कार्यसमितिलाई जानकारी नै नदिई अध्यक्ष र महासचिवले फुटबल प्रतियोगिताको जुवा खेलाउने सम्झौता गरेको दाबी, पदाधिकारीले गरे छानबिनको माग

कार्यसमितिलाई जानकारी नै नदिई अध्यक्ष र महासचिवले फुटबल प्रतियोगिताको जुवा खेलाउने सम्झौता गरेको दाबी, पदाधिकारीले गरे छानबिनको माग

काठमाडौँ : नेपालमा आयोजना हुने फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारणसँगै अनलाइन जुवा समेत खेलाउन पाउने गरी अखिल नेपाल फुटबल सङ्घ र स्वीट्जरल्याण्डको कम्पनी इम्पावर स्पोर्टस एजीबिच भएको सम्झौताबारे एन्फा अध्यक्ष कर्माछीरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरले कार्यसमितिमा छलफलै नगरी सहमति गरेको दाबी आएका छन्।

उकेराले शुक्रवार एन्फाले नेपालको कानुन विपरीत नेपालमा हुने खेलको प्रत्यक्ष प्रसारणसँगै अनलाइन जुवा खेलाउन पाउने गरी स्विट्जरल्यान्डको कम्पनीसँग सम्झौता गरेको समाचार प्रकाशित गरेको थियो।

एन्फाले शनिवार विज्ञप्ति प्रकाशित गरेर जुन देशमा जुवा खेलाउनु कानुनी रूपमा वैध छ त्यो देशमा खेलाउन मात्रै अनुमति दिएको कुतर्क गरेको छ। कानुन अनुसार नेपालमा दर्ता भएका र नेपाली नागरिकताप्राप्त व्यक्तिले कानुन विपरीतको अनुमति दिनु दण्डनीय अपराध हो।

एन्फा र इम्पावरविच सन् २०१८ सेप्टेम्बर १८ मा टेलिभिजनदेखि लिएर अनलाइन प्लेटफर्महरूमा नेपालमा हुने फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्न पाउनेबारे सम्झौता भएको थियो। सो सम्झौता अनुसार एन्फाले वार्षिक २४ हजार पाँच सय अमेरिकी डलर पाउने गरी सहमति भएको थियो। सम्झौताको अवधि सकिएपछि सन् सन् २०२१ सेप्टेम्बर २१ मा एक वर्षका लागि सम्झौता नविकरणहुँदा त्यसमा अनलाइन जुवाका टन्नै प्रावधानहरू राखियो। अनि एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको निर्देशनमा त्यो सम्झौतामा एन्फाका महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेका छन्।

उकेराले प्राप्त गरेको सहमति पत्रमा प्रस्टै इम्पावरलाई नेपालमा एन्फाले आयोजना गर्ने र नेपालमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको अडियो र भिडियोमा अधिकारसँगै अनलाइनमा जुवा खेलाउने कम्पनी र बेटिङ सप्सहरुलाई समेत ती सामाग्रीमा पहुँच दिने, अनलाइन मार्फत जुवा खेलाउने वेबसाइट, मोबाइल एप्ससँगै बेटिङ प्लेटफर्महरूमा समेत ती सामाग्री राख्ने अनुमति दिने उल्लेख छ।

उकेराले एन्फाका पदाधिकारीहरूसँग सो सम्झौता के आधारमा गरियो भन्ने जिज्ञासा राखेको थियो। उकेराको सम्पर्कमा आएका अधिकांश पदाधिकारीहरूले सम्झौताबारे केही जानकारी नदिएको र कारबाही गर्नुपर्ने माग समेत गरेका छन्।

एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङ स्वीजरल्याण्डको कम्पनीसँग भएको सम्झौताबारे कार्यसमितिमा कुनै जानकारी नदिएको दाबी गर्छन्।

EXCLUSIVE : फुटबल प्रतियोगिताको जुवा खेलाउन एन्फा पदाधिकारी नै संलग्न,  स्विट्जरल्यान्डको कम्पनीसँग गोप्य सम्झौता

एन्फाको दाबी 'जुवा खेल्न/ खेलाउन पाउने देशका लागि अनुमति, जुवा खेलाएको पैसा लिएका छैनौँ'

‘कार्यसमितिको बैठकमा के-के सम्झौता हुँदै छ भन्नुपर्नेमा हामीलाई जानकारी दिइएन,’उनले उकेरासँग भने, ‘यदि मिडियामा आए अनुसार बेटिङको सम्झौता भएको हो भने यो गैर कानुनी हो। यसको छानबिन हुनै पर्छ।’

एन्फा कार्यसमिति सदस्य दावा लामाले समेत नेपालमा आयोजना हुने प्रतियोगिताबारे बेटिङ गराउन पाउने गरी अनुमति दिनु गैर कानुनी काम भएकाले अध्यक्ष र महासचिवमाथि छानबिन गरी कानुन अनुसार कारबाही गर्नुपर्ने बताए।

‘नेपालमा गाँजा बेच्न पाइँदैन। नेपालले गाँजा बेच्न खुला भएको देशमा चाहिँ बेच्न पाउँछ त?,’उनले भने, ‘गैर कानुनी भएपछि पनि अन्य देशमा खेलाउन पाइन्छ भनेर अन्य देशलाई हुने गरी सम्झौता नै गर्ने नै होइन कारबाही त हुनै पर्छ।’

अध्यक्ष कर्मा छिरिङ शेर्पाले यस विषयमा आफ्नो धारणा केही नभएको भन्दै महासचिवले जे भनेको हो आफ्नो धारणा त्यही भएको बताए। महासचिव तुलाधरले उकेरासँग कानुनी रूपमा बेटिङ गर्न पाउने देशमा मात्र बेटिङ गर्न पाउने गरी सम्झौता भएको स्विकारेका थिए। त्यो शनिवारको विज्ञप्तिमा पनि उल्लेख छ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङले बेटिङ गर्न पाउने गरी सम्झौता गर्नेबारे कार्यसमितिमा छलफल भएको भए आफूहरूले रोक्ने दाबी गर्दै आइतबार बस्ने बैठकमा अध्यक्ष र महासचिवसँग यसबारे जानकारी लिने बताए।

'यदि सम्झौता भएको हो रहेछ भने यो सम्झौता हुनै नहुने हो। नेपालको कानुनले बेटिगं सम्झौता गर्न दिँदैन।यसको छानबिन हुनुपर्छ,' उनले भने।

सदस्य लामा कार्यसमितिलाई सम्झौताबारे केही जानकारी नै नदिएको भन्दै अध्यक्ष र महासचिव मिलेर सम्झौता गरिएकाले उनीहरूमाथि कारबाही हुनुपर्ने बताए।

'उहाँहरूले कार्यसमितिमा जानकारी नै नदिएकाले यो सम्झौताको दोषी उहाँहरू नै हो। बेटिङ गैर कानुनी हो। समाचारमा आए अनुसार बेटिङ भएको हो भने उहाँहरूलाई कारबाही हुनु पर्छ,' उनले भने' एन्फाको जिम्मेवार पदमा बसेकाले गैर कानुनी सम्झौता गर्दा जेल पर्नु पर्छ कि पर्दैन?'

एन्फाका पूर्व प्रवक्ता किरण राईले यस्तो सम्झौता हुनु  दुर्भाग्यपूर्ण रहेको बताए। उनले यस्तो महत्त्वपूर्ण सम्झौता एन्फाका दुई पदाधिकारीले कार्यसमितिमा जानकारी नदिएको भन्दै उकेरामा आएको सम्झौता हेर्दा छाँगाबाट खसे जस्तो भएको बताए।

'गैर कानुनी काम एन्फाले किन गर्यो? कार्यसमितिमा किन ल्याइएन? यो सम्झौता प्रति मेरो घोर आपत्ति छ। भोलि बैठक छ उहाँहरू समक्ष यो कुरा त राखिन्छ नै,' उनले भने।

एन्फाका उपाध्यक्ष वीर बहादुर खड्काले पनि बेटिङ गैर कानुनी भएको र सम्झौताबारे कार्यसमितिमा कुनै जानकारी नदिएको बताए।

'कार्यसमितिलाई जानकारी नगराई भएको यो सम्झौता मिडियाबाट थाहा पायौँ। यसको दोषी अध्यक्ष र महासचिव हो,' उनले भने' यो विषयमा नेपाल प्रहरीले अनुसन्धान गर्नुपर्छ। यदि यो भएको हो भने, उहाँहरूलाई कानुन बमोजिम कारबाही हुनुपर्छ।'

४ असार, २०७९, १७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।