार्वजनिक गरेको थियो।

शुक्रवार एन्फाका महासचिव तुलाधरले उकेरासँग अनलाइन बेटिङ नेपालको लागि नभई जुन देशमा अनलाइन जुवा खेलाउने पाउने कानुन छ त्यही देशमा खेलाउन पाउने गरी सम्झौता भएको स्वीकार गरेका थिए।

'त्यो सम्झौता हाम्रो देशको लागि होइन। हामीले खेलाउने पनि होइनौँ। कानुनी रूपमा बेटिङ गराउन मिल्ने देशमा बेटिङ गर्न पाउने गरी अनुमति दिने त अन्तर्राष्ट्रिय चलन नै हो,' तुलाधरको तर्क थियो।

नेपालको कानुन अनुसार अनलाइन जुवा खेलाउने अनुमति दिनु गैर कानुनी हो। नेपाली कानुन अनुसार दर्ता भएका कुनै पनि संस्थाले नेपालको कानुनले वर्जित गरेको कुनै पनि विषय अन्य पक्षले गर्न पाउने गरी अनुमति दिन पाउँदैनन्। अनुमति दिए त्यो कारबाहीयोग्य काम हो।

EXCLUSIVE : फुटबल प्रतियोगिताको जुवा खेलाउन एन्फा पदाधिकारी नै संलग्न,  स्विट्जरल्यान्डको कम्पनीसँग गोप्य सम्झौता

एन्फाको विज्ञप्तिमा अनलाइन जुवा खेल्न पाउने गरी सम्झौता गरेको आरोप आधारहीन भएको दाबी गरेको छ। जबकि समाचारमा दुबैपक्षविच भएको सम्झौता पत्र नै राखिएको छ जसमा खेल सम्बन्धी जुवा खेलाउने वेबसाइट, एप्स मात्रै हैन सप्पसहरुलाई समेत स्विटजरल्यान्डको सो कम्पनीले नेपालमा आयोजना हुने राष्ट्रिय, अन्तर्राष्ट्रिय म्याचहरूको प्रसारणसँगै जुवा समेत खेलाउन पाउने बुँदाहरू राखिएका छन्।

सम्झौता पत्रमा एन्फाले आयोजना गर्ने ए, बि र सी लिगसँगै महिला फुटबल प्रतियोगिता, फिफा र एएफसिसँथै साफ र मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको समेत प्रसारणसँगै जुवा खेलाउने कम्पनीहरूलाई दृश्य र आवाज दिन पाउने प्रस्टै लेखिएका छन्।

तर एन्फाले जारी गरेको विज्ञप्तिमा सो समाचारलाई तथ्यहीन आरोप भएको दाबी गर्दै बेटिङ सम्बन्धी कुनै पनि सम्झौतामा हस्ताक्षर नगरेको दाबी गरेको छ। 

सोही विज्ञप्तिमा एन्फाले सम्झौता पत्रमा बेटिङ सम्बन्धी प्रावधान रहेको तर सो प्रावधान इम्पावर स्पोर्टसले प्रतियोगिता सम्बन्धी तथ्याङ्क अनलाइन जुवा खेलाउनु कानुनी भएको देशहरूमा मात्र प्रयोग गर्ने तर्क गरिएको छ। यसले एन्फा पदाधिकारीले गरेको सम्झौतामा अनलाइन जुवा खेलाउन पाउने अनुमति दिएको पुष्टि हुन्छ नै। उसले सो कम्पनीले अनलाइन जुवा खेलाएर गर्ने आम्दानीबाट एन्फाले कुनै पैसा नलिने उल्लेख गरेका छन्।

'कुन देशमा के खुल्ला छ अनि के प्रतिबन्ध छ भनेर हेरिँदैन। जुन देशको संस्था वा व्यक्ति हो उसलाई लागु हुने त्यही देशको कानुन हो,'प्रहरी प्रवक्ता विष्णुकुमार केसीले शुक्रवार उकेरासँग भने' नेपालका लागि हैन जुन देशमा कानुनी मान्यता छ त्यही देशका लागि हो भन्नु गलत हो। विभिन्न देशले गाँजा उत्पादन र सेवनलाई खुल्ला गरिसकेको छ। अब त्यो भनेर नेपालमा गाँजा उत्पादन गरेर अनुमति पाएको देशमा मात्र पठाउने हो भनेर अनुमति पाइन्छ?'

यसबारे थप प्रतिक्रियाका लागि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग सम्पर्क राख्दा उनले आफु यसबारे केही नबोल्ने भन्दै विज्ञप्तीमा जे छ त्यही आफ्नो धारणा रहेको बताए।

४ असार, २०७९, १३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।