प्रतिनिधि सभा: कर्णालीमा एमाले शून्य, गठबन्धन गर्दा कांग्रेस र एकीकृत समाजवादीलाई फलिफाप

प्रतिनिधि सभा: कर्णालीमा एमाले शून्य, गठबन्धन गर्दा कांग्रेस र एकीकृत समाजवादीलाई फलिफाप

सुर्खेत: कर्णाली प्रदेशमा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा १२ निर्वाचन क्षेत्र छ। जसमा कांग्रेस र माओवादीले चार–चार, समाजवादीले तीन र राप्रपाले एक निर्वाचन क्षेत्रमा जित हात पार्यो।

यसअघि २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ६ क्षेत्रमा जित हात पारेको एमाले यसपटक शून्यमा झरेको छ। ०७४ मा शून्यमा झरेको कांग्रेसलाई भने गठबन्धनको आडले फलिफाप भएको छ। गठबन्धनकै बलमा समाजवादीलाई पनि ठूलो फाइदा भएको छ।

गठबन्धनकै बलमा कांग्रेसले चार, एकीकृत समाजवादीले तीन सिट जित्दा गठबन्धनकै माओवादी केन्द्रलाई भने घाटा लागेको छ। माओवादीले ०७४ मा ४ सिट ल्याएको थियो। गठबन्धनको भागबण्डामा परेका पाँच वटा निर्वाचन क्षेत्रमध्ये माओवादीले एक सिट गुमाएर चारमा मात्र जित हात पार्यो।

माओवादीले रूकुम–पश्चिम, जाजरकोट, कालिकोट र हुम्लामा जितेको छ। आफ्नो भागमा परेको जुम्लामा भने माओवादीले गुमाएको छ। जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए।

गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी गोमा गौतम कुँवर शाहीसँग पराजित भएकी हुन्। 

कुँवर र दैलेखबाट राप्रपाकी महामन्त्री कुन्ती शाहीको हारसँगै कर्णालीबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा महिला सहभागितासमेत शून्य भएको छ।

पहिलो पटक चुनाव लडेका ३१ वर्षीय शाहीले १० हजार ८६० मतान्तरले कुँवरलाई हराएका हुन्। शाहीले २२ हजार ८१९ मत पाउँदा कुँवरले ११ हजार ९५९ मत पाइन्।

जुम्लामा एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत पाए।

जहाँ माओवादीले जित्यो
माओवादीले कालीकोटमा आफ्नो विरासत जोगायो। माओवादीका महेन्द्रबहादुर शाहीले आठ हजार ६४ मतान्तरले एमालेका नगीन्द्र शाही ‘नेशनल’ लाई पराजित गरे।

शाही २४ हजार ४७४ मतसहित निर्वाचित हुँदा नगीन्द्रले १६ हजार ४१० मत पाए। यस क्षेत्रबाट ०७० मा महेन्द्र र ०७४ मा दुर्ग रावतले प्रतिनिधि सभा सदस्य जितेका थिए। ०७४ मा प्रदेशमा झरेर मुख्यमन्त्री बनेका महेन्द्र शाही यसपटक भने प्रतिनिधि सभातर्फ गएका हुन्।

यस्तै रुकुमपश्चिममा पनि माओवादीले आफ्नो वर्चश्व कायम राखेको छ। खसेको कुल मतमध्ये ६९.०३ प्रतिशत मत आफ्नो पक्षमा पारेर माओवादीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ पुनः निर्वाचित भए।

एमाले उम्मेदवार नन्दराम देवकोटालाई २६ हजार ५८८ मतान्तरले पराजित गर्दै शर्मा निर्वाचित भएका हुन्। उनले ३९ हजार ५४९ मत पाउँदा एमालेका देवकोटाले १२ हजार ९६१ मत पाए।

०६४, ०७०, ०७४ मा पनि भारी मतान्तरसहित शर्मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

जाजरकोटमा पनि माओवादीले आफ्नो सिट सुरक्षित राखेको छ।  माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेतले एमालेका निरजप्रसाद आचार्यलाई नौ हजार ३१ मतान्तरले पराजित गर्दै ‘ह्याट्रिक’ गरे। 

बस्नेतले ३४ हजार १५१ मत पाउँदा आचार्यले २५ हजार १२० मत पाए। बस्नेतले यसअघि ०७० र ०७४ मा संसदीय चुनाव जितेका थिए। बस्नेत ०७४ मा वाम गठबन्धन र अहिले वाम–लोकतान्त्रिक गठबन्धनको साथले सुरक्षित भएका हुन्।

त्यसैगरी हुम्लामा माओवादीका छिरिङ डम्डुल लामा (कार्चेन) निर्वाचित भए। उनी चार हजार ८२८ मतान्तरसहित निर्वाचित भएका हुन्।

लामाले १४ हजार ३७१ मत ल्याउँदा एमालेका दल रावलले नौ हजार ५१६ मत ल्याए। रावत कर्णाली प्रदेशका पूर्व सामाजिक विकासमन्त्री हुन्। 

लामा यसअघि कर्णाली प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका थिए। उनी ६ महिनाका लागि गैरसांसद मन्त्री बनेका हुन्।

राप्रपाका तेजबहादुर रावत ३७९ मतमा सीमित भए। ०७४ मा माओवादीले उठाएका उम्मेदवारलाई माओवादीकै छक्कबहादुर लामाले स्वतन्त्र उम्मेदवारका रूपमा पराजित गरेका थिए। 

गठबन्धनको आडमा कांग्रेसको जित
नेपाली कांग्रेसले भागबण्डामा पाएको चार वटै निर्वाचन क्षेत्र गठबन्धनकै आडमा जितेको छ। सुर्खेत–१ मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निर्वाचित भए। 

एमालेका ध्रुवकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गर्दै खड्का प्रतिनिधि सभा सदस्य बनेका हुन्।

खड्का ४२ हजार ६०७ मतसहित निर्वाचित हुँदा एमालेका शाहीले ३० हजार ९८८ मत पाए। ०७४ मा वाम गठबन्धन हुँदा खड्का शाहीसँग पराजित भएका थिए। अहिले माओवादीको सहाराले उनले निर्वाचन जिते।

सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी विजयी भए। थानी ३४ हजार ६२५ मतसहित निर्वाचित भए। 

उनका प्रतिद्वन्द्वी एमालेका सुर्खेत अध्यक्ष अमृतकुमार बिसीले २९ हजार ५५८ मत प्राप्त गरे। ०७४ मा थानी एमालेका नवराज रावतसँग पराजित भएका थिए।

२०७४ मा माओवादीसँगको सहकार्यमा कांग्रेसलाई हराएको एमालेसँग गठबन्धनकै बलमा कांग्रेसले बदला लिएको छ।

दैलेख–२ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाही १५३ मत बढी ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। उनले २० हजार १५८ मत ल्याउँदा एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजार ५ मत ल्याए। 

२३ वर्षपछि यहाँबाट कांग्रेसले जित निकाल्न सकेको हो।

मुगुमा पनि नेपाली कांग्रेसका ऐनबहादुर शाही निर्वाचित भएका छन्। प्रतिस्पर्धी एमालेका राजबहादुर कार्कीलाई तीन हजार ९९४ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्।

शाहीको पक्षमा १४ हजार ७०२ आएको छ भने कार्कीको पक्षमा १० हजार ७०८ मत आएको छ।

अन्त असफल एकीकृत समाजवादीले भाग पाएको सबै जित्यो कर्णालीमा
अन्य प्रदेशका निर्वाचन क्षेत्रमा गठबन्धनका दलको तुलनामा असफल साबित भए पनि कर्णालीमा भने एकीकृत समाजवादीले पनि आफूले भाग पाएका सबै निर्वाचन क्षेत्रमा जितेको छ। 

सल्यानमा समाजवादीका उपमहासचिव प्रकाश ज्वाला निर्वाचित भए। ज्वालाले ३५ हजार ७०० मत ल्याए। उनका प्रतिस्पर्धीमध्ये स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याए भने एमालेका राजेन्द्रवीर रायले १३ हजार २९ मत प्राप्त गरे।

डोल्पामा समाजवादीका धनबहादुर बुढा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। बुढा ११ हजार २२५ मतसहित निर्वाचित भएका हुन्। एमालेका उम्मेदवार गणेशबहादुर शाहीले पाँ हजार ४९८ मत पाए।

एकीकृत समाजवादीले दैलेख- १ मा पनि जितेको छ। त्यहाँ समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले १८ हजार २५६ मत ल्याएर निर्वाचित भएका हुन्। 

उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार रविन्द्रराज शर्माले १७ हजार ४०७ मत पाए। थापा र शर्मा लामोसमय एमालेमा काम गरेका सहकर्मी हुन्। 

थापा ०६४, ०७० र ०७४ को संसदीय निर्वाचन भाग लिइसकेका व्यक्ति हुन्। ०६४ मा पराजित भए भने दुई वटा संसदीय निर्वाचनमा उनी सफल भएका थिए।

प्रतिनिधि सभा सदस्य र दलको नाम
कांग्रेस 
सुर्खेत- १: पूर्णबहादुर खड्का
सुर्खेत- २: हृदयराम थानी 
दैलेख- २: दीक्पालकुमार शाही 
मुगु : ऐनबहादुर शाही

माओवादी 
रुकुम पश्चिम: जनार्दन शर्मा 
जाजरकोट: शक्तिबहादुर बस्नेत
हुम्ला: कार्चेन लामा
कालिकोट: महेन्द्रबहादुर शाही 

एकीकृत समाजवादी 
सल्यान: प्रकाश ज्वाला 
दैलेख- १: अम्मरबहादुर थापा 
डोल्पा: धनबहादुर बुढा

राप्रपा
जुम्ला: ज्ञानेन्द्र शाही

१२ मंसिर, २०७९, १०:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।