लुम्बिनी प्रदेशमा माओवादी र राप्रपा बराबर, एमाले ११ सिट सहित पहिलो

लुम्बिनी प्रदेशमा माओवादी र राप्रपा बराबर, एमाले ११ सिट सहित पहिलो

बुटवल : लुम्बिनी प्रदेशमा रहेको २६ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको परिणाम आउँदा एमाले पहिलो दल बनेको छ। २६ मध्ये एमालेका उम्मेदवार लुम्बिनीका ११ क्षेत्रमा विजयी भए।

दोस्रोमा नेपाली कांग्रेस ६, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३-३ वटा निर्वाचन क्षेत्रमा विजयी भएका छन्। त्यसैगरी एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १-१ वटा क्षेत्र जितेका छन्। प्रदेशको एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

एमालेबाट विजयी हुनेहरू

एमालेबाट गुल्मी २ मा गोकर्ण विष्ट विजयी भए। उनले एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीलाई पराजित गरे। विष्टले २८ हजार ४७६ मत पाएका थिए भने झाक्रीले २६ हजार ४४१ मत पाइन्। अर्घाखाँचीबाट टोपबहादुर रायमाझी विजयी भए। उनले कांग्रेसकी पुष्पा भुसाललाई पराजित गरे। रायमाझीले ४२ हजार ६७५ मत ल्याए भने भुसालले ४० हजार ९४५ मत पाइन्।

प्युठानबाट एमालेका सूर्य थापा विजयी भए। उनले जनमोर्चाकी उम्मेदवार दुर्गा पौड्याललाई पराजित गरे। थापाले ४१ हजार ११८ मत प्राप्त गर्दा पौडेलले ३५ हजार ८१४ मत प्राप्त गरिन्।

रुपन्देही क्षेत्र नं. ५ बाट वासुदेव घिमिरे विजयी भए। उनले कांग्रेसका भरत कुमार शाहलाई पराजित गरे। घिमिरेले ३६ हजार ८२२ मत प्राप्त गरी विजयी हुँदा शाहले जम्मा २७ हजार १२० मत प्राप्त गरे।

कपिलवस्तु क्षेत्र नं. १ बाट बलाराम अधिकारी विजयी भए। उनले माओवादीका चक्रपाणि खनाललाई पराजित गरे। अधिकारीले ३६ हजार ६७५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी माओवादीका खनालले १८ हजार ९८३ मत प्राप्त गरे।

बाँके १ बाट सूर्य ढकाल विजयी भए। ढकालले २५ हजार २६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी माओवादीका महेश्वर जङ्ग गहतराजले १९ हजार ६३२ मत प्राप्त गरे।

पाल्पा क्षेत्र नं. १ बाट नारायण प्रसाद आचार्य विजयी भए। उनले कांग्रेसका ज्ञान बहादुर गाहालाई पराजित गरे। आचार्यले ३१ हजार १०३ मत प्राप्त गरी विजयी हुँदा गाहाले २० हजार २५६ मत प्राप्त गरे।

पाल्पा क्षेत्र नं. २ बाट ठाकुर गैरे विजयी भए। उनले एकीकृत समाजवादी पार्टीका सोमप्रसाद पाण्डेलाई पराजित गरे। गैरेले २७ हजार ८१७ मत प्राप्त गर्दा पाण्डेले २३ हजार ८५१ मत प्राप्त गरे।

रुपन्देही क्षेत्र नं. १ बाट छविलाल विश्वकर्मा विजयी भए। उनले गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई पराजित गरे। विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गरी विजयी हुँदा भुसालले २१ हजार ३०८ मत प्राप्त गरे।

रुपन्देही २ मा विष्णु पौडेल निर्वाचित भए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई पराजित गरे। विष्णु पौडेलले २७ हजार १४८ मत प्राप्त गरी विजयी हुँदा स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत प्राप्त गरे।

कांग्रेसबाट विजयी हुनेहरू

कांग्रेसबाट विजयी हुनेहरूमा बाँके क्षेत्र नं. ३ बाट किशोरसिंह राठौर छन्। उनले एमालेका किस्मत कुमार कक्षपतीलाई पराजित गरे। राठौरले २९ हजार ४० मत प्राप्त गर्दा कक्षपतीले २२ हजार २४७ मत प्राप्त गरे।

बर्दिया क्षेत्र नं. १ बाट सञ्जय गौतम ३० हजार ६११ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी एमालेका लक्ष्मणराज ज्ञवालीले २६ हजार १५५ मत प्राप्त गरे।

दाङ क्षेत्र नं. ३ बाट दीपक गिरी विजयी भए। गिरीले एमालेकी कोमल वलीलाई पराजित गरे। गिरीले ३६ हजार ८४२ मत प्राप्त गर्दा वलीले २९ हजार ३२ मत प्राप्त गरिन।

नवलपरासी पश्चिम क्षेत्र नं. १ बाट विनोद चौधरी विजयी भए। उनले जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई पराजित गरे। चौधरीले २९ हजार ४९५ मत प्राप्त गर्दा त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरे।

गुल्मी क्षेत्र नं. १ मा चन्द्र भण्डारी विजयी भए। उनले एमालेका प्रदीप ज्ञवालीलाई पराजित गरे। भण्डारीले ३३ हजार ७४४ मत प्राप्त गर्दा ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गरे।

कपिलवस्तु २ मा सुरेन्द्रराज आचार्य विजयी भए। उनले एमालेका बृजेश कुमार गुप्तालाई पराजित गरे। आचार्यले ३९ हजार १४ मत प्राप्त गर्दा गुप्ताले ३८ हजार ६९७ मत प्राप्त गरे।

 

माओवादीबाट को को ?

माओवादी केन्द्रबाट रोल्पामा वर्षमान पुन विजयी भए। उनले ४१ हजार ७१४ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका पूर्ण बहादुर मगरले १६ हजार ४८५ मत प्राप्त गरे।

रुकुम पूर्व क्षेत्र नं. १ बाट पूर्ण बहादुर घर्ती विजयी भए। घर्तीले १२ हजार २६२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका कैलाश कुमार मल्लले ५ हजार २११ मत प्राप्त गरे।

दाङ २ मा रेखा शर्मा विजयी भइन। उनले एमालेका शङ्कर पोखरेललाई पराजित गरिन्। शर्माले २६ हजार ८८० मत प्राप्त गर्दा पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरे।

राप्रपाबाट को-को ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बाँके २ मा धवलसमशेर जबरा विजयी भए। धवल समसेर जवराले २९ हजार ५७७ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी लोसपाका मोहम्मद ईश्चियाक राईले २३ हजार ५२० मत प्राप्त गरेका छन्।

पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट ध्रुवबहादुर प्रधान विजयी भए। प्रधानले ३४ हजार ४५९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका देवेन्द्रराज कँडेलले १९ हजार ५९४ मत प्राप्त गरे।

रुपन्देही क्षेत्र नं. ३ मा दीपक बोहोरा विजयी भए। उनले बहालवाला गृहमन्त्री नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई पराजित गरे। बोहराले खाँणलाई २ हजार ६८१ मतान्तरले पराजित गरे। बोहराले ३६ हजार ७१७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत प्राप्त गरे।

एकीकृत समाजीबाट को?

एकीकृत समाजवादीबाट दाङ १ मा मेटमणि चौधरी विजयी भए। उनले एमालेकी शान्ता चौधरीलाई पराजित गरे। मेटमणि चौधरीले २६ हजार ५६३ मत प्राप्त गर्दा एमालेकी शान्ता चौधरीले २१ हजार ४७९ मत प्राप्त गरिन ।

लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले रुपन्देही ४ मा विजयी हासिल गरेको छ। त्यहाँ सर्वेन्द्रनाथ शुक्ल विजयी भए। उनले २८ हजार मतले विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोद कुमार यादवले २२ हजार ७०४ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र

बर्दिया २ बाट भने स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भए। उनले २६ हजार ५२० मत प्राप्त गर्दा माओवादीका सुरेश पन्थले २६ हजार ३८४ मत प्राप्त गरे।

११ मंसिर, २०७९, १७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।