जुवा अनुमतिले बखेडा हुने भएपछि एन्फा अध्यक्षले सारे बैठक

जुवा अनुमतिले बखेडा हुने भएपछि एन्फा अध्यक्षले सारे बैठक

काठमाडौँ : फुटबल प्रतियोगिता प्रसारणको आवरणमा अनलाइन जुवा खेल्ने अनुमति दिएको खुलेसँगै सङ्कटमा परेका अखिल नेपाल फुटबल सघंका अध्यक्ष कर्मा छिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरले कार्यसमिति बैठकै सारेका छन्।

यो कार्यकालको अन्तिम बैठक आइतबार बेलुका पाँच बजे बोलाइएको थियो। सो बैठकमा कार्यसमितिका अन्य पदाधिकारीहरूले कानुन मिचेर नेपालमा आयोजना हुने फुटबल प्रतियोगिताबारे अनलाइन बेट गराउने गरी सम्झौता भएकोबारे छलफल गर्ने तयारी गरेका थिए।

गैर कानुनी सम्झौताबारे बैठकमा उठ्न सक्ने विषयले अप्ठ्यारो पर्ने देखेपछि अध्यक्ष शेर्पाले आइतबारको बैठक सोमबार बिहान साढे आठलाई सारेका छन्।

 'अध्यक्षज्यूले भोलि बिहान ८.३० बजेलाई मिटिङ सार्नुभएको छ, एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङले उकेरासँग भने।

सोमबारबाट एन्फाको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ। शेर्पा पुन दोस्रो पटक अध्यक्षको उम्मेदवार बन्दै छन्। शेर्पा र तुलाधर मिलेर स्विट्जरल्याण्डको एक कम्पनीलाई नेपालमा आयोजना हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रसारणसँगै त्यसको अडियो र भिडियो सहितको डेटालाई अनलाइन जुवा खेलाउन समेत पाउने गरी सम्झौता गरेकोबारे शुक्रवार उकेराले सम्झौता पत्र सहित समाचार प्रकाशित गरेको थियो।

५ असार, २०७९, २२:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।