गुडविल–ओम वटु सहकारी ठगी प्रकरण : वचतकर्ताबाट उठाएको रकम नै गायब 

गुडविल–ओम वटु सहकारी ठगी प्रकरण : वचतकर्ताबाट उठाएको रकम नै गायब 

काठमाडौँ : गुडविल बचत तथा ऋण सहकारी संस्थामा भएको घोटाला र ७९ करोड ८९ लाखको हो। तर अनुसन्धानमा प्रहरीले पर्याप्त रकम फेला पार्न सकेको छैन। अनुसन्धानमा जग्गा र घरहरू फेला परेका छन्। तर ती सम्पत्ति सहकारीको रकमबाट भन्दा पनि बैङ्कमा राखेर निकालिएको ऋणबाट धेरै किनिएको देखिन्छ। 

अहिले यो घटनाको महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ। गुडविल सहकारीको एक तहको अनुसन्धान सकाएर मुद्दाको थुनछेक बहस समेत सकिइसकेको छ भने उता एकै सञ्चालक भएकाले काठमाडौँमा रहेको ओम वटु गुड विल सहकारीबारे वृत्त अनुसन्धानमै छ।

अनुसन्धान उनीहरूले सङ्कलन गरेको वचनकर्ताको पैसा कता गयो भन्नेमा केन्द्रित देखिन्छ। आखिर पैसा गयो कहाँ त ? अनुसन्धानमा संलग्न वृत्तका प्रहरी पैसा कतै बिदेसियो कि भन्ने शङ्का गर्छन्।

गुडविल बचत तथा ऋण सहकारी संस्था कुमारीपाटी ललितपुर र ओम टु गुडविल बचत तथा ऋण सहकारी संस्थाका सफ्टवेयरमा इन्ट्री भएको हिसाब समेत देखिएको छैन। फरार रहेका महाप्रबन्धक सिताराम रावतले त्यो सफ्टवेयर चलाउने गर्थे। उनी २५ करोड भन्दा बढी रकम लिएर फरार छन्। प्रहरीले फेला पार्न नै सकेको छैन। 

मामाले भने बमोजिम गरेको हुँ  : रमण

ललितपुरको कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ। अनि ओम टु गुडविलका सहकारीका अध्यक्ष हुन् रमण श्रेष्ठ । यी दुवै मामा भान्जा हुन्। रमणले प्रहरी बयानमा मामाले जे भने त्यही काम गरेको दाबी गरिरहेका छन्। 

महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी डिल बहादुर मल्लका अनुसार रमण पहिलेदेखि नै मामा दिवाकरको घरमा बस्दै आएका थिए। पटक– पटक लिएको बयानमा उनले मामाले जसरी कारोबार गर्ने भनेका हुन् त्यसै गरी कारोबार गरेको र आफ्नो ठग्ने मनसाय नभएको दाबी गरिरहेका छन्।

‘रमणले ठग्ने मनसाय नभएको, मामाले भनेको मानेको बताइरहेका छन्,’डिएसपी मल्लले भने ‘ओम वटुमा दिवाकरको बुबाको साखले ठुला–ठुला व्यवसायीले पत्याएको देखिन्छ।’

यता ललितपुर परिसरले गुडविल सहरकारीका ४९ जनालाई प्रतिवादी बनाएको छ। आएका निवेदनका आधारमा ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ ठगी भएको देखिएको छ।

ओम टु गुडविलमा जम्मा बिगो १७ करोड ७० लाख ४६ हजार ४ सय ९७ रहेको छ। ओम टु गुडविलमा १ सय ३ जनाबाट ६७ वटा जाहेरी परेको छ। निवेदन अनुसार १६ करोड ५६ लाख २ हजार २ सय १८ रुपैयाँ ठगीको देखिन्छ।  सहकारी विभागबाट समेत ३ जनाको निवेदन परेको छ। अझै पनि १ करोड १३ लाख ५३ हजार २ सय ७९ रुपैयाँको जाहेर आएको छैन।

रमणलाई अध्यक्ष नबनाउन भएको थियो किचलो

ओम टु गुडविल सहकारीमा अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा पहिले नै किचलो परेको प्रहरी अनुसन्धानमा खुलेको छ। डिएसपी मल्लका अनुसार सहकारीका सदस्यहरूमा रमणलाई अध्यक्ष नबनाउन दबाब परेको थियो। 

जेनी महर्जन (माइजू) ले समेत उनलाई अध्यक्ष नबनाउन भनेकी थिइन्। उनी त्यसको अध्यक्ष थिइन्। तर  जेनी दोस्रो कार्यकालमा अध्यक्ष भइनन्। रमण अध्यक्ष बने। 

त्यसपछि जेनीले पाकोल सहकारी बचत तथा ऋण सहकारी खोलेर त्यसको अध्यक्ष भइन्।

रमणले यता गुडविलले झैँ कर्मचारीलाई बचत गर्न ल्याएको रकमको २ प्रतिशतसम्म कमिसन दिने स्किम दिएर बचतकर्ता बढाउन लगाए। ठुला व्यापारी देखि साना खुद्रा व्यापारीसम्म बचतकर्ता भए। ऋणीहरूलाई विना धितो ऋण प्रवाह गरे। उच्च ब्याज दर(मिटर व्याजी)मा पैसा उपलब्ध गराए। 

यता ललितपुरले गरेको अनुसन्धान र जनसेवा वृत्तले गरेको अनुसन्धानमा इ दुवै सहकारीको काम गर्ने शैली उस्तै देखिन्छ। यी दुवैले उच्च ब्याजदर देखाएर बचतकर्तालाई लोभ्याउने, आफै पनि चर्को व्याजमा पैसा चलाउने दुवैको शैली थियो।

पक्राउ पर्नेमा रमण मात्रै

रमण अध्यक्ष भए पनि उनकी माइजू एवं सहकारीकी पूर्व अध्यक्ष जेनीकै हालीमुहाली देखिन्छ सहकारीमा। उनी पछिल्लो समय पाकोलमा सक्रिय रहे पनि पाकोलमा धेरै कारोबार भएको देखिँदैन। पाकोल सहकारीमा ६०÷६५ लाख मात्र कारोबार भएको देखिन्छ।

तर प्रहरीले अनुसन्धान गर्दा ओम वटु गुडविल सहकारीका अध्यक्ष रमणलाई मात्रै पक्राउ गरेको छ। उपाध्यक्ष टाइसन शेर्पा, बिना महर्जन, सचिव सागर खड्का, कोषाध्यक्ष दिनेश खत्री, सदस्यहरू लिलानाथ न्यौपाने, विक्रम परियार, उमेश थापा फरार छन्। ओम वटु गुडविलकै पूर्व अध्यक्ष जेनी, लक्ष्मी बहादुर नगरकोटी, सबि शाक्य धाख्वा पनि संलग्न देखिए पनि पक्राउ परेका छैनन्।

ठगीकै योजना रहेको प्रहरी निष्कर्ष

गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर र महाप्रबन्धक सिताराम रावतले सङ्गठित तबरले ठगी गर्ने योजना बनाएको प्रहरी अनुसन्धानमा देखिन्छ। यता ललितपुरको गुडविलको थुनछेकमा अधिकांश पुर्पपक्षका लागी थुनामा जानुले पनि यही देखाउँछ।

बचतकर्ताहरूलाई धेरै व्याज हुने, चाहिएको बेला सहजै ऋण लिन सकिने भनेर प्रलोभनमा पारेर बचत गराउने र आफ्नो स्वार्थमा सहकारीको रकम चलाउने गरेको देखिन्छ। 

‘सहकारीका अध्यक्षहरूले पूर्व योजना नै बनाएर ठगेको देखिन्छ,’ वृत्तका डिएसपी मल्लले भने, ‘खोजी गर्दा कागजातहरू पनि फेला परेका छैनन्। धेरै जसो डकुमेन्ट लुकाएकाले तीन वटै सहकारी खुल्नुको उद्देश्य ठग्ने नै रहेको बुझिन्छ।’

महाप्रबन्धक रावत लगायतका स्टाफले टेर्लस सफ्टवेयर चलाउँथे। त्यो सफ्टवेयर न्युरोडको सहकारी र कुमारीपाटी दुवैको सहकारीमा चलाइन्थ्यो। प्रहरीका अनुसार अनुसन्धानको लागि चाहिने थप विवरणहरू त्यही सफ्टवेयरमा रहेकाले अनुसन्धान कठिन भइरहेको छ। बचत रकम कहाँ छ नै खुल्न सकेको छैन। 

‘सफ्टवेयरमा इन्ट्री भएका कारोबार हामीलाई उपलब्ध भएन,’ डिएसपी मल्लले भने,‘कागजमा हिसाब मिलाएको देखिन्छ तर जाहेरीकर्ताका उजुरी अनुसार मिलाएको हिसाब भन्दा बढ्ता कारोबार भएको देखिन्छ। बाँकी हिसाब कहाँ गयो खोजीको विषय यही हो।’

यो पनि

- ७९ करोड ठगी प्रकरण : गुडविल र ओम वटु गुडविल सहकारी डुबाउने मामा–भान्जाको ठगी जालो

१७ असार, २०७८, १५:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।