बचतकर्ताको साढे पाँच अर्ब जोखिममा पारेर गौतम बहुउद्देश्यीय सहकारीका सञ्चालक फरार, सहकारी विभागमा बचतकर्ताको भिड

बचतकर्ताको साढे पाँच अर्ब जोखिममा पारेर गौतम बहुउद्देश्यीय सहकारीका सञ्चालक फरार, सहकारी विभागमा बचतकर्ताको भिड

काठमाडौँ : बानेश्वरमा कार्यालय रहेको सहकारी विभागको कार्यालयमा झन्डै २ सय हाराहारीमा गौतम बहुउद्देश्यीय सहकारीका बचतकर्ता छाता ओढेर लामबद्ध थिए। साउने झरीमा रुझ्दै त्यही लाइनमा भेटिइन् बानेश्वरकी राधा श्रेष्ठ। उनको परिवारका सदस्यहरूको मात्रै साढे चार करोड रुपैयाँ रहेछ गौतम सहकारीमा। त्यसका सञ्चालक भागेपछि उनी विभागमा आएकी हुन्।

‘हामीले २२ वर्ष अघिबाट पैसा जम्मा गर्न थालेका हौँ। त्यसपछि थप्दै गयौँ। हाम्रो परिवारकै ४-५ सदस्यको पैसा गरेर साढे ४ करोड रकम राखेका छौँ,’उनले भनिन्, ‘सहकारीको सञ्चालक भागेको थाहा पाएपछि अहिले उजुरी दिन आएको। विभागले सञ्चालक खोजेर हाम्रो रकम खोजी गरिदिए हुने हो।’

एक हप्ता अघिसम्म कुलेश्वरमा रहेको गौतम बहुउद्देश्यीय सहकारी संस्थामा कुनै समस्या देखिएको थिएन। सञ्चालक राम बहादुर गौतमले सबैको मन जितेर सहकारी चलाइरहेका थिए। बहुउद्देश्यीय सहकारी भएकाले गौतमले जलविद्युत परियोजनालाई चाहिने सामान समेत विक्री गर्ने गर्छन्।

उनको काभ्रेमा कृषि फार्म पनि छ। कुलेश्वरमा नै उनको ग्रोसरी मार्ट छ। त्यही देखाउँदै बचतकर्तालाई बचत गर्न उनले प्रेरित गरेको देखिन्छ। बचतकर्तापिच्छे १३ देखि १८ प्रतिशतसम्म ब्याज दिएर उनले निक्षेपकर्तालाई लोभ्याएका थिए।

उनी एक हप्ता अघिदेखि सम्पर्कमा आएनन्। जब केही बचतकर्ता उनलाई खोज्न सहकारीमा गए उनी एक सामान लिन रसुवा नाका गएको र सम्पर्क नभएको दाबी गरे कर्मचारीले। केहीले त प्रहरीमा जानकारी दिएको दाबी समेत गरे।

एकाएक एभरेस्ट बैङ्कले उनको मार्ट र पसलमा सिलबन्दी गरेपछि भने बचतकर्ता आत्तिए। कर्मचारीहरूले गौतम सम्पर्कमा नआएको सूचना टाँसे।

५ हजार बचतकर्ताको साढे ५ अर्ब बढी बचत

कुलेश्वर बस्ने विजय कुमार रञ्जित केही समय अघिसम्म ट्राभल एजेन्सीमा काम गर्थे। अवकाश जीवन बिताइरहेका उनको परिवारको १ करोड ५० लाख रुपैयाँ रहेछ सहकारीमा।

‘उसको पसल र फार्म हेर्दा रकम डुब्दैन जस्तो लाग्थ्यो,’ रञ्जितले भने, ‘एक हप्ता भयो सञ्चालक सम्पर्कमा नआएको। जिन्दगी भर कमाएको रकम के हुने चिन्ताले निद्रा परेको छैन।’

उनलाई सहकारीले १८ प्रतिशत ब्याज दिएको थियो। जग्गा रोक्का गरेर भए पनि आफूहरूको रकम उठाइदिन उनले विभाग समक्ष निवेदन दिएका छन्।

सहकारी विभागका प्रवक्ता उपरजिस्ट्रार टोलराज उपाध्यायका अनुसार विभागले हालसम्म सहकारीको विस्तृत विवरण ल्याएको छैन। प्रारम्भिक रिर्पोटमा ४ हजार ८ सय ८० बचतकर्ताको रकम रहेको जानकारी आएको उनले बताए।

‘अहिलेसम्म ४ हजार ८ सय ८० निक्षेपकर्ताको रकम भएको जानकारी आएको छ। केही बचतकर्ताले साढे ५ अर्ब रकम भएको बताएका छन्,’उनले भने, ‘विस्तृत विवरण ल्याउन बाँकी छ।’

गौतम सहकारीले बचतकर्ता पिच्छे फरक-फरक दरको ब्याजदरमा रकम जम्मा गरेको भने खुलेको छ। विजय रञ्जितलाई १८ प्रतिशत ब्याज दिएको सहकारीले कुलेश्वरकै रमेश थापालाई १४ प्रतिशत ब्याजदर दिएको देखिन्छ। उनले सहकारीमा ४ लाख ४० हजार जम्मा गरेका छन्।

त्यस्तै कुलेश्वरकै राजेश कुमार सिंहले सहकारीमा २० लाख जम्मा गरेका छन्। केही पैसाको १३ दशमलव ५ प्रतिशत र केही रकमको १५ प्रतिशत ब्याज लिएको देखिन्छन्। उता निर्मल गुरुङले ४० लाख जम्मा गर्दा १६ प्रतिशत ब्याज पाएको बताए। उनले २० वर्ष देखि यो सहकारीमा रकम जम्मा गर्दै आएका रहेछन्। 

‘सहकारीले ब्याज समय समयमा दियो। चाहिएको बेला पनि हामीलाई पैसा दिइएकै हो,’उनले भने, ‘यसरी फरार हुन्छन् भन्ने त सोचिएकै थिएन।’

सहकारी विभागका प्रवक्ता उपाध्यायका अनुसार गत शुक्रवारदेखि बचतकर्ताहरू निवेदन दिन विभाग आइरहेका छन्। शुक्रवार मात्रै  डेढ सय बचतकर्ताले निवेदन दिएका थिए। आइतबार भिडै लाग्यो निवेदन दिनेको।

विभागमा परेको निवेदन हेर्दा न्यूनतम १३ प्रतिशत देखि अधिकतम १८ प्रतिशत सम्म ब्याजदर दिएको देखिन्छ। बचतकर्ताका अनुसार नियमित ब्याज दिइरहेकाले सञ्चालकमाथि उनीहरूले कहिल्यै शङ्का गरेनन्। एक हप्ता अघिदेखि सञ्चालक सम्पर्कमा नरहेको भनेर प्रबन्ध निर्देशक रवीन विष्ट लगायतले गत बिहीबार सूचना टाँसेपछि मात्र बचतकर्ताले थाहा पाए।

सञ्चालक गौतमकी छोरीले यत्रो संस्था आफूले चलाउन नसक्ने बचतकर्ताहरूलाई बताएकी थिइन्। गौतमको श्रीमती सरकारी जागिरे हुन्। उकेराले प्रबन्ध निर्देशक विष्टलाई फोन गर्दा उनको फोन स्विच अफ थियो।

सहकारीका अन्य सदस्यहरू सम्पर्कमा आएका छैनन्। पदाधिकारी को-को छन् भन्ने पनि बचतकर्तालाई थाहा भएको देखिएन।

नियमन निकायको बेवास्ता

गत आर्थिक वर्षमा मात्रै विभागमा ६० वटा व्यक्तिगत र ३ सय वटा विभिन्न निकाय अख्तियार, राष्ट्रिय सतर्कता केन्द्रले विभागमा सहकारी ठगीका फाइलहरू पठाइरहेका छन्। तर विभागले सर्वसाधारण ठगीमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन सक्रिय पहल गरेको देखिन्न।

विभागको कमजोरीमा खेलेर पछिल्लो समय सहकारीका सञ्चालकहरू वैध मिटरब्याजी बनेका छन्। उनीहरूले धितो नै नराखी जति पनि रकम दिने तर ब्याच ४० प्रतिशतसम्म लिने गरेको घटना समेत सार्वजनिक भइरहेका छन्।

सहकारीमा रहेको बचतकर्ताको रकम प्रक्रिया नै पुरा नगरी जोखिमपूर्ण रूपमा घर जग्गामा लगानी गर्ने लगायतका गतिविधि गर्दा धेरै बचतकर्ताको रकम फसेको छ। तर सहकारीको नियमन गर्ने न स्थानीय निकाय न प्रदेश न सहकारी विभागले नै यसलाई गम्भीर रूपमा लिएका छन्।

विभागका प्रवक्ता उपाध्याय विभागको जिम्मेवारी पन्छाउँदै बचतकर्ता आफैँ सचेत हुनुपर्ने बताउँछन्। ‘हामीले अनुगमन नगरेका हैनौँ। सहकारी भनेको राज्यले डन्डा लाएर चलाउने पनि होइन,’उनले भने, ‘कसरी चल्दै छ, के हुँदै छ, सञ्चालक समितिले ख्याल गर्नुपर्ने हो। तर ख्याल गरेको देखिँदैन।’

उपाध्यायले सहकारीमा मकै पोल्ने, जुत्ता सिउने निम्न वर्गका परिवार देखि दुई नम्बरी काम गर्नेहरूको समेत पैसा थुप्रिएको बताए। उनले यसको नियन्त्रणका लागि राज्यले बलियो नीति बनाउनुपर्ने बताए।

गौतम सहकारीबारे सञ्चालकको खोजी गरी विभागमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको उनले जानकारी दिए।

सहकारी ठगीमा उकेराको नजर

१५ साउन, २०७९, २०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।