धनाढ्य सांसद् समेत सामान्य उपचार खर्चको लोभ गर्छन्, तीन वर्षमा ५४ लाख बढी भुक्तानी

धनाढ्य सांसद् समेत सामान्य उपचार खर्चको लोभ गर्छन्, तीन वर्षमा ५४ लाख बढी भुक्तानी

बुटवल : लुम्बिनी प्रदेश सभा सचिवालयले सांसदहरुलाई तीन वर्षमा औषधि उपचार खर्चवापत ५४ लाख ४८ हजार ४ सय ५२ रुपैयाँ भुक्तानी गरेको पाइएको छ। आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०७८/०७९ सम्ममा ४६ जना सांसदलाई उपचारका नाममा सो रकम दिइएको हो।

आर्थिक वर्ष २०७६/०७७ मा २८ सांसदहरूलाई १४ लाख ४९ हजार ५५० रूपैयाँ, आर्थिक वर्ष २०७७/०७८ मा ३६ सांसदलाई २२ लाख ८० हजार ८४६ रुपैयाँ र अर्थिक वर्ष २०७८/०७९ मा मात्र २५ सांसदहरुलाई १७ लाख १८ हजार ५६ रुपैयाँ गरी ५४ लाख ४८ हजार ४ सय ५२ रुपैयाँ उपचार खर्च दिइएको छ।

तीन आर्थिक वर्षमा धेरैले २ लाखभन्दा बढी उपचारका लागि भनेर राज्यकोषबाट लिएका छन्। जसपाकी सांसद कल्पना पाण्डेले २ लाख ७५ हजार २०७ रुपैया लगेकी छन्। हाल उनी पदमुक्त भइसकेकी छिन्।

त्यस्तै डा. कृष्ण न्यौपानेले २ लाख ४८ हजार, निर्मला क्षेत्रीले २ लाख ७३ हजार, डिल्ली चौधरीले २ लाख ३७ हजार, पुरुनमान बज्राचार्यले २ लाख २० हजार १६७ रुपैयाँ उपचार खर्चवापत रकम बुझेका छन्।

त्यसैगरी माला गोतामेले २ लाख १४ हजार, मोहम्मद याकुव अन्सारीले २ लाख १६ हजार, सरस्वती गौतमले २ लाख २० हजार उपचार खर्च बापत बुझेका छन्।

लुम्बिनी प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुलाई पारिश्रमिक र सुविधा दिन बनेको ऐनमा दर्तावाला चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा जुनसुकै अस्पतालबाट उपचार सेवा लिए वापत बिल बमोजिम सबै सांसदले बढीमा ५/५ लाख रुपैयाँसम्म उपचार खर्च लिन सक्नेछन् ।

आर्थिक हैसियत बलियो भएकाले समेत लिन्छन् उपचार खर्च
नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडिया अर्बौंका मालिक हुन्। उनले आर्थिक वर्ष २०७७/०७८ मा २ लाख ४९ हजार, र आर्थिक वर्ष २०७८/०७९ मा २ लाख २७ हजार रुपैयाँ गरी ४ लाख ७७ हजार उपचार खर्च भनेर लिएका छन्।

रुपन्देहीका एमाले सांसद भोजप्रसाद श्रेष्ठ तत्कालीन बुटवल नगरपालिकाका प्रमुख हुन्। बुटवलमा उनको सुविधा सम्पन्न घर छ। उनका एक छोरा प्रतिष्ठित औषधि व्यवसायी छन् भने अर्का डाक्टर छन्।

नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडिया अर्बौंका मालिक हुन्। उनले आर्थिक वर्ष २०७७/०७८ मा २ लाख ४९ हजार, र आर्थिक वर्ष २०७८/०७९ मा २ लाख २७ हजार रुपैयाँ गरी ४ लाख ७७ हजार उपचार खर्च भनेर लिएका छन्।

आर्थिक रुपमा सम्पन्न भएका उनले पनि उपचार बापतको रकम लिने गरेका छन्। उनले आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०७८/०७९ उपचार खर्च बापत ८६ हजार ८ सय रुपैयाँ बुझेका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सांसद अष्टभुजा पाठक रूपन्देहीका स्थायी बासिन्दा हुन्। आर्थिक हैसियत बलियो भएका उनी जमिन्दार हुन्। उनै पाठकले आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०७८/०७९ उपचार खर्च बापत १ लाख ६९ हजार बुझेका छन्।

नेकपा एमालेका कपिलवस्तुका सांसद विष्णु पन्थीको बुटवल र कपिलवस्तुको वाणगंगामा गरी दुई वटा घर छन्। उनको आफ्नै महँगो गाडी पनि छ।

हालै सार्वजनिक लेखा समितिको सभापतिमा निर्वाचित समेत भएका पन्थीले पनि सामान्य उपचार बापतको खर्च रकम प्राप्त गर्न बिल पेस गरेका छन्। 

पन्थीले प्रदेश सभाबाट उपचार खर्च बापत आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०७८/०७९ सम्म ९२ हजार ६ सय रुपैयाँ बुझेका छन्।

कसले कति बुझे?
लुम्बिनी प्रदेशमा स्थापनाकालमा कुल ८७ सांसद थिए। हाल सांसदको संख्या ८१ छ। आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०७८/०७९ सम्म ४६ जना सांसदले राज्यकोषबाट उपचार खर्च बापत रकम लिएका छन्।

कतिपयले तीन वटै आर्थिक वर्षमा रकम लगेका छन् भने कतिपयले एउटा मात्र आर्थिक वर्षमा रकम लगेका छन्।  

संसद् सचिवालयका अनुसार १ लाख बढी रकम लैजाने ११ सांसद छन्। एक लाखभन्दा बढी रकम लैजानेमा सांसद अष्टभुजा पाठक, उपसभामुख कृष्णी थारु, आशा स्वर्णकार, दीपा वि.क., सभामुख पूर्णबहादुर घर्ती, रुन्धावती शर्मा, विजयबहादुर यादव, शान्तिदेवी स्वर्णकार, चेतनारायण आचार्य र भुवनेश्वर चौधरी छन्।

सबैभन्दा कम उपचार खर्च लैजानेमा दिपेश थारु छन्। उनले आ.व. २०७७/०७८ मा १० हजार ३३ रुपैयाँ लगेका छन्। हाल भने उनी सांसद छैनन्।

त्यस्तै पार्वती पुन गहतराज, बैजनाथ कलवार, दिनेश पन्थी, छन । पन्थी हाल सांसद पदमा छैनन्। त्यस बाहेक पुष्पा थरुनी, रिना नेपाल, गिता थापा र खड्ग बहादुर खत्री ३१ हजार भन्दा कम लिनेमा छन्।

सुशासनविद्का तर्क
प्रदेश सभा सचिवालयका लेखा अधिकृत आलोक अग्रहरिका अनुसार सांसदहरुले सामान्य उपचार खर्चको पनि बिल पेस गर्छन्। सुगर, प्रेसर, पत्थरीको जाँच गराएको बिल पनि सांसदले सचिवालयमा बुझाउने गरेको उनले बताए। 

रुपन्देहीका एमाले सांसद भोजप्रसाद श्रेष्ठ तत्कालीन बुटवल नगरपालिकाका प्रमुख हुन्। बुटवलमा उनको सुविधा सम्पन्न घर छ। उनका एक छोरा प्रतिष्ठित औषधि व्यवसायी छन् भने अर्का डाक्टर छन्। उनले आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०७८/०७९ उपचार खर्च बापत ८६ हजार ८ सय रुपैयाँ बुझेका छन् ।

सामान्य उपचार खर्च गर्दा समेत राज्यकोषमा भार पार्ने गरेकाले सांसदहरुमाथि नैतिक प्रश्न उठ्ने गरेको सुशासनविद् खेमराज रेग्मीले बताए। राज्यले सुविधा दिएको भन्दैमा धनी सांसदले पनि स्वास्थ्य उपचार खर्च सरकारबाट लिनु शोभनीय नभएको बताए।

‘राजनीतिमा इमानका कुरा आउँछन्। नैतिकताका प्रश्न आउँछन्। सांसदहरुले आफूलाई कति नैतिकतावान देखाउने भन्ने हो। यस्ता सामान्य उपचार खर्चको बिल सचिवालयमा पेस नगरी आफैं खर्च तिरेर नैतिकता देखाउनुपर्ने थियो। तर सानो रकममा लोभिने सांसदले त्यसो नगर्नु दुःखद हो,’ उनले भने।

के भन्छन् राज्यकोषबाट उपचार खर्च लिएका सांसद?
नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले आफू बिरामी भएकाले उपचार खर्च लगेको बताए। आफूले मासिक २५ हजारको औषधि मात्र खानुपरेको बताउँदै डाइबेटिज, उच्च रक्तचाप, मुख र खुट्टाको उपचार गर्दा लागेको खर्च अनुसार पैसा लगेको उनले बताए।

सांसदलाई उपचार गर्दा पनि खर्च दिने व्यवस्था भएकाले त्यही अनुसार रकम लिएको उनले बताए।

नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले पाठेघर र नाकको अप्रेसन गर्दा लागेको खर्चको बिल पेस गरेको बताइन्। त्यस्तै सांसद डा. कृष्ण न्यौपानेले आँखा अप्रेसन गर्दा लागेको खर्च संसद् सचिवालयबाट लगेको बताए।

२५ साउन, २०७९, ०८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।