जसले महिनावारीकै कारण दशैं मान्न पाएनन् !

जसले महिनावारीकै कारण दशैं मान्न पाएनन् !

सुर्खेत :  पञ्चपुरी नगरपालिका–६ की सुनिता विक मंगलबार महिनावारी भइन्। दशैंको तयारीका लागि घर लिपपोत बनाएर सोमबार अष्टमीको पूजाआजा गरेकी उनी महिनावारी भएपछि यो वर्षको दशैं मनाउन नपाउने भएकी छन्।

उनको महिनावारी हुने समय १० दिनपछि हो। तर कहिलेकाहीँ उनी समय अगावै महिनावारी हुने हुँदा हर्षाेल्लासका साथ मनाउने भनिएको दशैं उनका लागि खल्लो बन्यो।

देवी देवता रिसाउने र मनोकाङ्क्षा पूरा नहुने हुँदा महिनावारी भएको बेला चाडपर्व मान्न नहुने परम्परा आफ्नो परिवारमा रहेको उनी सुनाउँछिन्।

‘यो वर्ष राम्रोसँग दशैं मनाउँला भनेर घर लिपपोत गरेँ।अष्टमीको पूजा त गरियो तर, दशैं आउन एक दिन अगाडी नै महिनावारी भएँ। अब मैले दशैं मान्न पाउँदिन। श्रीमान् र छोराछोरीले त मनाउँछन्,’उनले भनिन्, ‘घरबाहिर नै बसेर अरूले टिका लगाएको हेरेर बस्नुपर्ने भयो। पहिला पुर्खादेखि नै महिनावारी भएको बेला चाडपर्व मनाउनुहुँदै देवी देवता रिसाउँछन् भन्ने परम्परा छ।त्यसैले हामीले मान्न पाउँदैनौ।’

पञ्चपुरी–६ कै मुना रोकायको पनि दशैंको आसपासमै महिनावारीको पाले थियो। दशैं मनाउनका लागि उनले १३ गते नै महिनावारी रोक्ने औषधि खाइन्।

त्यही कारण अहिले साल उनले दशैं मान्न पाउने भएकी छन्। उनलाई यसरी औषधि खानुपर्ने रहर होइन बाध्यता हो। महिनावारीकै कारण तीन वटा दशैं मान्न नपाएको तीतो अनुभव उनीसँग छ।

‘विगतका सालहरूमा दशैंमा नै महिनावारी भएपछि मैले मान्न पाइन। यो वर्ष पनि त्यस्तै नहोस् भनेर १३ गते नै महिनावारी रोक्ने औषधि खाएँ,’ उनले भनिन्, ‘यो साल त ढुक्कले दशैं मनाउने पाउने भएँ।’

पञ्चपुरी-५ की चन्द्रा सुनारले घरमा कोही सदस्यको मृत्यु भएको बेला बाहेक अरू बेला दशैं मानिन्। तर, यो वर्ष उनलाई महिनावारीले नै दशैं मान्नबाट वञ्चित गरायो।

दशैंको दिन उनलाई तीन दिन मात्र हुन्छ। त्यति बेलासम्म उनले छाउगोठमै बस्नुपर्ने हुन्छ। दशैं मान्न मात्रै होइन। त्यो दिन पकाएक खाना र पर्साद समेत खान नपाउने गुनासो उनले गरिन्।

यी त उदाहरणीय पात्र मात्रै हुन्। कर्णाली प्रदेश र सुदूरपश्चिमका महिलाहरूले महिनावारी भएका बेला दशैं लगायतका अन्य कुनै पनि चाडपर्व मनाउन पाउँदैनन्। महिनावारी भएकाहरूले चाड मनाउँदा देवता र भगवान् रिसाउने भन्ने अन्धविश्वास।

विशेष चलनअनुसार घरका सदस्य वा नातेदारहरूको देहावसान भएको खण्डमा एक वर्षसम्म कुनै पनि चाडपर्व मान्ने गरिन्न। कतिपयले परिवारका सदस्य वा नातेदारको मृत्यु भए पनि चाडपर्व भने रोक्दैनन्।

महिनावारी भएकै कारण चाडपर्व रोक्नु गलत भएको पञ्चपुरी नगरपालिकाकी उपप्रमुख मुक्तिदेवी रेग्मी पुरी बताउँछिन्।

‘म पूर्वेली संकृतिमा हुर्केकी मान्छे हुँ। हाम्रोतिर महिनावारी हुँदा चाडपर्व मान्नबाट रोकिन्थेन,’उनले भनिन्, ‘यहाँ पनि धेरै मानिसहरू महिनावारी हुँदा चाडपर्व मान्न पाउँदैनन्। यो परम्परा गलत हो।’

महिनावारी छाउगोठमा बस्ने, खानेकुराबाट पनि वञ्चित रहने हुँदा मानसिक रूपमा हीनताबोध उत्पन्न हुने हुँदा यो पनि एक प्रकारको हिंसा भएको उनले बताइन्।

देवी, दुर्गा, सरस्वती महिलाहरू नै भएकोले महिला महिनावारी हुँदैमा भगवान् रिसाउने कुप्रथा हटाउनुपर्ने उनको भनाइ छ।

संविधानको मौलिक हक सम्बन्धी धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ। त्यस्तै संविधानका विभिन्न धाराले समानताको अधिकार, छुवाछूत तथा भेदभाव विरुद्धको हक, शोषण विरुद्धको अधिकार, स्वच्छ वातावरणको अधिकार, स्वास्थ्यको अधिकार, खाद्यको अधिकार, आवासको अधिकार, महिलाको हक र बालबालिकाको अधिकार सुनिश्चित गरेका छन्।

घरेलु हिंसा कसुर ऐन २०६६ ले पनि महिनावारीलाई हिंसाकै रूपमा परिभाषित गरेको छ।

१८ असोज, २०७९, २०:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।