७९ करोड ठगी प्रकरण : गुडविल र ओम वटु गुडविल सहकारी डुबाउने मामा–भान्जाको ठगी जालो

७९ करोड ठगी प्रकरण : गुडविल र ओम वटु गुडविल सहकारी डुबाउने मामा–भान्जाको ठगी जालो

काठमाडौँ : ‘पहिलो वैदेशिक रोजगार व्यवसायी भन्यो कि सबै मानव तस्कर झैँ लाग्थ्यो। अहिले सहकारी भन्यो कि ठग जस्तै लाग्छ,’ महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले अलि रिसाउँदै भनिन्‘ मकै पोलेर बचाएको रकम समेत ठग्न छाडेनन्।’

बज्राचार्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा रहँदा मानव वेचविखनविरुद्ध अनुसन्धान गरेकी थिइन्। विवाहको बहानामा नेपाली चेलीलाई चीन लगेर बेच्नेदेखि राम्रो जागिरको प्रलोभनमा पारेर खाडीमा पूर्याएर बन्धक बनाएका नेपाली चेलीसम्मको अनुसन्धान गरिन्। त्यसैको नकारात्मक प्रभाव थियो पहिलो।

ललितपुर परिसरको प्रमुखका रूपमा पछिल्लो समय उनले गुडविल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले साना लगानीकर्ताको वचनमाथि गरेको अपराधको अनुसन्धान गरिन्। दोस्रो प्रतिक्रिया त्यसैको उपज थियो।

‘लोभ्याउँदै साना वचनकर्ताको रकम सङ्कलन गरेर मनलाग्दी खर्च गर्ने,’ उनको रिस अझै थामिएको थिएन‘त्यही साना बचतको दुरुपयोग गरेर आफू आलिसान जीवन बिताउने। बचतकर्तालाई बिचल्ली पार्ने।’

हुन पनि गुडविलको ठगी प्रकरणलाई सामान्य घटनाझैँ देखिए पनि यसको जालो र सञ्चालकहरूले गरेको बदमासी हेर्ने हो भने आङै सिरिङ बनाउने प्रकारको रहेछ। ठगिएका कति हुन् अझै एकिन छैन। प्रहरीमा उजुरी दिन आइपुगेका बचतकर्ता नै पाँच सय ५१ जना। खुलेको बिगो ७९ करोड ८९ लाख।

२०७७ चैत ५  गते केही बचतकर्ताहरू ललितपुरमा रहेको परिसरको कार्यालयमा आएर कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्थाबाट आफूहरू ठगिएको भन्दै प्रहरीमा निवेदन दिएका थिए।

त्यही निवेदन पच्छ्याउँदै अनुसन्धान गर्दा सहकारीको आवरणमा त्यसका अध्यक्ष दिवाकर श्रेष्ठ, उनको श्रीमती जेनी श्रेष्ठ, भान्जा रमण श्रेष्ठ अनि सञ्चालक समितिका सदस्य र कर्मचारीले बचतकर्ताको रकममा गरेको गम्भीर वित्तीय अपराधको जालो खुलेको थियो।

निवेदन आउने क्रम रोकिएन। बढ्दै गयो। सहकारीले ठगेको भन्दै ५ सय ५१ जनाले निवेदन दिए। निवेदन दिनेमा न्यूनतम पाँच हजार ठगिएको दाबीदेखि सात करोडसम्मको थियो। 

अनुसन्धानकोक्रममा देखिएको श्रेष्ठको बैङ्किङ कारोबार हेर्दा ठुलो रकम जम्मा गर्नेहरूले अझै प्रहरीकोमा नआएको आशङ्का छ अनुसन्धानकर्ताको। ‘सानो सानो रकम जम्मा गर्ने धेरैले उजुरी दिनुभएको छ,’एसएसपी बज्राचार्यले भनिन् ‘ठुलो रकम जम्मा गर्नेहरू अझै हाम्रो सम्पर्कमा आउनुभएको छैन।’

ललितपुर परिसरका प्रहरी अधिकारीले ठगीमा संलग्न देखिएका सञ्चालक समितिका सदस्य, केही कर्मचारीलाई पक्राउ गर्यो। भागेका गुडविलका सहकारी सञ्चालक समितिका अध्यक्ष दिवाकर श्रेष्ठलाई १६ दिनको कठिन मिहिनेत गरेर चैत २१ गते पक्राउ गरेको थियो। उनको श्रीमती अझै फरारै सूचीमा छिन्।

४९ जना प्रतिवादी बनेको यो ठगी प्रकरणको मिसिल मात्रै एक हजार पानाभन्दा बढी छ। उनीहरूलाई आएको निवेदन अनुसार ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ ठगी गरेको अभियोग लाग्यो। अदालतको आदेशमा श्रेष्ठ लगायतका केही पुर्पक्षका लागि थुनामा गएका छन्। केही अझै फरार छन्।

मामा–भान्जाको ठगी कनेक्सन

यता गुडविल सहकारीको अनुसन्धानकैक्रममा न्युरोडमा रहेको ओम वटु गुडविल बचत तथा ऋण सहकारी संस्था पनि अनुसन्धानको दायरामा तानियो। यो अनुसन्धानको दायरामा तानिनुको कारण थियो ठुलो मात्रामा दिवाकरले गुडविलको रकम पाकोलमा जम्मा गर्नु।

सहकारीका बचतकर्ताहरूले समेत महानगरीय प्रहरी वृत्त जनसेवामा उजुरी दिन थालेपछि त्यसका अध्यक्ष रमण श्रेष्ठ पक्राउ परे।  उनी दिवाकरकै भान्जा हुन्।

‘फागुनमा केही व्यक्तिले ओम वटु गुडविल गुडविल सहकारीले बचत गरेको रकम नदिएको गुनासो गर्नुभएका थियो,’ वृत्तका डिएसपी दिल बहादुर मल्लले उकेरासँग भने,‘गुडविलका सञ्चालक दिवाकर पक्राउ परेपछि जाहेरी आयो। त्यसपछि हामीले वैशाख ५ गते श्रेष्ठलाई पक्राउ गर्यौँ। उहाँ अहिले हिरासतमै हुनुहुन्छ।’

डिएसपी मल्लका अनुसार ओम वटु गुडविल सहकारी विरुद्ध १७ करोड ७० लाख ४६ हजार बराबर ठगी भएको जाहेरी परेको छ। व्यक्तिगत र संस्थागत गरी ६७ वटा जाहेरी परेका छन्। 

गुडविल सहकारीमा ठुलो रकम जम्मा गर्ने निक्षेपकर्ताले जाहेरी नदिए जस्तै यस सहकारीमा पनि ठुलो रकम जम्मा गर्नेहरूले रकम जाहेरी नदिएको डिएसपी मल्लको दाबी छ। 

‘यो सहकारीबाट ९६ करोड बराबरको कारोबार भएको देखिन्छ। सहकारीले लिनुपर्ने रकम २० करोड बराबर देखिन्छ। दिनुपर्ने पनि थुप्रै छ,’ मल्लले भने, ‘ठुला बचतकर्ताहरूले जाहेरी दिनुभएको छैन।’

उनलाई ठगी र सङ्गठित अपराधमा प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ। 

दुई सहकारीका ६२ जनाविरुद्ध उजुरी

यता ललितपुरमा गुडविल बचत तथा ऋण सहकारी संस्थाका निक्षेपकर्ताहरुले ४९ जना विरुद्ध जाहेरी दिएका छन्। उता ओम वटु गुडविल बचत तथा ऋण सहकारी संस्थाका निक्षेपकर्ताहरुले १३ जना विरुद्ध जाहेरी दिएका छन्।

गुडविलका सञ्चालक समितिका अध्यक्ष दिवाकर श्रेष्ठ, उपाध्यक्ष दीपेन्द्र कोइराला, कोषाध्यक्ष सपना श्रेष्ठ, सचिव विशाल केसी, सदस्यहरू गोविन्द महर्जन, मोतीमान महर्जन, डम्बर बहादुर श्रेष्ठ,विवेक खड्गी, किशन गणेश श्रेष्ठ, शैलेन्द्र खड्गी, रविन महर्जन, राजु महर्जन पक्राउ परे।

उनीहरू मध्ये पुर्पक्षको लागि थुनामा सपना खड्कालाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ भने दीपेन्द्र कोइराला र विशाल केसीलाई नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा राखिएको छ। अन्य लाई २०÷२५ लाख धरौटीमा रिहा भएका छन्।

 ओम वटु गुडविल सहकारीका अध्यक्ष रमण श्रेष्ठ। उपाध्यक्ष जेनी महर्जन फरार छिन्। उनी गुडविलका अध्यक्ष दिवाकर श्रेष्ठकी श्रीमती हुन्। 

प्रतिवादीहरू सञ्चालक समितिका पदाधिकारी देखि सदस्य, कर्मचारी र विना धितो ऋण झिक्ने ऋणीहरू छन्। त्यस्तै अर्का फरार प्रतिवादी सिताराम रावत हुन्। उनी गुडविल सहकारीका महाप्रबन्धक हुन्। उनी र दीपेन्द्र कोइरालाले कम्पनीको हिसाब किताब राख्थे। फरा रहेका रावतसँग सहकारीको २५ करोड रकम रहेको आशङ्का छ।

कर्मचारीलाई २ प्रतिशत कमिसन, बचतकर्तालाई ब्याजदर ३६ प्रतिशत  

ललितपुर गोदावरी नगरपालिका वडा नम्बर १४ स्थायी घर भएको दिवाकर श्रेष्ठको पुस्त्यौली पेस टेक्सटाइल हो। २०७३ अघि उनी कपडाकै व्यापारी थिए। २०६८ सालमा स्थापना भएको गुडविल सहकारीमा श्रेष्ठ  २०७३ सालमा अध्यक्ष भए। 

उनी अध्यक्ष भएपछि विभिन्न स्किम ल्याउन थाले। सुरुमा उनले बचतकर्ता बढाउने कर्मचारीलाई २ प्रतिशत कमिसन दिए। प्रहरी अनुसन्धानमा खुले अनुसार उनले ठुला बचतकर्ता ल्याउने कर्मचारीलाई गाडी, मोटरसाइकल र घर समेत बनाइदिएका थिए।

सामान्यतया सहकारीले बैङ्कले भन्दा बढी नै व्याज दिन्छन्। तर गुडविल र ओम वटु गुडविलले भने अस्वाभाविक ब्याजदर दिए ठुला बचतकर्तालाई। करोडौँ रकम जम्मा गर्नेलाई उनीहरूले २४ देखि ३६ प्रतिशतसम्म व्याज दिए। ऋण विना धितो। 

सहकारीको पैसा घरको कोठाभरि !

साना बचतकर्ता त थिए नै। उच्च ब्याजदरको लोभमा बचतकर्ताहरू सहकारीमा बढ्न थाले। दिवाकरको टेक्स्टायलको साखले पनि काम गरिरहेको थियो। प्रहरीमा दिवकारले दिएको बयान अनुसार सहकारीमा आएको बचत बढ्दै अर्बसम्म पुगेपछि उनले त्यो रकम घरको कोठामा लगेर राखेका थिए। 

सहकारीको रकम उनले बिस्तारै जग्गा र घरहरूमा लगानीकर्ता थाले। उनलाई कसको कति मूल्य भन्ने मतलबै थिएन। ३ करोड मोलिएको घरलाई चार करोड दिन्थे।

रकम किस्ताबन्दीमा तिर्दै उनले घर जग्गामा लगानी व्यक्तिगत लगानी बढाउँदै गए। सहकारीको पैसा चलाए पनि घरजग्गा भने आफ्नी श्रीमतीको नाममा किन्थे।

घर आफ्नो नाममा पास गराएर बैङ्कमा धितो राखेर ऋण निकाल्थे। अनि फेरि अर्को घरजग्गा किन्थे। १७ वटा बैङ्कमा खाता भएका दिवाकरलाई बैङ्कले पनि सहजै पत्याइदिन्थे। अनुसन्धानमा बरामद कागजपत्र अनुसार धितोको ७० प्रतिशतसम्म ऋण प्रवाह भएको देखिन्छ।

दिवाकरको ३२ ठाउँमा जग्गा, श्रीमतीको नाममा २७ ठाउँमा 

दिवाकरले सहकारीमा बचत भएको पैसा अनधिकृत रूपमा झिकेर आफ्नो नाममा अथाह सम्पत्ति जोड्न थाले। ललितपुरको थैवमा ५४ आनामा बङ्गला र भैसेपाटीमा २२ आनामा बङ्गला बनाए।

दुवै सहकारीबाट रकम झिकेर आफ्नो नाममा ३२ र श्रीमती जेनीको नाममा २७ ठाउँमा जग्गा किने। उनको सम्पत्ति मात्रै ८४ करोड बराबरको देखिन्छ। २ करोड भन्दा माथिको मूल्य पर्ने ३ वटा त कार किने। ११ वटा मोटरसाइकल किने सहकारीको नाममा।

दिवाकरको नाममा डामाडोल १ सय ३५ दशमलव २० वर्ग मिटर मा घर सहित जग्गा, ललितपुरको सैंवुमा २४ ठाउँमा १० रोपनी ६ आना ३३ पैसा ११ दाम, थैवमा दुई ठाउँमा १ सय ४९ .६६ वर्ग मिटर र ५ आना १ पैसा दुई दाम को जग्गा खुलेको छ।

ललितपुर महानगरपालिकाको वडा नम्बर १३ मा २ आना ३ पैसा, ललितपुरमै दुई आना ५ दाम ४ पैसा र चितवनमा दुई स्थानमा जग्गा देखिन्छ। उनको श्रीमती जेनीको नाममा २७ ठाउँमा जग्गा रहेको खुलेको छ। 

१७ बैङ्कमा खाता २ अर्ब भन्दा बढी कारोबार 

श्रेष्ठ सहकारीको अध्यक्ष भएको ५ वर्षमा २ अर्ब ७ करोड ४१ लाख रुपैंया विभिन्न बैङ्कबाट कारोबार गरेको देखिन्छ। तर १७ वटा बैङ्कमा रहेको उनको खातामा अहिले ४ लाख ५६ हजार २९ रुपैयाँ मात्रै छ । 

उनले प्राइम बैङ्कबाट ४ करोड ९१ लाख ५४ हजारको कारोबार गरेको देखिन्छ। एनसिसि बैंकबाट २ करोड, बंगलादेश बैङ्क ९ करोड ९२ लाख, लक्ष्मी बैङ्कबाट २० लाख, सिद्धार्थ बैङ्क ८ करोड ८१ लाख, प्रभु बैङ्क ६ करोड ७८ लाख कारोबार गरेको खुलेको छ।

यसै गरी प्रोग्रेसिभ फाइनान्स लिमिटेडबाट  ५० लाख, सेन्चुरी बैङ्कमा १ हजार, मेघा बैङ्कबाट १५ करोड ३८ लाख, एनएमबि बैङ्कबाट  ५९ लाख, सानीमा बैङ्कबाट ४ करोड  २० लाख, सिटिजन्स बैङ्कबाट १ करोड ५९ लाख, कुमारी बैङ्कबाट ३ करोड ६० लाख, सिन्धु विकास बैङ्कबाट ६ करोड ६९ लाखको कारोबार भएको देखिन्छ। स्ट्याण्डर चार्टड बैङ्कबाट १ करोड २७ लाख, एनआइसि एसिया बैङ्कबाट पनि उनले कारोबार गरेका थिए।

पुजारीलाई दिनकै ५ हजार 

सहकारीको अध्यक्ष भए लगत्तै दिवाकर, उनको श्रीमती र भान्जासँगै सञ्चालक समितिका केही पदाधिकारीको जीवनशैली नै बदलियो। ‘सहकारीको अध्यक्ष भएपछि दिन फिरेको’ भन्दै बयान दिएका दिवाकरको दैनिकी खर्चालु हुन थाल्यो। उनको बासै काठमाडौँमा महँगा होटलहरुमा हुन थाल्यो। उनको लन्च र डिनर पार्टनर उच्च वर्गसँग शुरुभयो।

घरजग्गा जोड्ने र होटलहरुमा पैसा उडाउने उनको जीवनशैली अति खर्चालु। घरमा दैनिक पूजा गर्न एक जना पुजारी राखेका थिए उनले। पुजारीले आफ्नो काम सकाएर टिका लगाएपछि उनले दैनिक खाम दिन्थे। जसमा हुन्थ्यो पाँच हजार। महिनामा १ लाख ५० हजार दक्षिणा मात्र। 

कोरोनाले खोल्यो पोल 

चार वर्षमा अथाह सम्पत्ति कमाएका दिवाकरको चकाचक ४ वर्ष चल्यो। २०७६  चैत देखि नेपालमा कोरोना कहर सुरु भएपछि भने उनको सङ्कट सुरु भयो। लकडाउनसँगै उनको व्यक्तिगत कारोबार डगमगाउन थाल्यो।

उनले एक करोडको दिनको ५ लाखका दरले मिटर व्याजमा ऋणहरू लिएका थिए। सहकारीमा बचत कम हुन थाल्यो। रकम घुमाइरहेका उनको स्रोत सुक्न थालेपछि संकटमा पर्न थाले। घरजग्गा कारोबार पनि रोकियो। 

बचतकर्ता भन्दा ऋणी धेरै भए। बिना धितो ऋण लैजानेहरूले तिरेनन्। त्यसपछि दिवाकरको आरालो यात्रा सुरु भयो। साना बचतकर्तालाई लकडाउनमा सामान्य रकम समेत भुक्तानी दिन सकेनन्।

अधिकांश घरजग्गा बैङ्कमा राखेर ऋण निकालेका थिए। बैङ्कबाट फोन आउन थाल्यो। करोडको दिनकै पाँच लाख व्याज दिने कबुल गरेका मिटर ब्याजीले पैसाको ताकेता गर्न थाले। त्यसपछि उनी भागी भागी हिँड्न थाले।

केही बचतकर्ताहरू कुमारीपाटीमा रहेको कार्यालयमा आएर लफडा गरेपछि उनले पोखराबाट भिडियो कन्फ्रेन्स गरेर पैसा तिर्ने भन्दै केही समय मागे। उच्च ब्याजदर पाइरहेका बचतकर्ताले पनि उनी विरुद्ध जाहेरीमा जाने मनस्थितिमा थिएनन्। उनीहरूले केही समय कुरे पनि। तर साना बचतकर्ताका लागि उजुरीको बाटो थिएन। दोस्रो चरणको कोरोना फैलिएपछि दिवाकर उठ्नै नसक्ने गरी ढले। उनी विरुद्ध प्रहरीमा उजुरी पर्यो। उनी भागे।

पच्छ्याएको १६ दिनमा बल्ल पक्राउ 

चैत ५ मा दिवाकर विरुद्ध जाहेरी परेपछि ललितपुर प्रहरीले उनको खोजी सुरु गरेको थियो। खोजी गर्दा उनी चितवनमा रहेको सूचना आएपछि ललितपुर परिसरको विशेष टोली खटियो उनलाई खोज्न। तर फेला परेनन्।

‘उनी चितवनमा देखिएपछि टोली पुग्यो। तर दिवाकर त्यहाँ देखिएनन्,’ बज्राचार्यले भनिन्, ‘ठाउँ परिवर्तन गरेको गर्र्यै। उनको लुक्ने शैली देखेर त हामी नै छक्क पर्यौ।’

उनी कहिले पर्सामा देखिन्थे त कहिले पथलैया। कहिले चितवन। घुमेको घुम्यै गर्ने उनी। पर्सामा बसेका उनी फोन गर्न हेटौडा आउने र पर्सा नै फर्कने। उनलाई खोज्दै हेटौडा पुगेको प्रहरी रित्तै। उनको खोजीमा खटिएका प्रहरी हैरान भए। उनी प्राय बेलुका मुभमेन्ट गर्थे। दिनभरि केही हलचल नदेखिने।

त्यसपछि प्रहरीले पनि उनलाई खोज्ने शैली बदल्यो। दिनभरि बस्ने, राती भएपछि खोज्ने। १६ दिनसम्म प्रहरीलाई छक्काएका दिवाकर भरतपुर महानगरपालिका वडा नम्बर १० मा पक्राउ परे।

सिआइडि हेरेर प्रहरीलाई छक्क्याए

उनको मुभमेन्ट कुनै सङ्गठित अपराधका नाइकेको भन्दा कम थिएन। प्रहरीलाई छक्क्याउन गर्नसम्म गरेका थिए उनले। त्यसैले उनी पक्राउ परे लगत्तै प्रहरीले त्यो छक्काउने कलाबारे उनलाई सोध्दा रहस्य खुल्यो भारतीय क्राइम सिरियल। 

उनले भारतीय क्राइम सिरियल सिआइडी हेरेर प्रहरीलाई धेरै पटक छक्क्याएका रहेछन्। दिनभरि बसेर सिरियल हेर्ने। राती त्यही शैली अपनाउने।

प्रहरीलाई छक्क्याउन उनले कति पटक भेष बदलेका रहेछन्। मकवानपुर आउनुपर्यो भने बजार आउनु अगाडि कतै जङ्गलमा गाडी राख्ने। सबै कपडा फुकालेर गाडिमा राखेर टाउकोमा गम्छा बाधेर स्थानीय भेषमा साइकलमा बजारमा आउने। त्यहाँ जे काम गर्नुपर्ने हो गर्ने अनि साइकलमै गाडिभएसम्म पुगेर कपडा बदलेर रात बिताउने स्थानमा पुग्ने।

यता उनको तस्बिर र हुलिया हेरेर खोजीमा खटिएको प्रहरीले ठम्याउनै नसक्ने। तर जति छक्क्याए पनि सिआइडि शैलीमै प्रहरीले पनि उनलाई पक्राउ गरिहाल्यो।

छाडा भए सहकारी

गुडविलको अनुसन्धानमा एसएसपी बज्राचार्यले सहकारीको नाममा भइरहेको ठुलो ठगीको जालो त देखिन् नै त्यसमा अर्को डरलाग्दो पाटो ठम्याइन् अनुगमन र निगरानीको कमी। बाहिरबाट हेर्दा साना लगानीकर्ताबाट सानो रकम उठाउने संस्था झैँ देखिए पनि केही सहकारीले सरकारी अनुगमनको अभावको फाइदा उठाएर कुन हदसम्म बचतकर्ताको रकमको सुरक्षामाथि खेलबाड गरिरहेका छन् भन्ने गतिलो उदाहरण त गुडविल र पाकोल सहकारी नै भइहाले।

'सहकारीमा राम्रा काम गर्नेहरू पनि नभएका हैनन् तर केहीले ठुलो बदमासी गरिरहेको त यी दुई सहकारीले नै देखायो,' एसएसपी बज्राचार्य भन्छिन्' यो घटनाको अनुसन्धान गर्दा सहकारीहरूको गतिविधि निगरानीमा राख्नै पर्ने देखियो। नत्र धेरै साना बचतकर्ताको बचत जोखिममा पर्ने देखे।'

सम्पत्ति तीनतिरबाट रोक्का

यता दिवाकरले गुडविल सहकारीबाट काम गरिरहेका थिए भने भान्जा र श्रीमती पाकोल सहकारीमा। अनुसन्धानमा गुडविलबाट पाकोल सहकारीमा ७० करोड गएको देखियो। तर अहिले पाकोलमा त्यो पैसा छैन। अर्बौँको कारोबार भएको देखिए पनि प्रहरीले गुडविल बचत तथा ऋण सहकारीमा  छापा मार्दा जम्मा ५० हजार मात्रै फेला पारेको थियो। 

तीन वटा गाडी, ११ वटा मोटरसाइकल बरामद भयो। सबैको खाता खोतल्दा केही लाख मात्र फेला परेको छ। बाँकी पैसा कता गयो पत्तो छैन। दिवाकरलाई सोध्दा ‘आफ्नो ठग्ने नियत नभएको तर कोरोनाले कारोबार बिगारेको दाबी गर्छन्। उता पाकोलका उनका भान्जासँग बुझ्दा आफू सहकारीमा नाम मात्रको अध्यक्ष भएको सबै काम मामा दिवाकरले नै गर्ने दाबी गरेका छन्। दिवाकरले पाकोललाई दिएको पैसाबारे भान्जालाई नै थाहा हुने भन्छन्। तर उता पाकोल सहकारीमा पनि पैसा छैन।

प्रहरीले अहिले दिवाकर, उनको श्रीमती लगायतको नाममा खुलेको अचल सम्पत्ति रोक्का गराएको छ। केही घर जग्गा बैङ्कले पनि रोक्का राखेको छ। रोक्का गराउनेमा चेक बाउन्स भएका चर्को दरमा ब्याज लिनेहरू पनि छन्। प्रहरीले मिटर ब्याजमा पैसा लगानी गर्नेहरूलाई पनि अनुसन्धानमा दायरामा ल्याएको छ। तै पनि अर्बौँको चलखेल गरेका दिवारको सबै कारोबार अझै खुल्न सकेको छैन।

‘सबै कोणबाट अनुसन्धान सकाएर मुद्दा अदालतमा पुगे पनि हामीले अन्य कोणबाट अनुसन्धान छाडेका छैनौँ,’एसएसपी बज्राचार्यले भनिन्‘ मिटर व्याजीहरुबारे समेत अनुसन्धान गरिरहेका छौँ। सम्पत्ति शुद्धीकरणको कोणबाट पनि हेर्नुपर्ने छ।’

यी दुवै सहकारीमा संलग्न दिवाकरकी श्रीमती जेनी फरार छिन्। त्यत्रो पैसा कहाँ गयो सायद उनी पक्राउ परिन् भने खुल्ला कि !

* समाचारमा ओम वटु गुडविल हुनुपर्नेमा पाकोल सहकारी भएकोमा सच्याइएको छ। पाकोल सहकारी समेत यही समूहको हो। सो समेत अनुसन्धानकै दायरामा रहेको छ।

३ असार, २०७८, १८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।