अनलाइन अफरमा लोभ्याएर ठगियो १२ करोड, उपहार र चिट्ठा ठगीको सजिलो हतियार

अनलाइन अफरमा लोभ्याएर ठगियो १२ करोड, उपहार र चिट्ठा ठगीको सजिलो हतियार

काठमाडौँ :  असार ३० गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगे काभ्रेका एक युवक।  इन्स्ट्राग्राममा उनले चिनिराखेकै व्यक्तिले उनलाई ९० हजार लगानी गर्दा ३ दिनमा ४ लाख ८० हजार कसरी आयो भनेर भिडियो बनाएका थिए। ३  दिनमा त्यत्ति धेरै पैसा कमाएको देखेपछि ती युवक लोभिए। लगत्तै उनले भिडियो बनाएर हालेका दाइसँग सम्पर्क गरे। ती दाइले कुनै एउटा युवतीको इन्स्टा आइडी दिए। युवक र ती युवतिबिच कुराकानी हुन थाल्यो।

युवकले सुरुवातमा १० हजार लगानी गर्ने बताए। ती युवतीले १० हजार खल्तीबाट पठाइदिन भनिन्। खुसी हुँदै युवकले पठाए पनि। १०  हजार लगानी गर्दा ९८ हजार केही दिनमा नै ती युवकलाई आउने बताइएको थियो। तीन दिन कट्यो पैसा आएन।

उनले किन पैसा आएन भनेर सोध्दा फेरि २ सय डलर हालिदिनु पर्ने बताए। त्यसपछि भने ती युवकलाई कतै ठगीमा त परिन भन्ने शङ्का लाग्यो। थप पैसा नपठाएर उनी उपत्यका कार्यालय पुगे। उपत्यका कार्यालयका डिएसपी एवं साइबर शाखाकी प्रमुख कोपिला चुडालका अनुसार अहिले यसको अनुसन्धान भइरहेको छ।

‘सामाजिक सञ्जालमा भिडियो बनाउने छोटो अवधिमा कसरी धेरै पैसा कमाउन सकिन्छ भनेर ठगी धन्दा चलेको छ,’उनले भनिन्, ‘अहिले धेरैजसो व्यत्तिहरु सामाजिक सञ्जालमा आएका यस्ता भिडियोबाट लोभिएको देखिन्छ। अझ यो लोभ्याउने चिनजानकै व्यक्तिहरू देखिन्छन्।’

सशस्त्र प्रहरी बलका पूर्व वरिष्ठ हवल्दार पनि ठगीमा परेका छन्। अवकाशपछि उनी गत वर्ष देखि क्यानडा जान केही समय अघि ‘जब एप्लीकेशन’बाट आवेदन दिएका थिए। उनलाई पटक-पटक पैसा पठाऊ भन्ने म्यासेज मात्र आयो। उनले २८ लाख ३८ हजार पठाए तर काम भएन। अनि उनी पनि प्रहरी कार्यालय आइपुगे।

उनले २८ लाख ३० हजार दलाललाई बुझाउँदा ८३ पटक कारोबार गरेका थिए। उनले रकम बुझाएको विवरण हेर्दा फरक-फरक व्यक्तिलाई इ-सेवा, खल्ती र बैङ्कबाट बुझाएको देखिन्छ। कन्सलटेन्सीजाँदा विद्यार्थी मात्रै पठाउने वर्किङ भिसा नपठाउने भएपछि उनले सर्च इन्जिनबाट खोजी गरेर आफैँले आवेदन दिएका थिए।

फ्री भिसा फ्री टिकट देखेर लोभिएका उनले ठगिएको शङ्का लागेपछि साउन ७ गते उपत्यका प्रहरी कार्यालय पुगेर निवेदन दिए। उनको निवेदनपछि प्रहरीले उनले पैसा पठाएको खल्ती एपको नम्बरबारे अनुसन्धान गरेको थियो। डिएसपी चुँडालका अनुसार खल्तीबाट एउटा नम्बरमा रकम पठाए पनि त्यही नम्बरबाट धेरै नम्बरमा रकम गएको देखियो।

‘काभ्रेको उजुरी आएपछि हामीले कहाँ-कहाँ कारोबार भएका छ भनेर डिटेल हेरेका छौँ।  उदाहरणको लागि एउटा नम्बरबाट अर्को नम्बरमा पठाइयो। सोही पैसा अन्य १० वटा नम्बरमा पठाएको देखिन्छ,’ उनले भनिन्, ‘हामीले अनुसन्धान गरिरहेका छौँ।’

सहज बन्दै अनलाइन ठगी

टंकयोकाको नामबाट एक जना व्यक्तिलाई फ्रेण्ड रिक्वेस्ट आयो। आफू जापानी नागरिक हो तपाईँलाई जापान पठाउँछु भनेर विभिन्न व्यक्तिहरूसँग ३९ लाख ६८ हजार उठाएर फरार भएको गिरोह थियो त्यो। त्यस्तै सन्दीप क्षेत्रीले माइकल नाम राखेर फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउने अनि उपहार आएको भन्दै युवतीहरूलाई ठगेका थिए। उनले ५ लाख १० हजार ठगी गरेका थिए।

प्रहरीले गत आर्थिक वर्ष नै १ करोड ८० लाख ठगी गर्ने तीन जनालाई पक्राउ गरेको थियो। बेलायतको डाक्टर भनी ढाँट्दै ती युवकले पोखराकी युवतीलाई ठगेका थिए। उनले नेपाली बैङ्कमा नै पैसा जम्मा गर्न लगाएका थिए।

जुमबाट कुराकानी गरेर दर्ता नै नभएको इम्पोरियम मार्केटिङ प्रालीको नाममा ठगेको भन्दै प्रहरीले पक्राउ गरेको थियो। दुई  जना सञ्चालकहरूले केही व्यक्तिलाई जुम मार्फत कुराकानी गरी घरमै बसी बसी कामै नगरी पैसा आउने भन्दै ठगेका थिए। उनीहरूले पीडितलाई १ लाख २० हजार पठाउन लगाइ ठगी गरेका थिए।

प्रहरीका अनुसार ह्वाट्स एपमा तपाईँलाई चिट्टा परेको छ भन्दै ठगी गर्नेको सङ्ख्या बढिरहेको छ। गत वर्ष मात्रै तपाईँलाई ९० लाख चिट्टा परेको, सुनको सिक्री, २ लाख पाउन्ड भएको सुटकेस समेतको पार्सल पठाएको छु केही रकम पठाउनु भनेर एक पीडितलाई फसाए प्रताप राना सिंहले।

आइएमइ मार्फत २९ लाख ४० हजार रकम जम्मा गरेपछि ती सम्पर्कमा आएनन्। अनि ठगिएको खुल्यो। यसरी चिट्टा पर्यो भनेर म्यासेज पठाउँदै ठगी गर्ने गिरोह नै सक्रिय रहेको प्रहरीको भनाइ छ।

डिएसपी चुँडाल अपराधको प्रकृति अहिले बदलिइरहेको बताउँछिन्।'इपेमेन्ट एपको कर्मचारी बनेर 'तपाईँको एकाउन्ट रिन्यु गर्न पर्यो, ओटिपि कोड र नागरिकता पठाउनु भनेर डकुमेन्ट लिएर अकाउन्ट मार्फत विभिन्न रकम अन्यको खातामा पठाइ ठगी गरेको उजुरी समेत आएका छन्।

‘अनलाइन मार्फत ठगी गर्न सहज भएको देखिन्छ,’ चुँडाल भन्छिन्, ‘सामाजिक सञ्जाल चलाउँदा ठुलो अफर कसैले दियो भन्दैमा लोभिनुहुँदैन।’

कस्तो छ प्रवृत्ति ?

उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसार, सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स एप, भाइवरमा चिट्टा परेको छ भनी भोइस कल गरेर  पीडितलाई फोटो, नागरिकता, फोन नम्बर र बैङ्क खाता पठाउन लगाई पीडितकै नामबाट चिट्टा परेको फोटो सहितको नक्कली डकुमेन्ट बनाएर पीडितलाई नै रकम पठाउन लगाइ ठगी गर्ने गरेको देखिन्छ अहिले।

फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाएर प्रेममा पारी, लोभ, प्रलोभन देखाई, महँगो मूल्यका सामानहरू (घडी, नेक्लेस, क्यामेरा, कपडा, डलर) को फोटो पठाएर सामान आएको भन्दै भन्सारको लागि रकम पठाउनु भनेर ठगी गर्नेहरू पनि छन्।

फेसबुक पेजमा महँगो मूल्यका सामानहरू क्यामेरा,आइफोन मोबाइलको होम डेलिभरीको सुविधा सहित आकर्षक विज्ञापन राखेर लोभ्याएर सामानको मूल्य भन्दा बढी रकम असुल गरी ठगी गर्ने प्रवृत्ति समेत बढेको देखिएको छ।

अनलाइनमा गुगल प्ले स्टोरमा फ्री एपबाट पब्जी, फ्री फाइटर, खेल्नको लागि युसि लगायत टप किनबेच गर्छु भनी ठगेको देखाएको छ। फेसबुक ह्याक गर्ने पीडितको फेसबुक फ्रेण्डसँग पीडित बनी रकम ठगी गरेको समेत देखिएको छ।

सामाजिक सञ्जालकै प्रयोग गरेर तपाईँको खातामा रकम जम्मा भयो-भएन चेक गर्नको लागि ओटिपि नम्बर पठाउनु भनेर ठगी गर्नेहरू पनि सक्रिय देखिएका छन्। यसरी खाताको ओटिपी नम्बर पाएपछि रकम अन्य ई सेवा, खल्ती, बैङ्क खातामा रकम ट्रान्सफर गरी ठगी गर्ने प्रवृत्ति देखिएको डिएसपी चुँडालले बताइन्।

पीडितकै नाममा नयाँ खाता खोल्न लगाइ सिम कार्ड समेत प्रयोग गरेर इ बैङ्किङ सेवा एक्टीभेट गरी ठग्नेहरू समेत छन्। वैदेशिक रोजगारीको लागि विज्ञापन गर्ने, सो विज्ञापन हेरी कुराकानी गरी फेक डकुमेन्ट पठाइ  पीडितको पासपोर्ट, फोटो लगायतका कागजात माग्ने, विभिन्न बैङ्क खातामा रकम जम्मा गर्न लगाउने पनि देखिएको छ।

सामाजिक सञ्जालमा सजिलै सम्पर्क गर्न सकिने र ठुलो रकमको लोभ देखाइ ठगी गर्नेहरू बढेको प्रहरीले जनाएको छ। ‘पछिल्लो समय बढेको घटना भनेकै साइबर क्राइम हो,’ डिएसपी चुँडाल भन्छिन्, ‘सामाजिक सञ्जालमा आएको म्यासेज तथा प्रलोभनका आधारमा झुक्किनुभएन।’

गत वर्ष मात्रै ६ सय ७१ जना पक्राउ

उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयमा मात्रै गत वर्ष अनलाइन ठगीमा ६ सय ७१ जनाले पीडितले उजुरी परेको थियो। बिगो रकम १२ करोड ३६ लाख ४२ हजार ३ सय ५० रुपैयाँ थियो। यो रकम चिट्टा परेको, सामान पार्सल ठगी, मोबाइल ल्यापटप, क्यामेरा, खरिद भएको, फेसबुक आइडी ह्याक, ओटिपि कोड मागी , सिम डुप्लीकेशन, अनलाइन विज्ञापन राखी ठगी भएका हुन्।

कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबै भन्दा धेरै चिट्टा परेको भनी ठगी गर्ने गरेको देखिन्छ। गत वर्ष अपराध महाशाखामा परेको उजुरीमा मात्रै १ करोड ९१ लाख ४१ हजार ४ सय ६५ रुपैयाँ ठगी भएको देखिन्छ। यो रकम १ सय १९ जनाको हो। त्यस्तै मोबाइल, ल्यापटप क्यामेरा खरिद भएको भनी १ करोड ५२ लाख ४५ हजार ६ सय२८ रुपैयाँ ठगी भएको देखिएको छ। यो १ ८४ जनालाई ठगी गरेको रकम हो।

‘सामाजिक सञ्जालबाट कसलाई के आवश्यक परेको छ हेर्ने र ठगी गर्ने पनि देखिएको छ,’डिएसपी चुँडालले भनिन्, ‘र्यान्डम्ली ठगेको देखिन्छ। यसमा पीडित सचेत हुनुको विकल्प देखिन्न।’

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४-०७५ देखि आव २०७८-०७९सम्ममा  ६ सय ४७ मुद्दा दर्ता भएको देखिन्छ।

२२ साउन, २०७९, १४:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।