५४ करोडको भवन सरसफाइका लागि टेण्डर आह्वान गर्दै बुटवल उपमहानगरपालिका

५४ करोडको भवन सरसफाइका लागि टेण्डर आह्वान गर्दै बुटवल उपमहानगरपालिका

बुटवल : बुटवल उपमहानगरपालिकाको नवनिर्मित भवनको सर-सफाइका लागि टेण्डर आह्वानको तयारी भएको छ। अहिले उपमहानगरपालिकामा रहेका सफाइकर्मीबाट भवनको सरसफाइ सम्भव नभएको भन्दै उपमहानगरपालिकाले टेण्डर आह्वान गरेर सरसफाइ गर्न लागेको हो।

टेण्डर आह्वान गर्ने निर्णय बुटवल उपमहानगरपालिकाको पहिलो बैठकले गरिसकेको छ। उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको सरसफाइ पुरानो प्रविधिबाट असम्भव देखिएको भन्दै भवन सरसफाइका लागि टेण्डर प्रक्रियाबाट कार्य अगाडि बढाउने निर्णय नगरप्रमुख खेलराज पाण्डेयले बताए। 

पुरानो भवन सानो भएकाले त्यहीँका सरसफाइकर्मीले भवन, गार्डेनको सरसफाइ गर्दै आएका थिए। नयाँ भवन सरसफाइका लागि अत्याधुनिक मेसिन समेत आवश्यक पर्ने भएकाले टेण्डर आह्वान गरेर भवनको सरसफाइ गर्न थालिएको बुटवल उपमहानगरपालिकाका वातावरण इन्जिनियर योगेश चापागाईंले जानाकारी दिए।

आगामी आर्थिक वर्ष २०७९/०८० का लागि टेण्डर आह्वान गरेर सरसफाइ गरिने उनले बताए। त्यसका लागि २६ लाखको लागत स्टिमेट उपमहानगरपालिकाले गरेको छ। 

टेण्डर आह्वान भएपछि छनोट हुने कम्पनीले नयाँ भवन, पार्किङ र गार्डेनको सरसफाइको काम गर्नेछ। उसले वर्षमा एक पटक भवनमा लगाइएका पर्दा समेत धुनु पर्नेछ।

‘टेण्डर गरेपछि जसले टेण्डर पार्छ त्यो कम्पनीलाई हामीले पैसा दिने हो। कुचो, पोछा, सावुन सबै उहाँहरुले ल्याएर सरसफाइ गर्ने हो,’ चापागाईंले भने।

पुरानो भवनबाट नयाँ भवनमा सरेलगत्तै उपमहानगरपालिकाले तत्कालीन समयका लागि कोटेसन नै माग गरेर भवन सरसफाइको काम निजी कम्पनीलाई दिइएको थियो। उक्त कम्पनीसँगको म्याद सकिन लागेकाले नयाँ टेण्डर गर्न थालिएको इन्जिनियर चापागाईंले बताए।

बुटवल उपमहानगरपालिकाले सरसफाइको काम गर्न आह्वान गरेको कोटेसनमा तीन वटा निजी कम्पनीले कोटेसन हालेकोमा सरसफाइ नेपालले पाएको थियो। अहिले पनि नयाँ भवन सरसफाइको काम सरसफाइ नेपालले गरिरहेको छ।

उपमहानगरपालिकाले आह्वान गरेको कोटेसन सूचनामा फेरि सर्भिसेज, वातावरण सुन्दर नेपाल र सरसफाइ नेपालले गोप्य दररेट राख्दा मासिक ४४ हजार भ्याट सहित सरसफाइ गर्ने प्रस्ताव सरसफाइ नेपालले राखेपछि त्यही कम्पनीले तीन महिनादेखि नयाँ भवन सरसफाइको काम गरिरहेको छ।

‘यो अहिलेकै प्रारुपको दीर्घकालीन समाधानका लागि टेण्डर आह्वान गर्न लागेका हौं। अहिले तीन महिना कोटेसनबाट काम भयो। एक वर्ष टेण्डर प्रक्रियाबाट आउने कम्पनीले काम गर्नेछ,’ उनले भने।

अहिले सरसफाइ नेपालले पठाएका ८ जना सरसफाइकर्मीले भवन, पार्किङ, गार्डेनको सरसफाइ गरिरहेका छन्। ६ जनाले भवन र २ जनाले गार्डेनको काम गरिरहेको वातावरण इन्जिनियर चापागाईंले बताए।

उपमहानगरका सरसफाइकर्मी सबै बाटोमा
अहिले बुटवल उपमहानगरपालिकामा करार सहितका ४१ जना सरसफाइकर्मी छन्। २०५२ सालमा उपमहानगरपालिकामा १ सय २ जना  सरसफाइकर्मी रहेका थिए।

‘हाम्रोमा सरसफाइकर्मीको संख्या निकै कमी छ। भएकालाई बाटो, नाला सफाइमा खटाइएको छ,' उपमहानगरपालिकाका विपद व्यवस्थापन महाशाखाका विष्णु खनालले भने।

पछिल्लो समय बढी जनघनत्व बढ्दा सरसफाइ गर्न त्यहाँका कर्मचारीलाई बाहिरै बढी काम भएकाले नयाँ भवनका लागि टेण्डर खोल्न लागिएको उनले बताए। ‘नयाँ भवन अत्याधुनिक छ। दैनिक २/३ पटक मात्र सफा गर्दा पनि भवनको स्वरुप बिग्रन सक्छ। त्यस कारण नयाँ व्यवस्थापनका लागि टेण्डर हुन लागेको हो। यो नयाँ केही होइन। अहिलेकै अवस्थाको निरन्तरता हो,’ उनले भने।

उपमहानगरपालिकाका वातावरण इन्जिनियर योगेश चापागाईंले अहिले भइरहेका सरसफाइकर्मी वडा-वडामा समेत जानुपर्ने भएकाले पनि यहीको जनशक्तिबाट भवन सरसफाइ हुन नसकेको बताए। उपमहानगरपालिका भित्रका अधिकांश नाला थुन्निएको र सो काम यहाँकै कर्मचारीबाट भएको बताउँदै उनले सहरमा दैनिक फोहोर बढिरहेकाले त्यही फोहोर व्यवस्थापनमा यहाँका कर्मचारी खटिने गरेको उनले बताए।

उपमहानगरपालिकाले गर्ने सरसफाइका लागि वार्षिक बजेट नै विनियोजन गरेर सफाइका सामग्री खरिद गर्दै आएको छ। वातावरण इन्जिनियर चापागाईंका अनुसार कुचोदेखि साबुनसम्म खरिद गर्नका लागि उपमहानगरपालिकाले वार्षिक बजेट छुट्याउने गरेको छ। कुचो, डोको, सावुन, पोछाका लागि चालु आर्थिक बर्षमा १५ लाख रकम विनियोजन गरेकोमा जम्मा ३ लाख ८० हजार वैशाख मसान्तसम्मको खर्च भएको समेत उनले बताए।

२९ जेठ, २०७९, १२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।