बुटवल उपमहानगरको २४ लाख ६५ हजारको टेण्डरमा झुक्किएर एक लाख ७९ हजार कबोल, कम्पनीले काम नगर्ने निश्चित

बुटवल उपमहानगरको २४ लाख ६५ हजारको टेण्डरमा झुक्किएर एक लाख ७९ हजार कबोल, कम्पनीले काम नगर्ने निश्चित

बुटवलः बुटवल उपमहानगरपालिकाले आफ्नो नवनिर्मित भवनको सरसफाइका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो। एक वर्षका लागि भवनको सरसफाइ गर्न २४ लाख ६५ हजार ५३ रुपैयाँ लागत अनुमान राखेर उपमहानगरले आह्वान गरेको टेण्डरमा लागत अनुमानभन्दा अत्यन्तै कम रकममा एक कम्पनीले ठेक्का कबोल गर्यो।

देव सरसफाइ प्रा.लि. काठमाडौंले एक लाख ७९ हजार ५८८ रुपैयाँ कबोल गरेको बोलपत्र उपमहानगरले स्वीकृत समेत गरिसक्यो। तर, यस कम्पनीले काम भने नगर्ने भने निश्चित प्रायः छ।

देव सरसफाइले झुक्किएर कम रकममा ठेक्का कबोल गरेकाले यो काम देव सरसफाइले नगर्ने कम्पनीनिकट कर्मचारीहरू बताउँछन्।

बुटवल उपमहानगरपालिकाले आफूसँग रहेका कर्मचारीबाट भवनको सरसफाइ सम्भव नभएको भन्दै टेण्डर आह्वान गरेको हो। जसमा काठमाडौं, पोखरा, बुटवल, तिलोत्तमा र भैरहवाका ६ वटा कम्पनीले सहभागिता जनाएका थिए।

उपमहानगरपालिकाले टेण्डर निकाल्दा एक महिनाको रकमले १२ महिनाको कबोल राख्न भनेको थियो। तर देव सरसफाइले भने एक महिनाको १२ जना कामदारले काम गर्दा लाग्ने रकमको कबोल गर्नु भनेर बुझेपछि कम्पनीले जम्मा एक लाख ७९ हजार ५८८ रुपैयाँ कबोल गरेर टेण्डर हालेको बुटवल उपमहानगरपालिकाका वातावरण इन्जिनियर योगेश चापागाईँले बताए।

उनका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) बमोजिम बोलपत्र स्वीकृतिको आशयपत्र सम्बन्धी सूचना निकाल्नुपर्ने भएकाले कम रकम कबोल गरेको कम्पनीले ठेक्का पाएकाले सरोकारवालाको जानाकारीका लागि सूचना प्रकाशित गरिएको हो।

अब कम रकममा ठेक्का पाएको कम्पनीले काम नगरे स्वतः दोस्रो कम रकम कबोल गरेकाले यो ठेक्का पाउनेछ। त्यसो हुँदा पहिले ठेक्का पाएको कम्पनीको धरौटी रकम जफत हुनेछ। 

‘देव सरसफाइ प्रा.लिले काम गरेन भने उसको ६० हजार धरौटी रकम जफत हुन्छ। त्यसपछि दोस्रो कम कबोल गरेको कम्पनीले काम गर्नेछ’, इन्जिनियर चापागाईँले भने।

दोस्रो कम रकम कबोल गर्नेमा भैरहवाको एक सरसफाइ कम्पनी रहेको छ। उसले १८ देखि १९ लाखको बीचमा रकम कबोल गरेको चापागाईँले बताए। 

५४ करोडको लागतमा निर्माण भएको उपमहानगरपालिकाको भवन पुरानो प्रविधिबाट सरसफाइ गर्न असम्भव देखिएको भन्दै टेण्डर प्रक्रियाबाट कार्य अगाडि बढाउने निर्णय नगरप्रमुख खेलराज पाण्डेयले गरेका थिए।

पुरानो भवन सानो भएकाले त्यहीँका सरसफाइकर्मीले भवन, गार्डेनको सरसफाइ गर्दै आएका थिए। नयाँ भवन सरसफाइका लागि अत्याधुनिक मेसिन समेत आवश्यक पर्ने भएकाले टेण्डर आह्वान गरेर भवनको सरसफाइ गर्न थालिएको हो।

सरसफाइका लागि छनोट भएको कम्पनीले नयाँ भवन, पार्किङ र गार्डेनको सरसफाइ गर्नेछ। यस्तै वर्षमा दुई पटक भवनमा लगाइएका पर्दा समेत धुनु पर्नेछ। 

‘टेण्डर गरेपछि जसले टेण्डर पार्छ त्यो कम्पनीलाई हामीले पैसा दिने हो। कुचो, पोछा, साबुन सबै उहाँहरूले ल्याएर सरसफाइ गर्ने हो,’ चापागाईँले भने।

पुरानो भवनबाट नयाँ भवनमा सरेलगत्तै उपमहानगरपालिकाले तत्कालीन समयका लागि कोटेसन नै माग गरेर भवन सरसफाइको काम निजी कम्पनीलाई दिइएको थियो। उक्त कम्पनीसँगको म्याद सकिएपछि उपमहानगरपालिकाले एक वर्षका लागि सरसफाइ गर्न नयाँ टेण्डर गरेको थियो।

अहिले बुटवल उपमहानगरपालिकामा करारसहित ४१ जना सरसफाइकर्मी छन्। २०५२ सालमा उपमहानगरपालिकामा १०२ जना सरसफाइकर्मी थिए।

‘हाम्रोमा सरसफाइकर्मीको संख्या निकै कम छ। भएकालाई बाटो, नाला सफाइमा खटाइएको छ’, उपमहानगरपालिकाका विपद् व्यवस्थापन महाशाखाका विष्णु खनालले भने।

पछिल्लो समय जनघनत्व बढेकाले त्यहाँका कर्मचारीलाई बाहिरै बढी सरसफाइको काम पर्ने भएकाले नयाँ भवनका लागि टेण्डर खोलिएको उनले बताए।

२७ साउन, २०७९, १२:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।